सामाजिक सञ्जालका माध्यमहरू अलिकति निजी हुन्, अलिकति सार्वजनिक। फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युब लगायत डिजिटल स्पेसलाई कति निजी र कति सार्वजनिक बनाउने रोजाइ हाम्रै हो।
निजी कुरा पोख्न पाइने सामाजिक सञ्जालमा आलाकाँचा भावना अभिव्यक्त गर्न धेरै सोच्नु पर्दैन। यस्तै भावना पोख्दापोख्दै सामाजिक सञ्जालले कतिलाई परिपक्व समेत बनाइदिन्छ।
नपत्याए अस्मिता गौतम 'बरी' लाई सोध्नुस्।
२१ वर्षीया अस्मिताले डेढ वर्षअघि युट्युब च्यानल 'सिल्ली सङ्स एन्ड सटल पोयम्स' सुरू गरेकी थिइन्। निजी स्पेसका रूपमा खोलेको यो च्यानल आज उनको सार्वजनिक परिचयको माध्यम बनेको छ।
सिल्ली सङ्स एन्ड सटल पोयम्समा अस्मिता कथा, कविता, गीत र भ्लग आदि छोटा भिडिओ अपलोड गर्छिन्। उनको मीठो आवाज र आकर्षक प्रस्तुतिकै आधारमा अचेल उनलाई कविता प्रस्तुतिका लागि अनुरोधसमेत आउन थालेका छन्।
यसबारे कुरा गर्न सेतोपाटी आएकी अस्मिताले भनिन्, 'व्यक्तिगत स्पेसका रूपमा च्यानल सुरू गरेकी थिएँ। यसरी फराकिलो समूहमा बिस्तार होला भन्ने सोचेकै थिइनँ।'
अस्मिताको च्यानल सबस्क्राइब गर्नेको संख्या ३३ सय हाराहारी छ। भाइरल र स्पोन्सर्ड भिडिओको चर्चा हुने जमानामा यो संख्या सुन्दा थोरै नै लाग्ला। तर युट्युबर बन्छु भनेर कहिल्यै नसोचेकी अस्मिताका लागि यो कम होइन। उनले पाइरहेका सकारात्मक प्रतिक्रिया र सबस्क्राइबर्स बढ्ने गति हेर्दा यो संख्या आगामी दिनमा निरन्तर बढ्ने छ। हालै उनको च्यानल मनिटाइज पनि भएको छ।
अस्मिताका अनुसार यो च्यानल उनका साना दाइ अर्जुनले 'उक्साएर' खोलेकी हुन्। त्यसअघि उनी मनमा लागेका कुरा कहिलेकाहीँ सामाजिक सञ्जालमा राख्थिन्। आफ्नो डायरीमा खुसुक्क लेख्नुमा पनि आनन्द मान्थिन्। इन्स्टाग्राममा फोटोसँगै लामा क्याप्सन लेख्थिन्।
उनले लेखेका कुरा न कविता हुन्थे, न कथा। ती त उनका लागि छाल झैं मनमा आउने-जाने भावनाका लहर मात्र थिए। त्यो लहरले अरूलाई पनि भिजाउला, उनले सोचेकै थिइनन्। तर इन्स्टाग्राममा फलोअर्स बढ्न थाले। ती फलोअर्सले उनले लेखेका कुरा कसै न कसैलाई छुने रहेछ भन्ने अस्मितालाई महसुस गराए।
बिस्तारै चिनेका साथीसंगीबाहेक नचिनेकाले समेत उनलाई भन्न थाले, 'तिमी राम्रो लेख्छौ ब्रो!'
