एकीकरणको बेलादेखि अहिले रेमिट्यान्सले धानेको क्षणसम्म आइपुग्दा नेपाली अर्थतन्त्रका उकाली ओह्रालीबारे सुजीव शाक्यको विश्लेषण किताब ‘अर्थात् अर्थतन्त्र’ तयार यही वैशाख २९ गते सार्वजनिक हुने भएको छ।
आख्यान, गैरआख्यान र दैनिक उपयोगीताका विविध विधाका किताब प्रस्तुत गर्दैआएको पब्लिकेशन्स नेपालयले आर्थिक मामिलामा पहिलोपटक यो किताब ल्याउन लागेको हो।
‘सुजीव शाक्य मुलुककै परिचित आर्थिक विश्लेषक हुन्,’ पब्लिकेशन्स नेपालयकी प्रमुख कार्यकारी सैजन मास्के भन्छिन्, ‘नेपाली अर्थतन्त्रलाई सबैले बुझ्ने भाषामा परिभाषित गरेको यो किताब पाठकका निम्ति रोचक र ज्ञानवर्धक हुने विश्वास लिएका छौं।’
वैशाख २९ गतेदेखि नै बजारमा उपलब्ध हुने यो किताबको मूल्य ४ सय ७५ रुपैयाँ छ।
शाक्य अर्थ मामिलाका लेखक तथा टिप्पणीकार हुन्। उनी ‘नेपाल आर्थिक मञ्च’ का अध्यक्ष पनि हुन्।
नेपालमा पृथ्वीनारायण शाहको उदय हुँदै गर्दा विश्वले पनि आदम स्मिथ जस्ता अर्थशास्त्री जन्माएको थियो। यी दुवैले राष्ट्र धनप्रति रुचि राखे। यी दुईले के कस्ता बाटो समाते, त्यसबाट विश्व अर्थतन्त्र कता गयो, अनि नेपालमा इलम र उद्यमको यात्राले के कस्तो मार्ग समात्यो भन्ने तथ्यहरुको उल्लेख र विश्लेषणबाटै शाक्यको यो किताब सुरु हुन्छ। त्यसपछि उनले विस्तारमा नेपाली अर्थतन्त्रका फराकिला फाँटहरुको विवेचना गरेका छन्।
शाक्यले यसअघि अंग्रेजीमा ‘अनलिशिंग नेपाल’ लेखेका थिए। उनको त्यो किताब अन्तर्राष्ट्रिय प्रकाशन गृह पेन्गुइनले छापेको थियो। नेपाली पाठक निम्ति उनले तयार पारेको यो पुस्तक भने पब्लिकेशन्स नेपालयका तर्फबाट हुनेछ।
पेसाले शाक्य व्यवस्थापक तथा परामर्शदाता हुन्। उनले काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको व्यवस्थापन परामर्श तथा वित्तीय सल्लाह कम्पनी (बिड) स्थापना गरे। त्यसअघि सोल्टी व्यवसायिक समूह र भोटेकोशी पावर कम्पनीको व्यवस्थापन अनुभव सँगालेका थिए।
अंग्रेजी साप्ताहिक नेपाली टाइम्सको नियमित स्तम्भकारका रुपमा आर्थिक विश्लेषकको परिचय पनि बनाएका छन्।
संयुक्त राज्य अमेरिकास्थित कोलम्बिया र बोष्टन युनिभर्सिटीबाट शिक्षा लिएका शाक्य सुरूमा चार्टर्ड एकाउन्टेन्ट थिए।
[caption id="attachment_155474" align="alignleft" width="356"]
लेखक सुजीव शाक्य।[/caption]
‘यसअघि अंग्रेजी भाषाका पाठकमाझ नियमित स्तम्भ, विभिन्न लेख र किताब माध्यमबाट आफूलाई प्रस्तुत गर्दै आएको थिएँ,’ शाक्य भन्छन्, ‘नेपाली भाषी पाठकसँग भने पहिलोपटक यस रुपमा अन्तरंग हुनपाउँदा खुशी लागेको छ।’
शाक्यले मैना धितालसँगको सहकार्यमा किताब तयार पारेका हुन्।
किताब हाम्रा वरपरकै समसामयिक विषयलाई उभ्याएर लेखिएको छ। जस्तो कि एक ठाउँमा शाक्य भन्छन्, ‘मापसे जस्तै अब मुलुकलाई अर्को अभियान चाहिएको छ– कृजपसे । अर्थात्, कृषि, जलविद्युत, पर्यटन र सेवा।’
यति भनिसकेपछि उनी अलि अघिसम्म हामीजस्तै अवस्थाबाट तीब्र उन्नति पथमा लागेको मलेसियाको उदाहरण सुरु गर्छन्।
नेपाली अर्थतन्त्र कतिसम्म बच्चा छ भने यहाँको उपभोक्तामा अहिलेसम्म ब्राण्डको महत्वसमेत थाहा छैन। यसको उदाहरण दिँदै शाक्य भन्छन्, ‘मुलुकमा तीन सयभन्दा बढी ब्राण्डका पानी बिक्री हुन्छन्। तर, कसको स्तर के हो भन्ने कसैलाई मतलब छैन।’
मुलुकको अर्थतन्त्र रेमिट्यान्सले धान्दै गरेको अवस्थामा हामी विदेश गएर श्रम गर्ने इतिहास पुरानो रहेको शाक्य सम्झाउँछन्। उनको तर्कमा तेह्रौं शताब्दीमा चीन गएका अरनिको नेपाली रेमिट्यान्स युगका अग्रदूत थिए।
शाक्यले एकातिर नेपालमा एक प्रतिशतभन्दा कम जनसंख्या पूँजीबजारमा सहभागी रहेको पक्षलाई उठाएका छन् भने अर्कोतिर विदेशी सहयोगमा हामी अचाक्ली भर पर्दैगर्दा त्यसले देखाएका गम्भीर आर्थिक असरहरुको पनि विश्लेषण गरेका छन्।