साहित्यकार दुर्गाप्रसाद श्रेष्ठ अचेल सार्वजनिक समारोहहरूमा खासै देखिँदैनन्। घुँडाको हाड खिइने रोग लागेर हिँडडुलमा समस्या आएपछि उनी बोलाएका कार्यक्रमहरूबाट अक्सर पन्छिन्छन्।
तर दसैंअघि मदन पुरस्कार गुठीले आयोजना गरेको एउटा सार्वजनिक समारोहमा उनी उपस्थित भए।
मदन पुरस्कार र जगदम्बा-श्री पुरस्कार हस्तान्तरण गर्ने उक्त समारोहमा दुर्गाप्रसाद श्रेष्ठ स्वयं एक नायक थिए। ८४ वर्षका श्रेष्ठ यस वर्षका जगदम्बा-श्री पुरस्कार विजेता हुन्।
उनलाई नेपाली चलचित्रकाे प्रारम्भिक चरणमा आमा फिल्ममा महत्वपूर्ण याेगदान पुर्याएकाे र बनारसमा बसेर नेपाली साहित्यकाे सेवा गरेबापत उक्त पुरस्कार प्रदान गरिएको मदन पुरस्कार गुठीले जनाएको छ।
तर धेरैले उनलाई चिन्ने परिचय भनेको पहिलो नेपाली फिल्म 'आमा' का लेखक हो।
हामीले यसै सन्दर्भमा श्रेष्ठसँग पहिलो नेपाली फिल्मको लेखन अनुभवबारे कुराकानी गरेका छौं।
श्रेष्ठको लेखन यात्रा भारतको बनारसबाट सुरू भएको हो। उनका बुवा काशीबहादुर श्रेष्ठले १९९३ सालमा बनारसबाट नेपाली भाषाको साहित्यिक मासिक पत्रिका 'उदय' को सम्पादन तथा प्रकाशन सुरू गरेका थिए। साहित्यिक माहोलमा हुर्किएका उनले सानै उमेरदेखि कथाहरू लेख्न थाले।
बनारसमा स्नातकोत्तर पढ्दापढ्दै एउटा विवाह समारोहमा सहभागी हुन उनी नेपाल आएका थिए। त्यति बेला प्रचार विभाग (हाल सूचना विभाग) का निर्देशक नारायण बाँस्कोटा थिए। बाँस्कोटासँग उनको राम्रो चिनजान थियो। त्यही भेटमा बाँस्कोटाले उनलाई 'जागिर खान्छौ' भनेर सोधे।
'नेपालमै सरकारी जागिर खाने भनेपछि मलाई लोभ लाग्यो,' श्रेष्ठले सेतोपाटीसँगको कुराकानीमा भने, 'मैले उहाँको प्रस्ताव स्वीकार गरेँ।'
यसरी दुर्गाप्रसाद २०१८ सालमा प्रचार विभागका अधिकृत भए। पञ्चायती व्यवस्थाको प्रचारप्रसारमा लेख लेखेर गोरखापत्रमा छाप्नु उनको जिम्मेवारी थियो। तर पढेलेखेका मान्छे निकै कम भएको त्यो समय लेख-रचनाका माध्यमबाट पञ्चायती व्यवस्थाको प्रचार गर्नु सजिलो काम थिएन। यो उपाय सफल नभएपछि राजा महेन्द्रले पञ्चायतको प्रचार गर्न फिल्म बनाउने निर्णय लिए।
'जसरी भए पनि पञ्चायती व्यवस्थाबारे जनतालाई राम्राराम्रा कुरा बताउनु राजा महेन्द्रको उद्देश्य थियो। गोरखापत्रमा लेख छापेर त्यो उद्देश्य पूरा गर्न सम्भव नदेखेपछि राजा महेन्द्रले फिल्म बनाउनुपर्छ भनेर योजना बनाउनुभयो। यसका लागि उहाँले थुप्रै प्रवासी नेपालीहरूलाई भेटेर फिल्म निर्माणका विभिन्न पक्षबारे सरसल्लाह गर्नुभयो,' श्रेष्ठले सम्झे।