यस्तैबेला 'द हिमालयन टाइम्स' मा उनको कविता छापियो। उनी साथीहरूको नजरमा 'कवि' बनिन्। उनलाई पनि अरूले दिएको 'लेख्ने मान्छे' को चिनारी मनपर्यो। हाल शंकरदेव कलेजमा बिबिए चौथो वर्ष पढिरहेकी उनी त्यसबेला गोल्डेन गेटमा प्लस टुकी विद्यार्थी थिइन्।
'आफ्नै लागि लेख्छु भने पनि मेरो कविता साथीहरूले पढ्दा मान्यता पाएजस्तो भयो। ममा आफूले लेखेका कुरा अरूले पढिदिऊन् र मन पराऊन् भन्ने चाहना रहेछ,' उनले भनिन्।
बहिनीको गतिविधि नियालिरहेका उनका दाइले त्यही भएर एकदिन भने, 'ओइ अस्मी, अब युट्युब च्यानल खोल्।'
'आफूले लेखेका कुरा त सेयर गर्न लाज लाग्छ। कहाँ युट्युब च्यानल खोल्नू!,' त्यतिबेला उनले दाइलाई भनेकी थिइन्।
अहिले हाँस्दै भन्छिन्, 'आफ्नै युट्युब च्यानल चलाउन मज्जा आउने रहेछ।'
लेखेर पहिल्यै प्रशंसा पाएकी अस्मिता युट्युबर बनेपछि हरेक दिनजसो आफ्नो मीठो आवाजको प्रशंसा सुनिरहेकी हुन्छिन्। उनी भन्छिन्, 'युट्युब च्यानल नखोलेको भए, मलाई मेरो आवाज यति राम्रो छ भन्ने थाहै हुन्थेन।'
तिमी र म आकाशजस्तै भइसक्यौं
हेर्दा एकअर्कालाई देख्छौं तर
थाहा छैन कति टाढा
छ न त छ तर
थाहा छैन कहाँ...
अस्मिताको च्यानलको सुरूआत 'तिमी र म' शीर्षकको यही कविताबाट भएको हो। त्यसबेला उनी भिडिओ पोयट्री अपलोड गर्न भनेर कस्सिएकी थिइन्। तर जब मोबाइलको क्यामरासामु उभिइन्, खुट्टा र आवाज एकैपटक काम्न थाल्यो।
'क्यामराअगाडि उभिएर वाचन गर्न सजिलो रहेनछ। केही फुटेज र भ्वाइस ओभरबाट काम चलाएँ,' उनले भनिन्।
च्यानल सुरू गरेको केही सातामै पहिलो लकडाउन भयो। यो फुर्सदलाई उनले भिडिओ सम्पादन, ह्वाइटबोर्ड एनिमेसन र अन्य प्राविधिक कुरा सिक्ने अवसर बनाइन्। सुरूका दुई भिडिओमा अरूका फुटेज प्रयोग गरेकी अस्मिता तेस्रो भिडिओ आफैं एनिमेसन गर्न सक्ने भइन्।
भर्खर किशोरावस्था पार गरेकी अस्मिताको च्यानलमा भएका अडिओ-भिडिओमा उनको उमेर सुहाउँदो रूचि र प्राथमिकता झल्किन्छ। अधिकांश कविता, कथा र गीतमा माया, प्रेम र मित्रताका कुरा छन्। माया पलाउने वा माया चुँडिने बेलाका भावना छन्।
गत वर्षको भ्यालेन्टाइन्स डेमा उनले शृंखलाबद्ध रूपमा प्रेम कथा वाचन गरेर अपलोड गरेकी थिइन्। त्यसले भ्युज पनि अरूबेला भन्दा बढी पायो।
'मेरा साथीहरूबीच हुने कुराकानी धेरैजसो सम्बन्धकै वरिपरि हुने भएकाले होला, मैले लेख्दा पनि तिनै कुरा बढी आएको,' उनी भन्छिन्।
