जाजरकोटका नवराज विकलाई सरकारले मरणोपरान्त पुरस्कार दिने भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता रूद्रसिंह तामाङले सोमबार जारी गरेको विज्ञप्तिमा जाजरकोटका नवराजलाई समाज सुधार अभियानतर्फ पुरस्कृत गर्ने निर्णय भएको हो।
आफ्नी प्रेमिकाको घर रूकुम पश्चिम चौरजहारी नगरपालिका वडा नम्बर ८ गएका नवराजसहित उनका ६ जना साथीको गाउँलेको कुटपिटबाट हालै मृत्यु भएको थियो।
नवराजलाई मन्त्रालयले २०७६ सालको भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कारका लागि छनोट गरिएको तामाङले निकालेको विज्ञप्तिमा उल्लेख छ।
यो पुरस्कारको राशी १ लाख रुपैयाँ रहेको छ।
समाज सुधार, सामाजिक न्याय, समता तथा दलित मुक्ति आन्दोलनमा योगदान गरेका भगत सर्वजित विश्वकर्माको कदरस्वरूप सरकारले २०७३ सालबाट यो पुरस्कार प्रदान गर्न थालेको थियो।
यो वर्ष समाज सुधारतर्फ नवराज विक, मानवअधिकारतर्फ तनहुँका त्रिभुवनचन्द्र वाग्ले र सीप, कला शिक्षा, साहित्य लेखन तथा अनुसन्धानतर्फ बाँकेका तिलक परियारलाई पुरस्कृत गर्ने निर्णय मन्त्रालयले गरेको हो।