विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबारको ‘बफर जोन’ मा निर्माणाधीन एउटा घरलाई मापदण्डविपरित भन्दै एक सय चार जनाले मुद्दा हालेका छन्।
हनुमानढोका दरबार हेरचाह अड्डाले सम्पदा क्षेत्रभित्र पर्ने उक्त घरमा रोक लगाए पनि निर्माण यथावत् रहेपछि बुधबार सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता गरिएको हो।
‘यो भवनले सम्पदा क्षेत्रको मापदण्ड मिचेर निर्माण जारी राखेको छ। अन्डरग्राउन्ड पनि पुरिएको छैन,’ सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठले सेतोपाटीसँग भने, ‘उनीहरूलाई सजग गराउन स्थानीयले कानुनी उपचारको बाटो समातेका हुन्।’
न्यूरोड, जुद्ध सालिकबाट वसन्तपुर दरबार क्षेत्र छिर्ने प्रवेशद्वारमै रहेको उक्त भवन २०७२ को भुइँचालोपछि महर्जन बिजनेस एसोसियट्स प्रालिले किनेको थियो। यो कम्पनीले काठमाडौं महानगरपालिकाबाट नक्सा पास गराएर कम्प्लेक्स बनाउन थालेको हो। नक्सा पास गर्दा महानगरबाट पनि बद्मासी भएको अभियन्ता श्रेष्ठ बताउँछन्।
उनका अनुसार महानगरले महर्जन बिजनेस एसोसिएट्सलाई अनुमति दिँदा एकै दिन दुई फरक आसयको चिठी दिएको थियो। एउटा चिठीमा सम्पदा क्षेत्रको मापदण्डबमोजिम घर बनाउन अनुमति दिइएको छ भने अर्कोमा ‘अन्डरग्राउन्ड’ पार्किङ बनाउने अनुमति दिइएको छ।
नेपालको प्राचीन स्मारक ऐन २०१३ अनुसार सम्पदा क्षेत्रमा भवन निर्माण गर्दा ३५ फिटभन्दा माथि जान पाइँदैन। भूमिगत संरचना पनि बनाउन पाइँदैन।
स्थानीयले विरोध गरेपछि पुरातत्व विभागको हनुमानढोका दरबार हेरचाह अड्डाले साउन २६ गते कम्पनीलाई अन्डरग्राउन्ड पुर्न निर्देशन दियो। पुरातत्वले घरधनी बोलाएर मापदण्डविपरित नजान कबुल गराएको थियो।
घरधनीले नक्सामा उल्लिखित अन्य डिजाइन पनि मिचेको छ। नक्सामा पेटीको उचाइ १ फिट ६ इन्च हुनुपर्नेमा १ फिट मात्र लगाएको छ। अन्डरग्राउन्ड तला बनाउन अनुमति नदिएकोमा ९ फिट ७ इन्चको बेसमेन्ट र ४ फिटको लिफ्टपिट रहेको पुरातत्वको प्रतिवेदनमा छ।
त्यस्तै, भवनको भुइँतलादेखि दोस्रो तल्लासम्मको उचाइ ७ फिट ७ इन्चको अनुमति दिइएको छ, जबकि यहाँ १० फिट ७ इन्च बनाइएको छ। मापदण्डविपरित निर्माण गरिएको यो भवनको उचाइ ३२ फिट ९ इन्च छ। यहाँभन्दा माथि तल्ला थप्ने अनुमति छैन। तै तल्ला थप्न डन्डी ठड्याएर राखिएको श्रेष्ठ बताउँछन्।
यसअघि पुरातत्वले पठाएको पत्रमा ‘भवन मापदण्डविपरित भएकाले कारण सम्पूर्ण निर्माण रोक्का राख्नू’ भनिएको थियो।
यही घरका कारण सन् २००३ मा युनेस्कोले हनुमानढोका दरबार क्षेत्रलाई खतराको सूचीमा राखेको थियो। त्यसपछि यसलाई विश्व सम्पदाको ‘कोर जोन’ बाट ‘बफर जोन’ मा राखिएको हो। पुरातात्विक मापदण्डविपरित निर्माण भएको भन्दै युनेस्कोले पुरातत्व विभागलाई सचेत गराएको थियो।
यो भवनभित्र सर्वसाधारणले पूजा गर्दै आएको गणेश र कुमारीको मन्दिर थियो। पुनर्निर्माण क्रममा मूर्ति जगेर्ना गर्न स्थानीयले आह्वान गरेका थिए। तर, मूर्ति भत्काइएको छ। मल्लकालिन राष्ट्रिय ढुकुटी पनि संकटमा पारिएको छ।
‘सम्पदाको महत्वलाई व्यापारिक प्रयोजन निम्ति घटाउँदै लाने हो भने राष्ट्रको गौरव र पहिचान धरापमा पर्ने सम्भावना छ,’ श्रेष्ठले भने, ‘यो भवनले सम्पदा क्षेत्रमा गलत नजिर कायम गर्छ।’
यो पनि हेर्नुहोस्