किम्फ विशेषः
बेमौसमी समयमा झमझम पानी परिरहेको थियो। 'हेर्ने कथा' को कथा खोजीमा कमल कुमारसहित तीन जना मुगुको यात्रामा निस्केका थिए। उनीहरूको समूहकी विद्या चापागाईंले भने स्वास्थ्य समस्याका कारण सिधै मुगुमा भेट्ने बाचा गरेकी थिइन्।
तर दिनदिनै पानी परिदियो। उनीहरू मुगु जान पाएनन्। बाटोमा पहिरो गएर कर्णाली राजमार्ग बन्द थियो। मुगुको भोटेगाउँमा कथा लिन गएको टोली पहिरोका कारण अलपत्र भयो। मुगुको काम बिट मार्नु एउटै मात्र विकल्प थियो।
कथाबिना रित्तो हात के फर्किनु! मन मानेन।
उनीहरू जाजरकोट हिँडे। कथा नभेटिए पनि घुम्न हुन्छ भनेर हिँडेका थिए। उनीहरूको यात्रा सफल सिद्ध भयो। जाजरकोटको बारेकोटमा घाइते चराचुरूंगीको उपचार गर्ने व्यक्ति भेटे। तिनै व्यक्तिको कथा बटुले।
कथा भेटिएका उनीहरू दंग थिए। थकाइ मार्दै चिया पसलमा गफ गर्न बसे। त्यो पसलमा अर्को कथा उनीहरूलाई पर्खिरहेको थियो।
यो टोलीले बनाएको फिल्म 'बाघको बंगारा' त्यहीँ भेटिएको कथा हो।
यही फिल्मबाट बिहीबार काठमाडौं अन्तर्राष्ट्रिय माउन्टेन फिल्म महोत्सव (किम्फ) सुरू हुँदैछ। यो फिल्म शनिबार पनि महोत्सवमा देखाइनेछ।
फिल्मको नाम 'बाघको बंगारा' भएकाले धेरैलाई यो बाघको कथा हो कि भन्ने लाग्ला।
होइन।
यो भीरमौरीको कथा हो।
कमलको टोलीलाई भीरमौरीको कथा टिप्ने चस्का चिया खाएर थकाइ मारिरहेका बेला लागेको थियो।
पसलमा उनीहरूको भेट भीरमौरीको मह काढेर फर्किएका मान्छेहरूसँग भयो।
'हामीले भीरमौरीबारे सुनेका थियौं तर यो भेगमा पाइन्छ भन्ने थाहा थिएन,' कमलले भने, 'हामीले उहाँहरूलाई भेटेपछि, उहाँहरूको कुरा सुनेपछि, हामीलाई पनि उहाँहरू हिँडेको बाटो र यात्रा हेर्ने इच्छा भयो।'
'हेर्ने कथा' टोलीले विभिन्न यात्राक्रममा संयोगले यसअघि पनि राम्रा कथा भेट्दै आएको थियो। यो अर्को संयोगले भेटिएको कथा भाँडाकुटी खेलेजस्तै रमाइलो होला भनेर उनीहरूले कल्पना गरेका थिए। कल्पना गरेभन्दा यात्रा धेरै कठिन थियो।
'यति धेरै दुःख पाइन्छ भन्ने थाहा पाएको भए त यात्रा सुरू गर्ने आँट नै आउँदैन थियो होला,' कमल भन्छन्, 'तर भीरमौरीको मह काढ्न सधैं ओहोरदोहोर गर्ने उहाँहरू त केही पनि होइन जसरी हिँड्नुभएको थियो।'
यात्राको कठिनाइ कस्तो थियो भन्ने वर्णन गर्न कमल हातको कान्छी औंला देखाउँछन्। कान्छी औंलाको एक छेउ अडेस लगाउने ठाउँ हुन्छ। अर्को ठाउँ खाली हुन्छ। भीरमौरीको मह काढ्ने ठाउँ पुग्न त्यति नै अप्ठ्यारो भएको उनी बताउँछन्।
'झाडी समात्दै हिँड्नु भनेर उहाँहरूले भन्नुभएको थियो। झाडी फुत्किए खस्ने र मर्ने सम्भावना थियो,' उनले भने, 'हामीले भीरमौरी मह काढ्दाको कथा मात्र देखाउन सक्थ्यौं। तर उहाँहरूको यात्राको कठिनाइ पनि हामीले देखाउन खोजेका छौं।'
अझै झाडीको बीचमा विषको बोट थियो जसलाई उनीहरूले समात्न मिल्दैन थियो। यस्तो बेला कमलसहित तीन जनाको हात मह काढ्ने मान्छेहरूले समाएर बाटो कटाइदिन्थे।
विद्याले कमलको कुरामा फिल्मबारे थप्दै भनिन्, 'उहाँहरूको खुट्टामा उभिएर हामीले हिँडेको यात्रालाई कथामा देखाउन खोजिएको छ।'
भीरमौरी र पुस्तौंदेखि मह काढ्दै आएकाहरूको कथा फिल्म जगतलाई नौलो होइन। यस्ता कथा धेरैपटक बनेका छन्। तर यो कथामा उनीहरूसँगै आफूले गर्नुपरेको संघर्षको कथा पनि देख्न पाइने कमल र विद्या बताउँछन्। मह काढ्न जति कठिन यात्रा पार गर्नु पर्छ, जीवनमा यस्ता यावत यात्रा पार गर्नुपर्ने कथाले देखाउन खोजेको छ।
अनि भीरमौरीको कथा भए नाम किन 'बाघको बंगारा'?
