'पुरु दाइ' नामले चिनिने पुरुषोत्तम प्रधान फिल्म क्षेत्र प्रवेश गर्दा सबैका 'फुच्चे भाइ' थिए।
१७ वर्षको उमेरदेखि स–साना भूमिका निर्वाह गरेका उनले सहायकका रूपमा गर्नुपर्ने सबैजसो काम गरेका छन्। फिल्म क्षेत्रमा २७ वर्ष खर्चेका उनी फोकस पुलर, असिस्टेन्ट, चिफ असिस्टेन्ट, क्यामराम्यान हुँदै अहिले सिनेमाटोग्राफर (छायाकार) बनेका हुन्।
यसबीच उनले करिब डेढ सय फिल्ममा विभिन्न भूमिकामा घोटिएर काम गरे। अहिले उनी डिओपी (डाइरेक्टर अफ फोटोग्राफी) को भूमिकामा फिल्म खिच्ने समूहको नेतृत्व गर्छन्।
पुरुषोत्तम नेपालका सफल सिनेमाटोग्राफर हुन्। देशका कुनाकन्दरादेखि विदेशमा छायांकन हुने फिल्ममा उनी धेरैको पहिलो रोजाइमा पर्छन्। अवार्डहरूमा पनि उनले वर्चस्व स्थापित गरेका छन्।
झन्डै पाँच दर्जन फिल्मका छायाकार पुरुषोत्तमका 'लुट', 'नाइँ नभन्नु ल', 'इकु', 'ब्याच नम्बर १६', 'तान्द्रो' उनका थप केही प्रमुख फिल्म हुन्। 'कबड्डी' को पहिलो भाग र 'छक्का पन्जा' को पहिलो र तेस्रो भाग पनि उनका सफल फिल्म हुन्। पहिलो नेपाली थ्रीडी फिल्म 'भिजिलान्ते' खिचेका पुरुषोत्तम व्वयसायिक र गुणस्तरीय दुबै हिसाबले मानिएका छायाकार हुन्।
पुरुषोत्तम २०५१ सालको 'अबला'बाट फिल्म क्षेत्रमा जोडिएका थिए। उनका ठूली आमाका छोरा अनुचन्द्र थसिनेकु 'सिने साउन्ड रेकर्डिंङ' स्टुडियोमा काम गर्थे।
'एसएलसी सकिएपछि तीन महिना लामो बिदा थियो। दाइले फिल्ममा काम गर्ने प्रस्ताव ल्याउनुभयो। काम पनि सिकिने र पैसा पनि आउने भएकाले मैले पनि हुन्छ भनेँ।'
ड्रेस केयर-टेकरका रूपमा जोडिए पनि पहिलो फिल्ममै उनी पेलानमा परे। स्पट ब्वाइ, लाइट असिस्टेन्ट, प्रोडक्सन असिस्टेन्ट भएर काम गर्नुपर्यो। फिल्म क्षेत्रमा लाग्ने सपनै नदेखेका उनलाई पहिलो अनुभवमा यो क्षेत्र आफ्नो लागि होइन कि जस्तो भयो।
एयरपोर्ट छेउमा हुर्के-बढेका उनी इञ्जिनियर बन्न चाहन्थे। पुरुषोत्तमले भने, 'रूचिभन्दा मेरो गरिबी, मेरो दुःखले धकेलेर मलाई यहाँसम्म ल्याएको हो।'
पाँच वर्षकै उमेरमा बुबाको निधन भएपछि जेठा छोरा पुरुषोत्तमले आमाको संघर्ष नजिकबाट महशुस गरे। आमाले उनलाई आफ्ना लागि सबै काम आफैं गर्न सक्नुपर्छ भन्दै हुर्काइन्, 'आमाले म र भाइलाई हुर्काउन गरेको दुःखले सानैदेखि ममा आफैं कमाउनुपर्छ भन्ने दबाब थियो।'
उनलाई ठूलीआमाका छोराले फेरि फिल्मको काम प्रस्ताव गरे। आत्मनिर्भर बन्न केही सीप सिक्ने सोचसँगै नजानिँदो गरी उनलाई फिल्मको रंगीन दुनियाँले तानिसकेको रहेछ। उनी सम्झन्छन्, 'नाइँ भन्नै सकिनँ।'