उनको च्यानल पछ्याउने स्रोता-दर्शक पनि उनकै उमेर समूहका छन्। अस्मिताको उमेरका सहरिया युवाका मनपर्ने गायक-गायिकामा एकै भए अचम्म हुँदैन। उनीहरूमध्ये धेरैले एउटै च्यानल हेर्नु र मन पराउनु संयोग होइन। उनको उमेरका युवा उस्तै गीत सुन्छन्, उही वेब सिरिज हेर्छन्। परिवार, साथीभाइ, समाज र आफ्नै जीवनबारे उनीहरूले सोच्ने कुरामा पनि धेरै समानता हुन्छ। यही समानता नै युवा पुस्तालाई अस्मिताको प्रस्तुति मनपर्ने मुख्य कारण बनेको छ।
अस्मिताको च्यानलको अडियन्स एनालिटिक्स अनुसार झन्डै नब्बे प्रतिशत सबस्क्राइबर्स २० देखि ३० वर्ष उमेर समूहका छन्। तीमध्ये धेरै १९ देखि २२ भित्रका। उनको च्यानल नेपाल, भारत र अस्ट्रेलियाबाट बढी हेरिने रहेछ।
अस्मिताको लेखन युवाबीचको आकर्षण र सम्बन्धमा मात्र केन्द्रित भने छैन। आफ्नै कोठामा हराएको मोजादेखि महिनावारीसम्मका कुरालाई उनले विषय बनाएकी छन्।
'साना पल ठूला खुसी' भन्दै उनी कहिले आमाछोरीको सम्बन्धबारे लेख्छिन् त कहिले आफ्नै मनसँग संवाद गर्दै पानीमा फूल्ने फूलको कुरा गर्छिन्।
मान्छे, प्रकृति र जनावरसँग रमाउने अस्मिता कलेज आउँदा जाँदा देखेका दृश्य, पात्र र घटनाबाट पनि प्रभावित हुन्छिन्। साथीहरूले सुनाउने माया र झगडाका कथामा आफ्नै भावना र भोगाइ पनि सुटुक्क मिसाउँछिन्।
त्यसैले त कतिले उनको च्यानल आफ्नो आमासँग बसेर सुनेको बताएका छन्। कतिले त यतिसम्म भनेका छन्, 'तिम्रो आवाज मेरो सुत्ने बेलाको साथी हो।'
अस्मिताको प्रस्तुतिको जादूले कतिलाई उनी आफ्नैअघि बसेर बोलिरहेको महशुस समेत गराइदिन्छ।
उनलाई सुरूमा चिनेको समूहबाट मात्र यस्तो प्रतिक्रिया आउँथ्यो। एक हजार सबस्क्राइबर्स हुँदासम्म यस्तै थियो। जब दुई हजार नाघ्यो, त्यसपछि उनलाई नचिनेकाबाट पनि यस्तै प्रतिक्रिया आउन थाल्यो।
'अनि बल्ल मलाई थाहा भयो, मेरो च्यानलले मलाई कति धेरै अन्जान मानिससँग जोडिसकेको रहेछ,' उनले भनिन्।
महामारीको त्रास फैलिएको समयमा खुलेको यो च्यानलले यसका स्रोता-दशकलाई मन बहलाउने बहाना दियो। अस्मिताकै लागि पनि सिर्जनात्मक साथी बन्यो। आज पनि जबजब आधा रातमा आँखाबाट निँद हराउँछ, जबजब मनमा अनेक तर्कनाले डेरा जमाउँछ, अस्मिता आफ्नो च्यानल प्रयोगकर्ताको सक्रियता देखेर, प्रतिक्रिया पढेर आफैंलाई भन्छिन्, 'म एक्लो कहाँ छु र?'