यसको उत्तर त फिल्म हेरेपछि थाहा पाउन सकिन्छ।
छोटकरीमा नामलाई अर्थ्याउँदै कमल भन्छन्, 'कठिन यात्रा गरी मह काढ्नु साँच्चिकै बाघको बंगारामा पुगेर आहारा ल्याउनुजस्तै थियो। हामीले नाम भीरको कथा राख्ने कि भन्ने सोचेका थियौं। तर फिल्मको एउटा घटनाले हामीलाई बाघको बंगारा नै अझै राम्रो होला भन्ने बनायो।'
'हेर्ने कथा' ले अहिलेसम्म ९६ वटा कथाहरू आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरिसक्यो। चार वर्षअघि किम्फमा 'मरिसकेको मान्छे' पछि यसमा प्रदर्शन हुन लागेको यो दोस्रो फिल्म हो।
उनीहरूले फिल्मका लागि खोज्ने कथाका पात्रहरूजस्तै उनीहरूको हेर्ने कथाको यात्रा पनि रोचक छ। पाँच वर्षअघि विद्या र कमल बिबिसीको 'साझा सवाल' मा काम गर्थे। बिबिसीमा हुनुअघि नै उनीहरू रेडियोमा काम गर्दा मिल्ने साथी भइसकेका थिए।
बिबिसीमा पारिश्रमिक राम्रै थियो उनीहरूको। तर दुवै एकनासको जागिरबाट दिक्क भएका थिए।
'नेताहरूलाई सधैं एउटै प्रश्न अनि उस्तै उत्तरहरू सुन्दासुन्दा दिक्क भइसकेका थियौं,' विद्याले भनिन्, 'हामीले नेताको होइन सामान्य मान्छेको कथा भन्नु पर्छ भन्ने कुराले बारम्बार घच्घचाइरहेको थियो।'
त्यही सोच लिएका कमल उनका सहयात्री भए। विद्याले बिबिसीमा काम गर्दा पाएको नाम त थियो नै, त्यहाँ सिकेको अनुभवले पनि उनीहरूलाई फरक काम गर्नु पर्छ भन्ने हिम्मत दिएको थियो। त्यसैले चिया गफमा एकदिन उनीहरूले बिबिसी छाड्ने निर्णय गरे।
सुरूमा उनीहरूसँग 'हेर्ने कथा' को स्पष्ट आकार थिएन। मान्छेको कथा भन्नु पर्छ भन्ने मात्र थियो। यो कथा भिडिओमा देखाउँदा नै शक्तिशाली हुन्छ भन्ने चाहिँ थियो। कसरी देखाउने भन्दा उनीहरूले युट्युबलाई रोजे। भिडिओमा पहिले काम गरिसकेको अनुभवले उनीहरूलाई कथा त्यसरी भन्न धेरै असजिलो भएन।
यसरी सन् २०१८ मार्च १ मा उनीहरूले 'स्कुलको कथा' बाट 'हेर्ने कथा' सुरू गरे। कपिलवस्तुको एक मदरसामा मुस्लिम समुदायका केटीहरूलाई मात्र पढाइने स्कुलको कथा त्यसमा देखाइएको छ।
'मरिसकेको मान्छे' को कथा खोज्न यात्रामा निस्किँदा उनीहरूले यो स्कुलको कथा पाएका थिए। धेरै कथाहरू उनीहरूले फरक कथा खोज्दा नै संयोगले भेटेका छन्।
'एउटा कथाले कहिले अर्को कथासम्म डोर्याउँछ। कथा सधैं भेटिन्छ भन्ने हुँदैन। कहिले भने यसै घुम्न निस्किँदा पनि भेटिन्छ,' विद्याले भनिन्।
कथा देखाउँदा कसरी संवेदनशील हुने र मान्छेलाई हानि नगरी कसरी देखाउने भन्नेमा उनीहरू सधैं सजग छन्। पात्रहरूले आफ्नो कथा भनिराख्दा बहकिएर भनिएका कुराले पछि प्रभाव पार्छ कि पार्दैन भन्नेमा उनीहरू ध्यान दिन्छन्। त्यसैले केही कथा खिचेर पनि सार्वजनिक गरेका छैनन्। त्यसरी पात्रमा संवेदनशील र आचारसंहिताप्रति सजग आफूहरूले लामो समयदेखि गरेको पत्रकारिताको अभ्यासले पनि सिकाएको उनीहरू बताउँछन्।
'हेर्ने कथा' मा आफूहरूले गरेका ९६ वटामध्ये धेरैजसो मधेस केन्द्रित कथा भएको विद्याले बताइन्। तर ती कथा मधेसी समुदायले कति हेरे त?
उनीहरूले यसबारे अध्ययन गर्दा कमैले हेरेको पाए।
त्यसको कारण नेपाली भाषा भन्ने भएपछि उनीहरूले केही अंकलाई भोजपुरी भाषामा ल्याउने अभ्यास गरिरहेका छन्। यसबाहेक लोकसंगीतको शृंखला गर्ने तयारी छ। साथैं छोटा फिल्मको भिडिओ प्रतियोगिता गर्ने सोचेका छन्।
'हेर्ने कथा' को शृंखला त निरन्तर छँदैछ!
किम्फ विशेषका यी स्टोरी पनि पढ्नुहोस्ः
किम्फलाई २२ वर्षको बनाएर बिदा हुन लागेका बसन्त
धामीलाई 'बिरामी बचाउनुछ भने अस्पताल लैजाऊ' भन्न लगाउँदा झन्डै सुटिङ रोकियो
छोराको सम्झनामा २८ वर्षदेखि पुस्तकालय रूँगिरहेका बाबु