गुड फ्राइडे सिनेमा
नेपालमा टेलिभिजन हेर्ने सुरूतिरकाे पुस्तामा पाकिस्तानी टेलिशृंखलाप्रति ठूलो क्रेज थियो। अचेल युट्युबमा पाकिस्तानी टेलिफिल्म हेर्ने नयाँ पुस्ता पनि तयार भइसकेको छ।
लामा शृंखलाबाहेक पाकिस्तानी छोटा फिल्मको लोकप्रियता पनि बढ्दो छ। बढ्दाे डिजिटल प्लेटफर्मसँगै छाेटाे फिल्म निर्माणमा संसारभर लगानी भइरहेको छ। एक बसाइमा हेर्न सकिने यस्ता छाेटा फिल्म धेरैका लागि लकडाउनका साथी भएका छन्।
विषयवस्तु र प्रस्तुतिमा विविधता र नयाँपन खोजीका कारण छोटा फिल्मले थोरै समयमा पनि रोमाञ्च पैदा गराउँछ। समाजका विभिन्न मुद्दा वा सन्देशसमेत बोक्ने विशेषता पाकिस्तानी छोटा फिल्ममा पनि पाइन्छ।
हेर्नुस् युट्युबमा उपलब्ध ५ राम्रा पाकिस्तानी छोटा फिल्मः
डटर बाइ ल (३८ मिनेट)
'डटर बाइ ल' सासू-बुहारीको जटिल सम्बन्धमा बनेको रमाइलो फिल्म हो। यी दुई सासू-बुहारी विपरीत स्वभावका मात्र छैनन्, उनीहरूको पृष्ठभूमि पनि फरक छ। शारा विदेशी बुहारी हुन् जो चञ्चल र उदार स्वभावकी छिन्। उनकी सासू फराह कडा मिजासकी छिन्। उनी घडीको सुईअनुसार अलिकति तलमाथि नभई अनुशासित दैनिकीमा चल्छिन्। तर शारालाई विदेशबाट श्रीमानसँग पाकिस्तान आएपछि घरको नियम कानुनमा चल्न असहज हुन्छ।
स्मार्टफोन चलाउन सिकाउने सिलसिलामा शाराले सासूका निजी जीवनका रहस्य थाहा पाउँछिन् र त्यसलाई खोतल्न थाल्छिन्। यसले उनीहरूको सम्बन्धलाई नयाँ मोड दिन्छ। दुवै महिलाको शक्तिशाली भूमिका भएको यो फिल्ममा उनीहरूको सहज अभिनय देख्न पाइन्छ। सासू-बुहारीको सम्बन्धमा यसै घरका सहायक नीतु चाचा पनि फिल्ममा विशेष पात्र बनेर आउँछन्।
मम्मी का मुन्ना (२० मिनेट)
साँझपख घर फर्किँदा बाटोबाटै रिसाएकी सुनैना पति हसनसँग घर पुगिसक्दा पनि राम्ररी बोल्दिनन्। हसन जति फकाउन खोज्छन् उनी झनै रिसाउँदै जान्छिन्। एउटा जोडीको रिस र मायाको यस्तै कथाको वरिपरि फिल्म घुमेको छ। 'मम्मी का मुन्ना' को कथा सामान्य भए पनि प्रस्तुति यति रोचक छ कि एकअर्कालाई माया गर्ने यो जोडीको झगडा पनि दर्शकलाई प्यारो लाग्छ। सुनैना हसनसँग किन रिसाउने कारण भने फिल्म हेरेरै थाहा पाउनु होला।
मात्र दुई जना पात्र भएको यो फिल्ममा कलाकारको अभिनय र संवादले नै फिल्म धानेको छ। सोहेल जावेदको निर्देशनमा बनेको फिल्ममा अलि सफिना र रुब्या कुलसुमको अभिनय छ। यो सादिया जब्बर प्रोडक्सन्सको 'पियारवाली प्रोब्लम शृंखला' अन्तर्गतको फिल्म हो। सादिया जब्बर प्रोडक्सन्सले पियारवाली प्रोब्लम शृंखलामा यस्तै रमाइला र राम्रा फिल्महरू तयार पारेको छ।
पेइङ गेस्ट (१५ मिनेट)
एउटा पुरानो घरमा घरमालिक, घर मालिककी श्रीमती र उनका प्रेमीको हत्या भएको हुन्छ। त्यो घर नयाँ जोडीले लिन्छन्। एकजना पेइङ गेस्ट त्यही घर हेर्न आउँछन्। ती युवकले जब घरमा बस्ने महिला र पुरुष पात्र भेटेर घरबारे जानकारी लिन थाल्छन्, कथा रहस्य थपिँदै जान्छ।
ती तीन जना पात्रहरूको हाउभाउ र कुराकानीले दर्शकमा कौतुहल जगाइदिन्छ। फिल्मको रङ संयोजन, पार्श्व संगीत र रोमाञ्चक ट्विस्ट हरर फिल्म सुहाउँदो छ। फिल्ममा मुनिम बट, साइफ हसन र नोरिन गुलवानीको अभिनय छ।
बातों बातों में (२१ मिनेट)
पाकिस्तानको एउटा पत्रिकाको कार्यालयमा काम गर्ने दुई जना फरक स्वभावका पात्रहरूको रमाइलो कुराकानीको कथा हो, बातों बातों में। उनीहरूको कुराकानीमा खाजा खाने कुरादेखि, पत्रकारिता, पाकिस्तानको हिंसात्मक अवस्था र उर्दू सायरी र साहित्यसम्मका कुराकानी अटाएको छ।
कलाकारहरू सलिम मैराज र मेहम अमिरबीच हुने रोचक संवाद नै फिल्मको रमाइलो पक्ष हो। फिल्म अघि बढ्दै जाँदा यी दुई पात्रका निजी सम्बन्धमा आउने ट्विस्टले फिल्म अझ रोचक बनिदिन्छ। चर्चित टेलिभिजन अभिनेत्री मेहमको अभिनय पनि फिल्मको अर्को बलियो पक्ष हो।
अब बस् (१० मिनेट)
फिल्मकी मुख्य कलाकार सनम सइद पाकिस्तानी सिनेमाकी चर्चित अभिनेत्री हुन्। छोरीलाई रातिको खाना खुवाएर सुताउने बेलामा उनलाई एउटा फोन आउँछ। फोन आएपछि उनी तुरुन्तै कतै जानुपर्ने हुन्छ। तर निस्कनुअघि उनी लामो तयारी गर्छिन्। उनको तयारीले दर्शकलाई झस्काउँछ।
उनी भान्सामा गएर फरक फरक आकारका चक्कु निकालेर त्यसको धार जाँच्छिन्। फ्रिजबाट मासु झिक्छिन्। तिनै चक्कुले मासुमाथि छ्याकछयाक आवाज आउने गरी प्रहार गर्छिन्।
चक्कुसँगै बन्दुक पनि निकाल्छिन्। त्यसपछि ऐना अगाडि उभिएर आफ्नो हुलिया बदल्छिन्। उनी लामो यात्रामा निस्कन लागेको संकेत पाए पनि दर्शकलाई उनले केको तयारी गरिरहेको थाहा हुँदैन। फिल्मको अन्तमा मात्र यसको कारण खुलाइएको छ। यो कारण थाहा पाएपछि बल्ल दर्शकले फिल्मकी मुख्य पात्रका हरेक कुराको अर्थ बुझ्छन्। फिल्मको अन्त मन छुने खालको छ।