त्यही क्रममा भारत जाँदा हिरासिंह खत्रीलाई भेटेर राजा महेन्द्रले नेपाल आउने निम्ता दिएको र पहिलो नेपाली फिल्मको निर्देशकका रूपमा अनुबन्ध गरेको उनले बताए।
'पहिलो नेपाली फिल्म बनाउन सम्पादकदेखि क्यामरा पर्सन, मेकअप आर्टिस्टदेखि सबै किसिमका प्राविधिक भारतबाटै बोलाइएका थिए। अभिनयमा पनि सरकारी कर्मचारीहरूलाई नै खटाइयो,' उनले भने, 'पञ्चायतको प्रचार गर्नु मात्र राजाको उद्देश्य थिएन, जनतालाई मनोरञ्जन होस् भन्ने चाहना पनि थियो।'
त्यति बेला फिल्मको बजेट खासै धेरै थिएन। दुर्गाका अनुसार यो फिल्म ५ लाख रूपैयाँमा बनेको थियो। खर्च कम होस् भनेर सरकारी कर्मचारीलाई अभिनयमा लगाइएको थियो। भुवन चन्द, बसुन्धरा भुसाल, विमलादेवी, हरिप्रसाद रिमाल लगायत कलाकारहरू संस्कृति विभागमा कार्यरत थिए। अभिनेता शिवशंकर मानन्धर पनि रेडियो नेपालका कर्मचारी थिए।
त्यही क्रममा नेपाली साहित्यमा रूचि भएका दुर्गाप्रसादले फिल्मको स्क्रिप्ट लेख्ने जिम्मा पाए।
'अहिलेजस्तो फिल्म छायांकन गर्नुभन्दा अगाडि नै स्क्रिप्ट लेख्ने चलन थिएन। हामीसँग मोटामोटी कथा थियो। त्यसै आधारमा हिरासिहंले भोलि कुन दृश्य छायांकन गर्ने हो भन्नुहुन्थ्यो, म त्यहीअनुसार संवाद तयार पार्थेँ। निर्देशकले भनेअनुसार हामी दिनकै स्क्रिप्ट लेख्थ्यौं,' उनले भने।
निर्देशक हिरासिंहले फिल्म सह–निर्देशनको जिम्मा पनि दुर्गालाई दिएका थिए। फिल्ममा उनले अभिनय पनि गरेका छन्।
गीत रेकर्डिङ र फिल्म छायांकनका लागि भारत जानुपर्ने भयो। निर्देशक खत्री, गायक, कलाकारसहितको टोली कलकत्ता पुग्यो। उनीहरूको सहयोगका निम्ति सेनालाई खटाइएको थियो। त्यो बेला नेपालको गाडी भारत जान अनुमति थिएन। तर सेनाको गाडी भएको हुँदा उनीहरू सजिलै कलकत्ता छिरे।
कलकत्ताको न्यू थिएटरमा लक्ष्मण लोहनीको 'पञ्च हो, यो देश बनाइदेऊ' सँगै दुई रोमान्टिक गीत रेकर्ड गरियो। फिल्मको इन्डोर सुटिङ पनि उतै भयो। पञ्चायतको प्रचार गर्न फिल्ममा 'पञ्च हो, यो देश बनाइदेऊ' बोलको गीत राखिएको थियो।
फिल्मको कथा यसरी सुरू हुन्छ– एक जना लाहुरे (शिवशंकर मानन्धर) बिदामा नेपाल आउँछन्। रक्सौल स्टेसनमा लाहुरे र दुर्गाप्रसाद श्रेष्ठको भेट हुन्छ।
दुर्गा लाहुरेलाई भन्छन्, 'तिमी विदेश गएर किन दुःख गर्छौ, नेपालको सेवा गर्दा पनि हुन्छ नि?'