अस्मिता अरूका युट्युबमा समेत मानिसले गर्ने टिप्पणी ध्यान दिएर पढ्छिन्। कमेन्ट गर्नेमध्ये धेरैले सर्जकलाई कहिल्यै चिनेका, भेटेका हुँदैनन्। मरिसकेका सर्जकका सिर्जनामा पनि निरन्तर आइरहने कमेन्टले उनलाई भावुक बनाउँछ। उनी ती कमेन्टमार्फत अपरिचित मान्छेको कथासँग जोडिन्छिन्।
'म मरेपछि पनि मेरो च्यानलमा त्यस्तै कमेन्टहरू आऊलान्। मेरो च्यानल अपरिचितको स्टोरी बस्ने ठाउँ बनोस्,' उनले भनिन्, 'अन्तिममा हामी सबै कथा नै बन्ने हौं। हामी सबै कथामै बाँच्ने त हौं।'
च्यानल खोलेपछि अस्मिताले महशुस गरेको सबभन्दा शक्तिशाली कुरा यही 'कनेक्सन' हो। यो कलाका माध्यमबाट मान्छे मान्छेबीच गाँसिने सम्बन्ध हो। अस्मिता भन्छिन्, 'कला भन्ने बित्तिकै सुखदुःखका भावनाका कुरा आइहाल्छन्। धेरै मानिस सुखभन्दा निराश भावनासँग बढी जोडिने रहेछन्।'
त्यसैले वियोगान्त कथा-कवितामा आफूले बढी प्रतिक्रिया पाएको उनी बताउँछिन्।
हुन त अस्मिताले रोज्ने सबै विषय उनको अनुभवमा आधारित हुँदैनन्। उनी अरूका कुरा पनि आफ्नै भोगाइ जसरी प्रस्तुत गर्न सिपालु छिन्।
'त्यो कथा तिम्रो आफ्नै अनुभव हो?' अस्मिताले सबभन्दा धेरै जवाफ दिनुपर्ने प्रश्न हो यो। अस्मिताका पात्र प्रेममा परे भने उनलाई 'लभ पर्यो क्या हो?' भनेर सोध्छन्। अर्को कथामा पात्रको विछोड भयो भने फेरि उनीहरू नै सोध्छन्, 'तिम्रो ब्रेकअप भएको हो?'
अझ, उनले 'लास्ट सिगरेट' कथा राखेपछि चाहिँ धेरैले उनलाई चुरोट खाने सोचेछन्। उनकी केटी पात्रले चुरोट पिउँथिन्। उनी भन्छिन्, 'म चुरोट पिउँदिनँ भन्दा भन्दा थाकेँ। सुरूमा यस्ता कुराले अलि असहज लाग्थ्यो। अचेल प्रतिक्रिया सुन्न रमाइलो लाग्छ।'
अस्मिताको पुस्तालाई 'ठूलो साहित्य' लेख्न भलै नआउला, आफ्नो मनका भावना पोख्न भने आउँछ। उनीहरूले रोज्ने विषयवस्तु र प्रस्तुति शैलीमा नयाँ पुस्ताको भावना गुञ्जेको हुन्छ। अस्मिता यसकै उदाहरण हुन्।
सिल्ली सङ्स एन्ड सटल पोयम्स अस्मिताको संगीत र साहित्यप्रतिको रूचिबाट जन्मेको हो। मन्डिखाटारस्थित भ्याली पब्लिक स्कुल पढ्दा अस्मितालाई नेपाली पढाउने शिक्षकले सप्रसंग व्याख्या पढेर सुनाउन लगाउँथे। अस्मिता विभिन्न सन्दर्भ जोडेर व्याख्या गर्न पोख्त थिइन्। साथीहरू पनि अस्मिताको लेखाइ चाख मानेर सुन्थे। उनले भनिन्, 'त्यही बेला सरले म राम्रै लेख्छु कि क्या हो भन्ने महशुस गराइदिनुभयो।'
यसबाहेक नियमित डायरी लेख्ने बानीले पनि उनको लेखनलाई आधार दियो। लेख्न मन लागे पनि अस्मितालाई आफ्नो लेखन साहित्यजस्तो लाग्दैनथ्यो। साहित्य भनेको अलि गम्भीर हुन्छ भन्ने सोच्थिन्।
