गुड फ्राइडे सिनेमा
'बाराका' यस्तो सिनेमा हो, जसले नेपालसहित संसारका २४ देश डुलाउँछ। हरेक देशका भूबनोट, ठाउँ र मान्छेसँग भेट गराउँछ। त्यहाँका जीवजन्तु र संस्कृतिसँग साक्षात्कार गराउँदै पृथ्वीका सुन्दर र कुरुप चित्र देखाउँछ।
यो यात्रामा अरू फिल्मजस्तो संवाद र कथानक छैन। दृश्य, ध्वनि र संगीतकै माध्यमबाट फरक भूगोल र संस्कृतिसँग साक्षात्कार गराउनु, सृष्टि र सभ्यताको कथा भन्नु र संसारको अद्भूत सौन्दर्य खोतल्नु नै सिनेमाका विशेषता हुन्।
सन् १९८२ मा प्रकृति, मान्छे र प्रविधिबीचको अन्तरसम्बन्ध र अन्तरविरोध झल्काउने वृत्तचित्र 'कोयानिस्कात्सी: अ लाइफ अफ ब्यालेन्स' (वृत्तचित्र) सार्वजनिक भएको थियो। गोडफ्रे रेगिओले निर्देशन गरेको उक्त संवादविहीन प्रयोगमूलक वृत्तचित्रका सहलेखक तथा सिनेमाटोग्राफर रोन फ्रिक थिए।
रोनले सन् १९९२ मा यही शैलीलाई निरन्तरता दिँदै आफ्नै लेखन र निर्देशनमा 'बाराका' बनाए र संसारभर ख्याति कमाए। बाराकामा पनि प्रकृति, मान्छे र प्रविधिबीचको अन्तरनिर्भरता र अन्तरविरोध देखाइएको छ।
बाराका धेरै कारणले विशेष छ। यसमा छायांकन भएका लोभलाग्दा दृश्य यसको पहिलो विशेषता हो। ७० एमएममा खिचिएको 'बाराका' प्राविधिक हिसाबले तत्कालीन समयको एक उत्कृष्ट वृत्तचित्र थियो। सन् २००८ मा यसलाई ८-के रिजोलुसनमा रिस्टोर गरियो। तपाईंले अहिले हेर्दै गरेको त्यही रिस्टोर्ड संस्करण हो।
एक वर्षभन्दा बढी समय लगाएर खिचिएको महत्वाकांक्षी वृत्तचित्रमा हिमाल, पहाड र तराईका सहज र अप्ठ्यारा सबै खालका ठाउँ अटाएका छन्। सुनसान जंगलदेखि व्यस्त सडक, चराका बथानदेखि मान्छेको भीड, ज्वालामुखी निस्केका ठाउँदेखि युद्धग्रस्त क्षेत्र, खण्डहर वा सांस्कृतिक नृत्यहरू आकर्षक छन्।
टाइम ल्याप्सको भरपुर प्रयोग गरिएको यो वृत्तचित्रको सम्पादन पनि विशेष छ। प्राकृतिक जीवन र प्राविधिक जीवनको गति तुलना गराउने दृश्य धेरै छन्। चरम आधुनिकता र आदिवासी जीवनको विरोधाभासलाई बाराकामा सुन्दर ढंगले संयोजन गरिएको छ।
यसमा संगीतकार माइकल स्टिम्सले फरक ठाउँको फरक परिवेशअनुसार संगीत दिएका छन्। संगीत संयोजन गर्दा सांस्कृतिक विविधता र प्राकृतिक लयमा विशेष ख्याल राखिएको छ। झरनाको कलकल र खच्चरको टकटकजस्ता प्राकृतिक आवाजले वृत्तचित्रमा लय थप्छ।
बाराकामा निर्देशकले कुनै निश्चित भूगोलको सीमामा दर्शकलाई खुम्चिन दिँदैनन्। सृष्टिको अनन्तताको कथा देखाउने यो वृत्तचित्रले युद्धमा मारिएका सिपाही र घाटमा पोलिएका शव देखाएर दर्शकलाई संवेदनशील बनाइराख्छ।
यसमा डाँडा, मूर्ति र ठाउँहरूले पनि मान्छेले जस्तै बोलिरहेझैं लाग्छ। कहिल्यै नदेखिएका ठाउँ र नबुझिने सन्दर्भले दर्शकलाई अलमल भने पार्छ। निर्देशकले ठाउँको नाम र विवरण नदिएकाले कुन कहाँ होला भन्ने प्रश्न उठिरहन्छ।
तीन वर्षभन्दा बढी लगाएर पूर्णता दिइएको बाराकाबारे निर्देशक रोनले भनेका छन्, 'तपाईं पर्दामा कहाँ हुनुहुन्छ भन्ने कुराभन्दा तपाईंले के देखिरहनुभएको छ भन्ने महत्वपूर्ण छ।'
उनको भनाइको आसय हो- बाराकाका हरेक दृश्यमा लुकेको अन्तर्य महशुस गरौं। प्रकृतिको नियम र नियति मनन गरौं। निर्देशकले जस्तै प्रकृति र संसारलाई अलिकति माथिबाट हेरौं। नजिकबाट चिनौं। यसको रहस्य र आनन्दमा हराऔं।
महामारी र लकडाउनको छटपटीबीच आँखालाई शितल र मनलाई शान्ति दिने फिल्म हेर्न चाहनुहुन्छ भने 'बाराका' राम्रो छनौट हुनेछ। यसले तपाईंको धैर्यको परीक्षा भने पक्कै लिनेछ।