किम्फ विशेष
झमक्क रात परिसकेको थियो।
भद्रकालीमा रहेको सेना ब्यारेकले फिल्म प्रतिस्पर्धाका लागि आवेदन खुलाएको अन्तिम मितिमा बल्ल इँगि होपो कोइच सुनुवारसम्म यो खबर पुग्यो।
सुनाउने साथीले उनलाई भनेका थिए, 'भोलि अन्तिम दिन हो। आवेदन भर्ने भए भरी हाल!'
आवेदनमा फिल्म बनाउँदा सेनाले के–कस्तो योगदान गरे भन्ने देखाउनु पर्छ भनेर लेखिएको थियो। अन्तिम समयमा थाहा पाएको आवेदन छिटो भर्नु कि कथाबारे घोत्लिनु!
इँगिलाई दोधार थियो।
त्यही पनि उनले यो मौका गुमाउन चाहेनन्। जे जस्तो पर्ला भन्दै उनी कथा फुराउन बसे। घोत्लिएको तीन घन्टामा उनको कथाले पूर्णता पायो।
उनको त्यो कथा सेनाले छनोट मात्र गरेन, त्यसबाट बनेको फिल्म नेपाली सेनाले आयोजना गरेको 'लघु चलचित्र प्रतियोगिता–२०७८' मा उत्कृष्ट पनि भयो।
फिल्मको नाम हो, 'सेनाको चेली'।
यो फिल्म काठमाडौं अन्तर्राष्ट्रिय माउन्टेन फिल्म महोत्सव (किम्फ) मा शनिबार प्रदर्शन भएको छ।
फिल्मको कथा छनोट भएको १५ दिनमा इँगिले फिल्मको स्क्रिप्ट तयार पारेका हुन्। सेनालाई बुझाएपछि कथामा फेरबदल गर्न नपाइने नियम थियो। त्यसबाहेक फिल्म बनाउँदा अझ धेरै नियममा उनी बाँधिनु पर्यो।
'सेनाको लुगा, हिँडाइ, कपाल कटाइ, सबै कुरा मिल्यो कि मिलेन भनेर सेनालाई सोध्नुपर्थ्यो। उनीहरूले सही छ भनेपछि बल्ल फिल्ममा राख्न मिल्थ्यो,' उनले भने।
क्यामराको राम्रो व्यवस्था नहुँदा पनि फिल्म बनाउन गाह्रो भएको उनी बताउँछन्। आफू निर्देशक, त्यसमाथि क्यामरादेखि सबै सामानको व्यवस्था आफैंले गर्नुपर्ने भयो। अनि फेरि उनले बनाएको पहिलो फिल्म थियो यो।
यो फिल्ममा दिदीभाइको कथा छ। अन्तिम दिन दिदीभाइ वार्ता गर्नेबेला रूने दृश्य छ। त्यो दृश्यमा साँच्चिकैको आँशु निकाल्नु पर्थ्यो। बल्लतल्ल उनले भनेजस्तै भयो तर क्यामराले समस्या देखाउन थाल्यो।
'सबै तयार भइसकेको थियो तर क्यामरा झिपझिप हुन थाल्यो। त्यो रात अर्को क्यामरा मगाएर खिच्यौं,' उनले भने, 'हामीसँग समय छोटो भएकाले सबै काम छिटो सक्नु थियो।'
एक महिनामा इँगिको फिल्म तयार भयो। सेनाको पुरस्कारै पाएपछि उनको मेहनतले फल दिएझैं लाग्यो।
फिल्मले द्वन्द्वकालमा सेना र माओवादीबीच भएको आन्दोलनबारे कथा बुनेको इँगि बताउँछन्।
'आन्दोलनका कारण दिदीभाइबीच हुने दूरीलाई एक दयालु वार्तालापले नजिक ल्याउने कथा सेनाको चेलीले देखाउँछ,' उनले भने।
फिल्ममार्फत निर्देशकका रूपमा डेब्यू गरेका इँगि आफैं एक राम्रा कलाकार हुन्। उनले दर्जन बढी नाटकमा अभिनय गरेका छन्।
उनको नामलाई लिएर नाटकघरमा साथीहरूले कवितासमेत भन्छन्। केहीले गीत बनाएका छन्। सिन्धुली घर भएका इँगिको यो नाम किरात सुनुवार समुदायसँग जोडिएको छ। इँगिको अर्थ निराकर देवता हो। होपो भनेको राजा।
