फिल्म 'कर्मा' को शीर्ष भूमिकामा अभिनेता विपिन कार्की अनुबन्धित भएका छन्। निर्माण पक्षले शुक्रबार एक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति समेत घोषणा गरेको छ।
फिल्म नयाँ वर्षको अवसर पारेर आगामी चैत २९ गतेबाट प्रदर्शनमा आउनेछ।
सार्वजनिक पोस्टरमा विपिनलाई जिममा कसरत गरिरहेको देखाइएको छ।
'कर्मा' लाई सौरभ चौधरीले निर्देशन गर्दैछन। उनले यसअघि फिल्म 'अगस्त्यः च्याप्टर–१' निर्देशन गरेका थिए।
निर्देशक चौधरीको तेस्रो निर्देशन रहने यस फिल्मको कथा पनि उनले नै लेखेका हुन्। फिल्म एक्सन–ड्रामा जनरामा निर्माण हुने बताइएको छ। चौधरीका अनुसार यस फिल्ममा अभिनेता विपिनलाई एक्सन भूमिकामा देख्न पाइनेछ।
आर्टिस्टिक इन्टरटेन्मेन्टको प्रस्तुति रहने ‘कर्मा’ मा बसन्त लम्सालले लगानी गर्नेछन्। फिल्मको छायांकन मंसिर दोस्रो सातापछि सुरू हुने निर्माणपक्षले जानकारी दिएको छ।
अन्य कलाकारहरू अनुबन्ध जारी रहेको निर्देशक चौधरीले बताए।