फिल्म क्षेत्रको आकस्मिक यात्रामा उनले संगतबाट धेरै कुरा सिके। अबला छायांकन बेला उनले निर्देशक वा कलाकारको अभिनयभन्दा सिनेमाटोग्राफर मुरारी ठाकुरका गतिविधि खुब नियालेका थिए।
दोस्रो पटक, 'छोरीबुहारी'मा उनले मुरारीसँगै काम गरे, 'उहाँको व्यक्तित्व र काम गर्ने शैलीले प्रभावित भइसकेको थिएँ। उहाँकै असिस्टेन्ट भएर धेरै फिल्ममा सँगै काम गर्ने अवसर पाएँ।'
यही संगतले उनलाई क्यामराप्रति मोह जगायो। त्यसपछि उनी गौरीशंकर धुजु, चन्द्रप्रकाश घिमिरे, गौतम श्रेष्ठ, मञ्जुकुमार श्रेष्ठजस्ता अनुभवी छायाकारका सहायक भए। साउन्ड रेकर्डिस्टका रूपमा समेत काम गरेका उनले तीन वर्ष इमेज च्यानलमा बिताए। यतिबेलासम्म म्युजिक भिडिओ, विज्ञापन र टेलिशृंखलासमेत खिचे।
१४ वर्ष असिस्टेन्ट भएर काम गरेपछि 'सपूत' फिल्मबाट उनी पूर्णरूपमा सिनेमाटोग्राफर बने। सिनेमाटोग्राफरको काम शब्दलाई दृश्यमा रुपान्तरण गर्नु हो। यसका लागि कथाका पात्रको परिवेश र मनोविज्ञानबारे परिचित हुनु जरुरी हुन्छ।
यो कुरा आत्मसात गरेका पुरुषोत्तमले पहिलो फिल्मबाटै पटकथा पढेर त्यसकै आधारमा क्यामरा चलाए। अचेल अभ्यास बढे पनि त्यो समयमा छायाकारले खासै पटकथा नपढ्ने उनी बताउँछन्।
झन्डै तीन दशक फिल्म क्षेत्रमा सक्रिय पुरुषोत्तमले एनालग र डिजिटल दुवै प्रविधिमा काम गरेका छन्। 'मेरो एउटा साथी छ' उनलाई राम्रो सिनेमाटोग्राफरका रूपमा परिचय दिलाउने प्रमुख फिल्म हो। 'कागबेनी' र 'सानो संसार' डिजिटल प्रविधिबाट खिचिइसकेको भए पनि 'मेरो एउटा साथी छ' बनाउने बेला नयाँ प्रविधिप्रति धेरैमा आशंका रहेको उनी सम्झिन्छन्।
२०३४ सालमा जन्मेका पुरुषोत्तम नेपाली फिल्म क्षेत्रमा आएका धेरै साना-ठूला परिवर्तनका साक्षी हुन्। उनी यो रूपान्तरणका सक्रिय कर्ता पनि हुन्।
'पहिला ३५ एमएममा श्यामश्वेत फिल्म बन्थे। मैले काम सुरू गर्दा नेपाली फिल्म १६ एमएमको नेगेटिभमा क्लोरिफ्लेक्स क्यामराबाट खिचिन्थ्यो। नेगेटिभ डेभलप गर्ने प्रक्रिया लामो हुन्थ्यो,' उनले भने, 'बिस्तारै सेमी डिजिटल हुँदै डिजिटल प्रविधिमा फिल्म बन्न थाल्यो। पीडी वान फिप्टी, एसआइटुके, फोर-के हुँदै अहिले एट-केसम्म आइपुगेको छ।'
उनी नेपालमा पनि एचडीमा फिल्म खिचिन थाल्यो भनेर उत्साहित भएको क्षण सम्झन्छन्। पछिल्ला दशकमा प्रविधिसँगै कथा भन्ने शैलीमा पनि नयाँपन खोजी भइरहेको छ। भलै यस्तो खोज एक दशकमा एक-दुई पटक मात्र किन नहोस्!