सानोमा भाडामा डेक ल्याएर रातभरी फिल्म हेर्ने र कहिले एक्लै हलमा फिल्म हेर्न जाने इँगिलाई कुनै दिन आफू पनि कलाकार बन्छु भन्ने कल्पनासम्म थिएन।
'एकपटक स्कुले साथी रामले आफ्नो दाइको नाटक देखाएको थियो। त्यसपछि मलाई फिल्मभन्दा नाटक मनपर्न थाल्यो,' उनले भने, 'पछि गुरूकुलमा दिनहुँ नाटक हेर्न पुग्थेँ। नाटक हेर्दाहेर्दा खै कुन कुराले छोयो, अनि कलाकार बन्न मन लाग्यो।'
गुरूकुलमा नाटक देखाउन बन्द भएपछि उनी मण्डला नाटकघरसँग नजिकिए। त्यहाँ नाटक सिकाउने अडिसन खुला भयो। त्यति बेला जागिर गर्न थालिसकेका उनले दुईपटक अडिसन दिन पाएनन्। तेस्रोपटकमा जसरी पनि नाटक सिक्छु भन्ने ठानेका उनले दुई महिनाअघि नै जागिर छाडेका थिए।
इन्द्रबहादुर राईद्वारा लिखित 'जार' नाटकमा इँगिले पहिलोपटक सुनुवार मुखिया बनेर भूमिका निर्वाह गरे। यसरी उनी कलाकार बने।
'अहिले धेरै दर्शकहरू मलाई मुखिया पात्रबाट नै चिन्छन्। जे होस् मेरो पहिलो नाटक अझै यादगार छ,' मुसुक्क हाँस्दै उनले भने।
उनी सधैं नाटकको पात्र मात्र भएनन्। कहिले नाटकमा लाइट मिलाउने, आवाज मिलाउने, सेट मिलाउने लगायत नाटकसँग जोडिएका सबै काम गरे। आठ वर्षदेखिको नाट्ययात्रामा उनले काठमाडौंदेखि पूर्व–पश्चिमसम्मको नाटकघरमा काम गरेका छन्।
इँगिले कदम थिएटरमा साथीसँग मिलेर 'चुपचाप चाराना, हल्ला गरे बाराना' नाटक निर्देशन गरेका छन्। उनको यो पहिलो नाटक निर्देशन हो। उनले ६ वटा नाटकमा सह–निर्देशक भएर काम गरेका छन्।
नाटकसँगै उनी फिल्मका पनि कलाकार हुन्। 'क्याफे', 'डमरूको डण्डीबियो', 'ग्वाँइदा' लगायत फिल्ममा उनले अभिनय गरेका छन्। 'देशलाई छुने पाइला' मा उनी प्रमुख पात्र थिए। त्यही फिल्मले सेनाको चेलीको कथा ल्याउन सहयोग पुर्याएको उनी बताउँछन्।
फिल्म र नाटक जे गरे पनि कलाका फरक विधा मात्र भएको उनको भनाइ छ।
'कलाको कुनै सीमा हुँदैन। आफ्नो कथा जहाँबाट, जसरी भन्न सजिलो लाग्छ त्यहीँबाट भन्नु पर्छ जस्तो लाग्छ,' उनले भने।
उनको डेब्यू फिल्म 'सेनाको चेली' मा उनीसँगै नाटक गरेका साथीहरू पात्र बनेका छन्। साथीहरूको सहयोग नै आफ्नो कामको बलियो जग मान्छन् उनी।
'सबै साथीहरूले हातमा हात मिलाएर काम गरेका छौं। उहाँहरूले मनले काम गर्नुभएकाले सबै राम्रो भयो,' उनले भने।
यो पहिलो डेब्यूले इँगिलाई फिल्म निर्देशनतर्फ हौसला दिएको त छ तर उनी नाटक र फिल्ममा कलाकार भएरै बढी लाग्न चाहन्छन्।
'निर्देशक बन्दा धेरै समय र तयारीका साथ काम गर्नु पर्छ। जिम्मेवारी पनि उत्तिकै हुन्छ। त्यही भएकाले मेरो धेरै समय कलाकार बन्नैमा जाला,' उनले भने।
किम्फ विशेषका यी स्टोरी पनि पढ्नुहोस्ः
किम्फलाई २२ वर्षको बनाएर बिदा हुन लागेका बसन्त
'हेर्ने कथा' खोज्दै जाँदा भेटिएको 'बाघको बंगारा'
धामीलाई 'बिरामी बचाउनुछ भने अस्पताल लैजाऊ' भन्न लगाउँदा झन्डै सुटिङ रोकियो
छोराको सम्झनामा २८ वर्षदेखि पुस्तकालय रूँगिरहेका बाबु