लेखनमा रूचि भएकैले होला, संगीत सुन्दा पनि अस्मिताको ध्यान शब्दमा जान्थ्यो। संगीत कक्षा लिने क्रममा उनले पहिलो पटक गायक तथा गीतकार बब डिलनलाई चिनिन्। अहिले त उनी डिलन आफ्नै साथी भए झैं गरी गफ दिने भइसकेकी छन्। डिलनबाट प्रभावित भए पनि आफूले लेख्ने–गाउने गीत उनलाई आज पनि 'सिल्ली' लाग्छ।
आफूले लेख्ने वा गाउने कुरालाई कसैले यस्तो पनि साहित्य वा संगीत हुन्छ र भन्यो भने कसरी प्रतिरक्षा गर्ने उनलाई थाहा थिएन, 'सिकारू थिएँ। अझै पनि सिक्ने क्रममा छु। त्यसैले च्यानलको नाम नै सिल्ली सङ्स एन्ड सटल पोयम्स राखेकी हुँ।'
डेढ वर्षको अनुभवमा अस्मिताले यही च्यानलमार्फत् आफ्नो जीवनको लक्ष्य भेटाएको महशुस गर्न थालेकी छन्। साथीजस्तो बनेको च्यानल खोल्नुको सास्ती पनि छ। कति दुःख दिने मनसायका प्रयोगकर्ता झेल्नुपरेको उनले बताइन्।
कति केटाहरूलाई उनको च्यानल उनीसँग बोल्ने बहाना बनेको उनको भनाइ छ, 'मेरो च्यानलबाट आएर मसँग कुरा गर्न खोज्नु स्वाभाविक हो। तर मेरो कामभन्दा रूपरंगको कुरा गर्न खोज्ने पनि धेरै छन्। मेरो कामको प्रशंसा गर्न मेरो रूपरंग जोडेको मन पर्दैन।'
कतिले केटी मान्छेलाई फलोअर्स बढाउन सजिलो हुन्छ भनेको सुन्दा उनको चित्त दुख्छ।
'केटा र केटी दुवैलाई लैंगिकताका कारण केही सजिला-अप्ठ्यारा भोग्नुपर्छ। तर काम राम्रो हुँदा केटी भएकाले, नराम्रो हुँदा पनि केटी भएर त हो भन्ने खालका टिप्पणी आउँदा रहेछन्। युट्युबर बनेपछि लैंगिक पूर्वाग्रह भोग्नुपरेको छ,' उनी भन्छिन्।
तर तीताभन्दा उनीसँग मीठा अनुभव धेरै छन्। भर्खरै च्यानल मनिटाइज भयो, देखिनेभन्दा नदेखिने उपलब्धि कति छन् कति। उनकी साथीले यही च्यानलका लागि गीत गाएपछि आफूले बन्द गरिसकेको युट्युब सुरू गरिन्। अस्मिता यसलाई पनि आफ्नै उपलब्धि मान्छिन्।
उनको च्यानलमा हालसम्म करिब ११५ भिडिओ अपलोड छन्। लकडाउन फुर्सदमा तीन वटासम्म अपलोड गरिन्। अहिले औसतमा साताको एउटा अपलोड गर्छिन्। आफ्नो प्रस्तुति पनि पहिलाभन्दा राम्रो भएको उनैले महसुस गरेकी छन्।
ओखलढुंगामा जन्मेकी अस्मिता काठमाडौंमा हुर्केकी हुन्। तर आफूलाई 'पूर्वेली' भनेर चिनाउँछिन्। छिट्छिटो बोल्ने आफ्नो बानी पनि पूर्वेली गुण नै मान्छिन्। च्यानल सुरू गरेपछि भने प्रस्तुति राम्रो बनाउन कहाँनेर कुन गतिमा बोल्ने, ठम्याउन सिक्दै छिन्। क्यामरासँगको पुरानो डर हराइरहेको छ।
'अब चाँडै नयाँ क्यामरा किनेर भिडिओमा वाचन गर्ने इच्छा छ,' उनले भनिन्।
यसबाहेक उनीसँग दीर्घकालीन योजना पनि कम छैनन्। सिल्ली सङ्स एन्ड सटल पोयम्सबाट शृंखलाबद्ध कथा, कविता र सर्ट फिल्म बनाउन चाहन्छिन्। भन्छिन्, 'कुनै एउटा विधामा बाँधिन चाहन्नँ।'