गुड फ्राइडे सिनेमा
दलित लोककवि तथा शिक्षक नारायण काम्बले (वीरा साथीदार) प्रगतिशील गीतहरू गाउँदै गाउँ-सहर डुल्छन्। उनको गीतबाट हच्किएका प्रहरीले आरोप लगाउँछन्, 'नारायण काम्बलेको गीत सुनेर एक जना सफाइ कर्मचारीले आत्महत्या गर्यो।'
कुनै सुरक्षा उपाय नअपनाई ज्यान जोखिममा राखेर नालीमा छिर्ने ती मजदुरको मृत्यु र काम्बलेको गीतबीच टाढा-टाढासम्म कुनै साइनो हुँदैन। तर, प्रहरीले पक्राउ गरेपछि काम्बलेमाथि मुद्दा चल्छ।
काम्बलेको पक्षमा युवा वकिल विनय बोहरा (विवेक गोम्बेर) र विपक्षमा सरकारी वकील नूतन (गीताञ्जली कुलकर्णी) को बहस चल्छ। काम्बलेको मुद्दा कहाँ गएर टुंगिन्छ? उनलाई कारबाही हुन्छ वा उनले सफाइ पाउँछन्? यही नै मराठी फिल्म 'कोर्ट' को कथा हो।
यो फिल्मले अदालतको परिवेश, वकिलहरूको दिनचर्चा, कार्यशैली र समग्र न्याय प्रणालीको यथार्थ चित्रण गरेको छ।
काम्बले न्याय प्रणालीको ढिलासुस्तीले किनारामा परेका पात्र हुन्, जसले न्याय प्रणालीभित्र मौलाएको संस्थागत विभेद झल्काउँछ। यहाँ मुख्य पात्र काम्बलेको पक्ष-विपक्षमा लड्ने वकिल र न्यायाधीशमध्ये कसैलाई नायक वा खलनायक बनाइएको छैन।
हामीले हेर्दै आएका धेरैजसो भारतीय सिनेमामा अदालतभित्रका दृश्यलाई प्राय: सनसनीपूर्ण ढंगले प्रस्तुत गरिएको हुन्छ। तर, ‘कोर्ट’ मा सनसनीपूर्ण केही छैन। बरू दर्शकलाई यो फिल्म हेरूञ्जेल वास्तविक अदालतमा बसेर काम्बलेको मुद्दाको बहस हेरेजस्तै लाग्छ। यो फिल्मको सबभन्दा महत्वपूर्ण पक्ष नै अदालती सुनुवाइको यथार्थ चित्रण हो।
निर्देशक तथा लेखक चैतन्य तम्हाणेले 'कोर्ट' को कथा लेख्न लामो समय मुम्बईका अदालत चहारेका थिए। कयौं मानिससँग अन्तर्क्रिया गरेका थिए। त्यही अनुभव र अन्तर्क्रियाका आधारमा उनले वास्तविकतामा देखिने अदालतको दृश्यलाई फिल्ममा जस्ताको तस्तै उतार्ने प्रयास गरेका छन्।
यसमा अदालतको कोठाभित्र पालना गर्नुपर्ने अनुशासन, बोल्ने शैली, हाउभाउदेखि कोठाबाहिर मानिसहरू आउजाउ गरिरहेका दृश्यसमेत जीवन्त छन्। क्लोज-अपका तुलनामा टाढाबाट खिचिएका दृश्यले अदालतको वास्तविक परिवेश झल्काउन प्रभावकारी काम गरेको छ। लामो समय क्यामरा स्थिर राखेर खिचिएका दृश्यले अदालतको सुस्त कार्यशैली चित्रण गर्छ।
अदालतभित्रका निर्णय सापेक्षित हुन्छन्। वकिल र न्यायाधीशका आस्था र मूल्य-मान्यताले आममानिसको भाग्यको फैसला गरिरहेको हुन्छ। फिल्ममा वकिलहरू विनय र नूतन तथा न्यायाधीशको निजी जीवनलाई तटस्थ रूपमा देखाइएको छ। यसले अदालतभित्र हुने निर्णयमा प्रभाव पार्ने पक्षहरूलाई अत्यन्तै कुशल शैलीमा जोड्छ।
गम्भीर मुद्दालाई पनि सामान्य रूपमा देखाइएको 'कोर्ट' असामान्य फिल्म हो। यो फिल्मले बिना कुनै तडकभडक भारतको न्याय प्रणालीका कमजोरीमाथि कटाक्ष गर्छ। भारतीय समाजमा पिँधमा परेका समुदायको नाजुक अवस्था बताउँछ।
मुम्बई सहरको भाषिक र वर्गीय विविधता झल्काउने यो फिल्ममा पात्रहरू चारथरी भाषा बोल्छन्। अधिकांश संवाद मराठी भाषामा छ भने हिन्दी, गुजराती र अंग्रेजीसमेत प्रयोग भएका छन्।
सन् २०१४ मा इटालीको भेनिस फेस्टिभलमा पुरस्कृत यो फिल्मले भारतको नेसनल अवार्डका साथै अन्य दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड जितेको छ। बलिउडका नसिरुद्दिन शाह, आमिर खान, नवाजुद्दिन सिद्दिकीजस्ता अभिनेताले यो फिल्मको खुलेर प्रशंसा गरेका थिए।
उनीहरूको भनाइ थियो- 'यो फिल्म अति नै वास्तविक छ। मुम्बई सहरका वास्तविक स्थलहरूमा छायांकन गरिएकाले पनि यो फिल्म यथार्थ देखिन्छ।'
केही रंगमञ्च पृष्ठभूमिका र केही पहिलोपटक फिल्ममा अभिनय गरेका नयाँ कलाकारहरूले फिल्ममा प्राण भरेका छन्।
निर्देशक चैतन्यको यसै वर्ष सार्वजनिक फिल्म ‘द डिसाइपल’ ले पनि कोर्टले जस्तै चौतर्फी तारिफ पाइरहेको छ।