२०६४ मा सार्वजनिक 'लुट' त्यस्तै खोज थियो। धेरैले नेपाली फिल्मबारे कुरा गर्दा लुटअघि र लुटपछि भनेर विश्लेषण गर्ने गरेका छन्। तर पनि पुरुषोत्तम जोड दिन्छन्, 'लुटअघि नै प्रविधि र कथा भन्ने शैलीमा नयाँ प्रयास भइरहेका थिए।'
जे होस्, ब्लकबस्टर लुटपछि पुरुषोत्तमको कामको महत्व ह्वात्तै बढ्यो। उनी आफ्नो करिअर ग्राफलाई यसरी मापन गर्न रूचाउँछन्, 'लुटअघि सफलता र चर्चाको बेसक्याम्प हुँदै भुरे टाकुरा चढिसकेको थिएँ। लुटले शिखरको टुप्पोमा पुर्याइदियो।'
सामान्य कथाको लुटमा प्रस्तुति नयाँ थियो। पुरुषोत्तमले फिल्ममा कसरी क्यामरा आफैं एउटा पात्र हुन सक्छ भन्ने उदाहरण स्थापित गरे। फिल्ममा क्यामरा पात्रसँगै गल्लीगल्ली दौडिन्छ।
'कुनै पनि फिल्ममा स्क्रिप्ट, पात्र, परिवेश र अरू धेरै कुरा ख्याल राखेर क्यामरा प्रयोग गरिन्छ,' उनले भने, 'लुटमा पनि कथा र जनरालाई न्याय दिँदै क्यामरा हिँडेको छ।'
सिनेमाटोग्राफीलाई प्रविधि मात्र होइन, फिल्मको जनरा अनुसार ढाल्न सके नयाँ शैली भित्र्याउन सकिने उनी बताउँछन्। अध्ययनभन्दा अनुभवले खारिएका पुरुषोत्तम छायाकारले आफ्नो भूगोल, भोगाइ, समाजका पात्र र परिवेश नजिकबाट नियाल्न सक्नुपर्ने बताउँछन्।
उनी आफूलाई क्यामरा, लाइट वा लोकेसनमा सीमित नराखी निर्देशकको सोच, कथाको मर्म र गुणस्तरलाई ध्यानमा राखेर काम गर्छन्। त्यस्तै पटकथाबारे निर्देशकसँग पर्याप्त अन्तर्क्रिया गर्ने उनी आफ्नो कामलाई निर्देशक र अभिनेताबीचको पुल पनि मान्छन्।
वर्षाैं यो क्षेत्रमा समर्पित उनी निर्माताको कोणबाट पनि सोच्न भ्याउँछन्। उनको अनुभवले भन्छ, जति नै राम्रो सोच भए पनि छायांकन स्थलमा धेरै समस्या आउँछ। आधा काम नहुँदै फिल्म बनाउने उत्साह र बजेट सकिसकेको हुन्छ।
उनी त्यस्ता सीमा र अड्चन मनन गरेर कसरी कम खर्चमा राम्रो फिल्म खिच्न सकिन्छ भन्नेमा ध्यान दिन्छन्। निर्देशकको सोचलाई पर्दामा उतार्न र निर्माताको लगानी पनि बचाउन उनी आफूले सकेको मेहनत गर्ने बताउँछन्।
मेहनत गरेवापत पारिश्रमिक लिने कुरामा पनि उनी कम छैनन्। पुरुषोत्तमले पहिलो पटक 'अबला'मा काम १ सय २५ रुपियाँ पाएका थिए रे! फिल्मको बजेट हेरेर पारिश्रमिक तोक्ने उनी बढीमा एउटै फिल्मबाट १२ लाखसम्म लिएको बताउँछन्। उनी कतिपय फिल्ममा लगानी गरेर सेयरसमेत बाँड्छन्। 'नाइ नभन्नु ल', 'कबड्डी' (पहिलो भाग) लगायत फिल्ममा लगानीको सेयरकर्ता भएका उनले १५ लाखसम्म नाफा बाँडेका रहेछन्।