रक्सौलबाट नेपाल पुगेपछि गाउँको दृश्य सुरू हुन्छ। यसको सुटिङ नुवाकोटको ककनीमा गरिएको श्रेष्ठले बताए।
यो फिल्ममा भुवन चन्दले मुख्य अभिनेत्रीको भूमिका गरेकी थिइन् भने उनको साथीको भूमिकामा बसुन्धारा भुसाल थिइन्। बसुन्धरा कुनै कुरामा चित्त बुझेन भने 'ए रात्तै' भन्थिन्। यो थेगोले सर्वाधिक चर्चा पाएको थियो। फिल्म प्रदर्शनपछि लामो समय दर्शकहरूले बसुन्धरालाई बाटोमा देख्यो कि 'ए रात्तै' भनेर जिस्काउने गरेको दुर्गा सम्झन्छन्।
फिल्म सुटिङ गर्दाको एउटा रमाइलो किस्सा सम्झिँदै उनले भने, 'भुवन चन्दले जमिनदारलाई स्वास्नी कुट्न लाज लाग्दैन भन्ने दृश्य थियो। उनले १८ पटकसम्म पनि स्वास्नीहरू कुट्न लाज लाग्दैन भनिन्।'
फिल्मको छायांकन अवधिभर कसैलाई बाहिर निस्कन अनुमति थिएन। एकदिन दुर्गाले भुवन, शिवशंकर र बसुन्धरालाई लिएर फिल्म हेर्न गए। फिल्म हेरेर आएपछि हिरासिंहले दुर्गालाई गाली गरे।
'फिल्म देखाएर बानी नबिगार्नू भन्ने उहाँको भनाइ थियो,' उनले भने।
ककनीमा १५ दिन र कलकत्तामा एक महिना फिल्म छायांकन भयो। छायांकन सकिएपछि कलाकारहरू नेपाल फर्किए। दुर्गाप्रसाद लगायत केही प्राविधिक भने काम गर्न भारतमै बसे।
फिल्म तयार भएपछि भारतमा प्रिमियर गरियो। कलाकारसहितको टोलीले पहिलोपटक फिल्म उतै हेरेका थिए।
त्यति बेला भारतबाट फिल्म ल्याउन गाह्रो थियो। कूटनीतिक च्यानलमार्फत् दरबारमा फिल्म पठाइयो। त्यसपछि जय नेपाल हलमा फिल्म प्रिमियर गरियो। उक्त प्रिमियरमा राजा, राजपरिवार, मन्त्री, कलाकारहरू सहभागी भएका थिए।
फिल्म हेरेपछि राजा महेन्द्रले खुसी हुँदै 'आमा' मा काम गर्ने सबैलाई दुई–दुई हजार रूपैयाँ पुरस्कार दिए।
'मुख्य कलाकारलाई धेरै र अरूलाई थोरै भन्ने भएन। फिल्ममा आबद्ध सबैले बराबर पुरस्कार पाए। तर त्यो पारिश्रमिक भनेर दिएको होइन,' उनले भने, 'अहिले दुई हजार भनेको केही होइन जस्तो लाग्छ। तर त्यो दुई सय रूपैयाँमा एक तोला सुन आउने बेला थियो।'
नेपालको पहिलो फिल्म 'आमा' २०२१ साल असोजमा प्रदर्शन भयो। त्यो बेला काठमाडौंमा रञ्जना, जय नेपाल लगायत सीमित हल थिए। काठमाडौंबाहिर विराटनगर, वीरगन्ज लगायत केही सहरमा मात्र हल थियो जहाँ हिन्दी फिल्म प्रदर्शन हुन्थ्यो।
'नेपाली फिल्म प्रदर्शन भएपछि लामो समय दर्शकको भिड भएको थियो। आफ्नै देशको दृश्य, भाषा र संस्कृति हेर्न पाउँदा दर्शक खुसी भएका थिए,' उनले भने।
'आमा' फिल्ममा काम गरेबापत राजा वीरेन्द्रले पनि आफूलाई ताराको मूर्ति दिँदै सम्मान गरेको उनी सम्झन्छन्।
दुर्गाले 'आमा' बाहेक अन्य फिल्मको स्क्रिप्ट लेखेका छैनन्। तर उनले 'हिजो आज भोलि' फिल्ममा अभिनय गरेका छन्।
'त्यति बेला फिल्म कम बन्थ्यो। त्यसैले बुवा बिरामी भएपछि म प्रचार विभागको जागिर छाडेर बनारसतिरै लागेँ र बुवाको पत्रिका उदयलाई निरन्तरता दिएँ। फिल्मप्रति खासै झुकाव भएन,' उनले भने।
फिल्ममा झुकाव नभए पनि उनको साहित्यिक कर्म भने जारी छ।
उनी साताको एक-दुईचोटि बागबजारस्थित रत्न पुस्तक भण्डार पुग्छन्। त्यहाँ आउने लेखहरूको शुद्धाशुद्धी हेर्नुका साथै बेलामौका आफ्नो लेख पनि कोरिहाल्छन्।
'अहिले म एउटा कथा संग्रह लेख्दै छु,' उनले भने।
सबै तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी