गीतको कथा
सर्जकहरू नयाँ गीतको धून बनाउन खास क्षण पर्खन्छन्। त्यस्तो क्षण बल गर्दैमा नजिक आउँदैन, प्रतीक्षा गर्नु पर्छ। त्यो पर्खाइ कहिले छोटो, कहिले निकै लामो भइदिन्छ।
संगीतकार तथा गीतकार दीपक शर्मालाई विगत १५ वर्षमा धेरैपटक त्यस्तो पर्खाइले थकाएको छ। हजारभन्दा बढी गीतमा संगीत दिएका उनले नयाँ सिर्जना फुराउन होटल फेरीफेरी चिया पिएका छन्। स्टुडिओको सोफामा सुत्दै उठेका छन्। उठेर फेरि सुतेका छन्। आफैंले ग्रीन-टी बनाएर कयौं कप रित्याएका छन्।
छक्का पञ्जाको 'देख न चम्पा', छक्का पञ्जा-३ को 'पहिलो नम्बरमा', सुन्तली हवल्दारको 'तिम्रा डोला डोला हातमा', किस्मत-२ को 'तिम्रो पिक्चर हिट' उनका चलेका फिल्मी गीत हुन्।
लोक–आधुनिकतिर 'पिरिम नलाउने', 'आँधी खोला उर्लिएर', 'जिन्दगीकै सवाल हुन्छ', 'मलाई आफ्नो बनाएर' जस्ता गीत चर्चित छन्। पूर्वदेखि पश्चिम र देश-विदेशका स्रोताले मनपराएको उनको गीत भने 'पर्ख पर्ख मायालु' हो।
अनामनगरस्थित दीपकको स्टुडिओमा हामीले यही गीतका बारेमा कुरा गरेका छौं। तीता-मीठा सम्झना गाँसिएको यो उनको करिअरकै महत्वपूर्ण गीत हो।
'धेरैले मलाई पर्ख पर्ख मायालुको संगीतकार भनेर चिन्नुहुन्छ। त्यसैले यो गीत मेरा लागि विशेष छ,' दीपकले भने, 'तर यो गीतसँग केही अप्ठ्यारा र तीता कुरा पनि जोडिएका छन्।'
यो गीत उनले सुरूमा एक जना ठूला व्यापारी मित्रलाई बेच्न बनाएका रहेछन्। दीपकले सामाजिक सञ्जालमा चिनेका ती व्यापारी सौखका लागि गाउँथे। उनले निकै कर गरेर गीत मागेछन्।
दीपकले भने, 'उहाँको विशेष आग्रह गरेपछि मैले एउटा शर्त राखे। मागेजति पैसा दिनुपर्छ।'
उनको कुरा स्विकार्दै व्यापारीले पनि शर्त राखे, 'गीत हिट हुनुपर्छ।'
दीपकसँग गीत हिट बनाउने सूत्र थिएन, आफ्ना केही गीत हिट भएको अनुभव भने थियो। त्यसैले दिने गीतको शब्द र संगीत दुवै सरल हुनुपर्नेमा प्रष्ट थिए। सजिलै टिप्न सक्ने नभए सौखका लागि गाउन चाहेका व्यापारी मित्रलाई पनि गाउन मुश्किल हुन्थ्यो।
सरल बनाउनकै लागि हार्मोनियमको साटो युकिलिलीसँग खेल्दै गर्दा दीपकलाई गीत फुरेको रहेछ–
पर्ख पर्ख मायालु म पनि आउँला
रेलको झ्याल समाएर सँगै भागौंला
त्यतिबेला दीपकको स्टुडिओ पुतलीसडकमा थियो। गीत बनेको भोलिपल्ट गायिका विन्दु परियार स्टुडिओमा आइपुगेकी थिइन्। दीपकले विन्दुका साथमा आफैं गाएर गीतको डमी भर्सन तयार पारे।
'मेरो काम कस्तो लाग्ने होला भन्ने डर मान्दै ती व्यापारी मित्रलाई पठाएँ। उहाँ आफूले सोचेजस्तै भएको भनेर निकै खुसी हुनुभयो,' दीपकले सुनाए।
यति भएपछि गीत रेकर्डको प्रक्रियामा जानुपर्ने हो। गएन।
यो गीतको बाटो आफैं मोडिएर सिनेमासम्म पुग्यो।
दीपक त्यही बेला 'मंगलम्' फिल्मको संगीत बनाइरहेका थिए। त्यसअघि फिल्ममा एक-दुइटा गीत मात्र पाउँथे। मंगलम्बाट भने उनलाई पहिलोपटक सबै गीत बनाउने अवसर मिलेको थियो।
'त्यो मेरा लागि ठूलो अवसर थियो। धेरै मेहनत गरेर गीतहरू बनाएँ,' दीपकले भने, 'तर निर्देशक र निर्मातालाई गीत सुनाउने बेला त्यो मेहनतको असर देखिएन।'
दीपकले आफ्नै स्टुडियोमा निर्माता र निर्देशकलाई डमी गीत सुनाए। निर्देशक नवल नेपाललाई राम्रै लागे पनि निर्माता छविराज ओझालाई ठिकै मात्र लागेछ।
छविले सोधे, 'योबाहेक अरू केही छ?'
दीपक त्यस्तो प्रश्नका लागि तयार थिएनन्। अत्तालिँदै आफ्नो कम्प्युटर फोल्डरमा भएका गीत खोतल्न थाले।
'मेरो दिमागले काम गर्न छोड्यो। केही त सुनाउनै पर्यो भनेर खोज्दाखोज्दै अन्जानमै पर्ख पर्ख मायालु बजाउन पुगेछु,' उनले भने।
गीतको स्थायी सकिनेबित्तिकै छविले रोके। दीपकको मन चसक्क भयो।
'ल यो गीत ठीक छ,' छवि बोले।
दीपकको मन एकछिनका लागि सम्हालियो।
तर त्यो गीत त उनले व्यापारी मित्रलाई बेचिसकेका थिए। दीपक छविलाई यो गीत अरू कसैका लागि बनाएको भन्न चाहन्थे, सकेनन्।
अर्को दिन बल्ल छविको कार्यालयमै गएर भने। छविले ठाडै भने, 'मलाई यही गीत चाहिन्छ।'
धर्म संकटमा परेका दीपकसँग यस्तै अर्को गीत बनाएर दिन्छु भन्ने सोच आए पनि समय थिएन।
ती व्यापारी मित्रलाई अर्को गीत दिने भनेर मनाउनुको विकल्प देखेनन्। उता व्यापारी त्यही गीतका लागि अडिओ-भिडिओमा लगानी गरिदिने शुभचिन्तक भेट्टाएको भन्दै उत्साहित थिए। सजिलै के मान्थे!
'परिबन्ध बुझिदिनू भनेर धेरै आग्रह गरेँ। लामो समयपछि बल्ल उहाँलाई पैसा फिर्ता गर्ने र अर्को यस्तै गीत दिने सर्तमा कुरा मिल्यो,' दीपकले भने।
अब बल्ल गीत मंगलम्मा समावेश हुने बाटो खुल्यो। तर फिल्ममा समावेश हुनु मात्रले गीत राम्रो बन्ने होइन। निर्माताले नै मन पराएको गीत राम्रो बनाउन उनी संगीत संयोजक राजन ईशानकहाँ पुगे। पारिश्रमिकमा कुरा नमिलेपछि गीत नरेन्द्र वियोगीको हातमा पुग्यो।
त्योबेला 'सुर्के थैली', 'कुटुमा कुटु' जस्ता गीतको चर्चाका कारण 'डान्सिङ नम्बर' को बाढी नै थियो।
दीपकका अनुसार यो गीतमा उनी चलिरहेको ट्रेन्डभन्दा फरक काम गर्न चाहन्थे। झ्याम्म नाचौं नाचौं लाग्ने खालका गीत बनिरहेका बेला पर्ख पर्खको ताल धिमा थियो। मंगलम् समूहभित्रकै कति जना यो गीत चल्ने कुरामा शंकालु बने।
निर्देशक नवल भने आशावादी थिए। उनी भनिरहन्थे रे, 'दीपकजी नआत्तिनुस्, यो गीतले उर्लापात ल्याउँछ।'
निर्देशकले भनिसकेपछि दीपक आशावादी हुने नै भए। तर मंगलम् सार्वजनिक हुने मिति नजिक आइसक्दा पनि गीत सार्वजनिक भइरहेको थिएन। २०७४ साल, असोज ११ मा फिल्म सार्वजनिक हुने भनिएको थियो। दुई हप्ताअघि गीत पनि सार्वजनिक भयो। चर चालचुल देखिएन।
दीपकले सम्झिए, 'सम्भावना बोकेको एउटा गीत मर्यो भनेर मैले हात उठाएँ।'
फिल्म सार्वजनिक हुने मिति सर्यो। गीत चल्ने संकेत देखिएन। धेरै समय बितिसकेको थियो। दीपक अब अर्को कामको धूनमा लागिसकेका थिए।
'त्यसपछि म पोखरा गएँ। त्यहाँ बेगनास ताल नजिकैको पिकनिकमा मान्छेहरू पर्ख पर्ख मायालुमा नाचेको देखेँ। दोहोर्याइ-दोहोर्याइ आफ्ना गीतमा मान्छे रमाएर नाचेको दृश्यले गीत नचले पनि के भयो, कसैलाई त मन परेछ भनेर चित्त बुझाएँ,' उनले भने।
पोखरा आउनु-जानुबीच एक हप्ताको अन्तर पनि थिएन। तर दीपक काठमाडौं फर्किँदा माहोल अर्कै बनिसकेको थियो। जसलाई भेट्यो उसैले भनिरहेका थिए, 'बधाइ छ दीपक।'
कोही मैले तिम्रो गीत यहाँ सुनेँ भन्थे। कसैले त्यहाँ सुनेँ भन्थे। फोन, सामाजिक सञ्जालमा बधाइको ओइरो उत्तिकै।
निर्देशक नवलले भने झैं उर्लापात भइछाड्यो। फिल्म सार्वजनिक हुनुअघि नै गीतले करोड भ्युज नाघ्यो।
संगीतबार बन्नकै लागि म्याग्दीबाट काठमाडौं आएको बताउने दीपक २०६३ सालमा ढल्के पीपल दोहोरी एल्बमबाट औपचारिक रूपमा संगीतकार बनेका हुन्। त्यसबेला उनी २१ वर्षका मात्र थिए।
अन्जु पन्तले स्वर दिएको 'मलाई आफ्नो बनाएर दुःखी बन्छौ भने' गीतदेखि दीपकलाई धेरैले चिने। उनको संगीतमा प्रमोद खरेलले गाएको 'छुटिएर तिमीसँग' फोनका रिङब्याक टोन बने।
'सम्झी राख' फिल्मको 'आँधी खोला उर्लिएर' गीतबाट अवार्ड नै पाए। त्यसपछि पनि थुप्रै गीत चले।
दीपकका अनुसार कुनै गीत स्रोताका नजरमा राम्रा हुन्छन्, कुनैले आफ्नो कार्यक्षेत्रकै नजरमा राम्रो बनिदिन्छ।
'पर्ख पर्ख मायालु फिल्म, संगीत उद्योगभित्र र बाहिर पनि मन पराइएको गीत बन्यो,' दीपकले भने।
दीपकका अनुसार ढिलो हिट भएको यो गीत मुखमुखै प्रचार भएर चलेको हो। व्यापारी मित्रका लागि बनाउने बेलामै गीत हिट बनाउनुपर्ने शर्त छँदैथ्यो। गीतको लय र शब्द उनले सोहीअनुरूप रचेका थिए। सानै उमेरदेखि लोकसंगीत सुनेर हुर्केका उनको यो गीतमा पनि त्यो प्रभाव झल्कियो।
तर यो कुनै खास भाका प्रयोग भएको गीत होइन। केटा र केटीले कुराकानी गरेजस्तो शैलीमा बनाइएको गीत ढिलो चाँडो स्रोताको जिब्रोमा झुन्डिनु नै थियो।
फेरि रेलको चर्चा गरिएका धेरै गीत चलेका पनि छन्।
लोकबहादुर क्षत्रीको 'आमा रूँदै गाउँबेसी मेलैमा, छोरो रूँदै गोरखपुर रेलैमा', लालबहादुर खातीको 'अरू कालो रेलको धुँवाले', रामकृष्ण ढकालको 'पहाडको छुकछुके रेल', छक्का पञ्जा फिल्मको 'पूर्वपश्चिम रेल' र पछिल्लोमा सुरज पण्डितको 'रेलको बाटो' केही उदाहरण हुन्।
रेलप्रतिको नेपाली स्रोताको आकर्षण दीपकले बुझेका थिए।
दीपकले भने, 'तत्कालीन प्रधानमन्त्री केपी ओलीका कारण पनि देशभर रेलको चर्चा भइरहेको थियो। नेपालमा रेल नभएकाले पनि होला, रेलको प्रसंग आएका गीत स्रोताले मन पराउँदै आउनुभएको छ। मलाई पनि रेलको कुरा जोड्दा रमाइलो होला भन्ने लाग्यो।'
उनले सुरूमा यो गीतमा 'रेलको ढोका समाएर सँगै भागौंला' भनेर लेखेका रहेछन्। पछि उनलाई ढोका त धेरै जनाका लागि हो, झ्याल यात्रुको निजीजस्तै हुन्छ भन्ने लागेछ, 'त्यही सोचेर रेलको झ्याल समाएर सँगै भागौंला भन्ने बनाएँ।'
लय र शब्दबाहेक गीत चल्नुमा फिल्म ढिलो सार्वजनिक हुनुलाई पनि महत्वपूर्ण कारण मान्छन् दीपक। सिनेमाका गीतहरू अभिनेता, अभिनेत्री र कोरियोग्राफीका कारण पनि चल्छन्। कविराज गहतराजको कोरियोग्राफीमा पुष्प खड्का र शिल्पा पोखरेलको नृत्य पनि रूचाइयो।
युट्युबमा आएका प्रतिक्रिया हेर्दा पनि कसैलाई गीत त कसैलाई नृत्य मन परेको देखिन्छ। नेपालीबाहेक भारतका विभिन्न ठाउँका मानिसले पनि सकारात्मक प्रतिक्रिया दिएका छन्। गीत नबुझे पनि संगीत र नृत्य मन परेको भन्दै प्रशंसा गर्नेहरू देखिन्छन्।
गायकको आवाज त गीतको मेरूदण्ड भइहाल्यो। कृष्ण काफ्ले र विन्दु परियारको स्वर गीत चल्ने अर्को कारण बन्यो।
पाँच करोड ६५ लाख बढी भ्युज पाएको यो गीतले दीपकलाई सन्तोष र सफलता मात्र दिएको छैन। आज पनि यो गीतको अडिओभन्दा भिडिओ अर्कै बनाइएको उनलाई गुनासो छ।
'फिल्ममा गीत मैले सोचेको फ्रेमभित्र छैन। प्राविधिक कारणले थोरै तलमाथि गरिएको छ,' उनले भने।
अहिले यो गीत सनईबाट सुरू भएको सुनिन्छ, दीपक गितारको धून हुँदै सनईमा पुगेका थिए। उनका अनुसार गीतको अन्तमा पनि केटा र केटीले गाउने लाइन उनले लेखेभन्दा अघिपछि गरेर सकाइएको छ।
योभन्दा बढी पिरोल्ने त उनै व्यापारी मित्रको कुराले हो, जसका लागि यो गीत लेखिएको थियो।
दीपक भन्छन्, 'ती मित्रलाई अर्को गीत दिएँ, हिट पनि भयो। तर आज पनि म उहाँसँग पर्ख पर्ख गीतका कारण माफी मागिरहन्छु।'
गीतको कथा स्तम्भका अन्य स्टोरीहरूः
यसरी बनेको थियो हरिवंशको चर्चित गीत 'हाम्री आमा साह्रै नै बाठी छन्'
गायक बबिन प्रधानलाई हैरान पार्ने २८ वर्ष पुरानो चर्चित गीत
२९ वर्षदेखि 'सिमसिमे पानीमा' गीतसँग प्रतिस्पर्धा गर्दै गायिका रेखा शाह (भिडिओ)
गायक लोचन रिजालले त्रिपुरेश्वरको साँघुरो टहरामा जन्माएको यो गीत