सामूहिक हिसाबले सोच्ने उनी १४ वर्षदेखि सिनेमा असिस्टेन्ट, फोकस पुलर, क्यामरा अपरेटर, क्यामरा पुलर, लाइट असिस्टेन्ट लगायतको समूहमा रहेर काम गरिरहेका छन्।
उनी युट्युब च्यानलमा सिनेमा क्षेत्रका प्राविधिक र सैद्धान्तिक सामग्री अपलोड गर्दै आफ्नो अनुभव र ज्ञान बाँड्छन् पनि। आधा शताब्दीभन्दा लामो सिनेमा यात्रामा सकारात्मक परिवर्तन आइरहेकोमा खुसी छन्।
पुरानो र नयाँ पुस्तासँग काम गरेका उनी प्रविधिले धेरै सहज बनाएको बताउँछन्। भन्छन्, 'पहिला काम गर्न र सिक्न गाह्रो थियो। अहिले कोठामै बसेर धेरै कुरा गर्न सकिन्छ। सुविधा प्रयोग गरेर अझै राम्रो गर्न सकिने अवसर छ, तर भइरहेको छैन।'
कथा भन्ने शैलीमा नयाँपन खोजी भइरहे पनि समाजका धेरै कथा फिल्ममा आउन बाँकी रहेको उनी बताउँछन्। प्राविधिक फड्कोसँगै कलात्मक फड्को मार्न नसकिएको उनको ठहर छ।
पुरुषोत्तम आफ्नै कामबाट पनि खास सन्तुष्ट छैनन्, भने, 'केही जोसमा, केही सन्तुलन मिलाएर त केही काम गर्दागर्दै राम्रो बन्यो। तर बल्ल सिनेमा बुझेजस्तो लाग्दैछ। अब खिच्दा यो-यो गल्ती गरेको थिएँ भनेर सुधार्नु छ।'
धेरै सम्झौता गरेर काम गर्नुपर्दा सिनेमाटोग्राफर पर्दा पछाडिको एक निरीह कलाकारमा सीमित रहेको उनी बताउँछन्, 'मैले पनि केही काम बाँच्नका लागि, केही सम्बन्ध नबिगार्न र केही आफ्नो क्षमता देखाउन पाइने उत्साहले गरेँ।'
ठूलो ब्यानर, चर्चित कलाकार र सफल व्यापार गर्न सफल दर्जनौं फिल्ममा काम गरे पनि उनी आफूप्रति आलोचनात्मक छन्। 'मैले काम गरेका केही फिल्मको नाम दर्शकले लेलान्, केही समीक्षकले पनि लेलान्। तर मैले आफैंले नाम लिने काम गर्न बाँकी नै छ,' उनले भने।
पुरुषोत्तम धैर्यपूर्वक निरन्तर काम गर्ने भएकैले स-साना जिम्मेवारीबाट ठूलो अभिभारा सम्हाल्ने ठाउँमा पुग्न सफल भएको बताउँछन्। उनको कामप्रतिको हुटहुटी अझै घटेको छैन।
भन्छन्, 'फिल्मको आफ्नै दृश्य भाषा हुन्छ। नेपाली सिनेमा पनि आफ्नै भाषा खोजिरहेको छ। म पनि यही खोजमा छु। मैले आफ्नो भाषा भेटेँ भने त्यो दिन बल्ल आफ्नै कामबाट सन्तुष्ट हुनेछु।'