हनुमानढोका दरबार क्षेत्र, वसन्तपुरको एउटा घरविरुद्ध बुधबार १ सय ४ जनाले सर्वोच्च अदालतमा सामूहिक मुद्दा दायर गरे।
न्युरोडको जुद्ध सालिकबाट वसन्तपुर छिर्ने प्रवेशद्वारमै छ यो घर।
निर्माण क्रममा रहेको घर करिब एक वर्षदेखि विवादमा छ। यसलाई सम्पदा क्षेत्रको मापदण्ड मिचेको आरोप छ। पुरातत्व विभाग, हनुमानढोका दरबार हेरचाह अड्डा, काठमाडौं महानगरपालिका, महानगरीय प्रहरी लगायतले निर्माण रोक्न बारम्बार पत्र लेखेको छ।
घरधनीले भने टेरेको छैन।
सरोकारवाला निकाय र स्थानीयले रोक्न खोज्दा पनि निरन्तर बन्दै गरेको यो घरको कथा के हो?
यो घर भएको ठाउँमा सर्वसाधारणले पूजा गर्दै आएको मल्लकालीन कुमारी मन्दिर थियो।
कुमारी र महालक्ष्मी मन्दिरलाई मल्ल राजाहरूले विशेष महत्व दिएको पाइन्छ। परम्पराअनुसार महालक्ष्मी र कुमारी मन्दिर एउटै दिशामा स्थापना गरिन्छ। हनुमानढोका दरबार क्षेत्रमा पनि दुवै उही दिशामा छन्।
गौतम बज्राचार्य लिखित ‘हनुमानढोका राजदरबार’ मा उल्लेख भएअनुसार राजा जयस्थिति मल्ल आश्विनकृष्ण चतुदर्शीको दिन व्रत बस्ने गर्थे।
१९९० सालको भुइँचालोपछि काठमाडौं सहरको जीर्णोद्धार क्रममा यहाँ घर बनेको हो।
तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेरले नयाँ सडकको संरचना निर्माण गरेका थिए। उनले युरोपेली शैलीका घर निर्माण गराए। त्यतिबेला बनेका युरोपेली शैलीका केही घर जुद्धसडकमा अझै छन्।
कुमारी मन्दिरको ठाउँमा बनेको घर पनि युरोपेली शैलीकै थियो। सुरुमा राणाहरूकै स्वामित्वको यो घर पछि निजी स्वामित्वमा गयो। २०२४ सालतिर यसलाई आधुनिक शैलीमा पुनर्निर्माण गरियो। र, ‘क्रिस्टल होटल’ सञ्चालन गरियो।
त्यतिबेला यो होटल राजधानीकै सुविधासम्पन्न मानिन्थ्यो। होटल रहँदा भवन साढे पाँचतल्ले थियो।
मन्दिरको ठाउँमा घर बने पनि दर्शनार्थीहरूले बाटो पाएका थिए। क्रिस्टल होटलका सञ्चालकले कुमारी दर्शन गर्न जानेको निम्ति सानो बाटो बनाइदिएका थिए। नियमित पूजाआजा हुन्थ्यो।
२०७२ को भुइँचालोमा क्षति पुगेपछि महर्जन बिजनेस एसोसियट्स प्रालिले घर किनेर व्यावसायिक कम्प्लेक्स बनाउन थालेको छ। नयाँ घरधनीले मल्लकालदेखिको मन्दिर मात्र भत्काएनन्, अन्य सम्पदा मापदण्ड पनि मिचेको सम्पदा संरक्षणकर्मी बताउँछन्।
‘पुनर्निर्माण सुरु हुने बेला सर्वसाधारणले मन्दिर नभत्काउन आग्रह गरेका थिए,’ पुरातत्वविद् विष्णुराज कार्कीले भने, ‘त्यसको बेवास्ता गरी व्यावसायिक प्रयोजनका लागि पुरातात्विक महत्वको संरचना मासिएको छ।’
यो घर विश्वसम्पदा सूचीकृत हनुमानढोका क्षेत्रको ‘बफर जोन’ मा पर्छ। शिक्षा तथा संस्कृति मन्त्रालयले २०४४ सालमा हनुमानढोका क्षेत्रको चार किल्ला प्रमाणित गरी राजपत्रमा सूचना निकालेको थियो। वसन्तपुरका संरक्षित क्षेत्रहरु यही चार किल्लाभित्र पर्छन्। यो घर त्यसैमध्ये एक हो। यहाँ कुनै पनि संरचना बनाउँदा सम्पदा क्षेत्रको मापदण्ड पूरा गर्नुपर्छ।
२०६४ सालको मापदण्डअनुसार ३५ फिटभन्दा अग्लो बनाउन पाइँदैन। केही पुराना र कलात्मक घरलाई ‘वर्गीकृत भवन’ को सूचीमा राखिएको छ। त्यस्ता घर पुरानै शैलीमा पुनर्निर्माण गरिनुपर्छ।
यो घर भने २०२४ सालमै युरोपेली शैलीमा ढालिएकाले वर्गीकृतको सूचीमा पर्दैन। विश्वसम्पदा क्षेत्रभित्र पर्ने यो घरको निम्ति सम्पदा क्षेत्रका अन्य मापदण्ड भने लागु हुन्छन्। जसअनुसार यस्ता घर पुनर्निर्माण गर्दा गहिरो जग खन्न पाइँदैन। भूमिगत तल्ला पनि बनाउन पाइँदैन।
मल्लकालीन इतिहास बोकेको हनुमानढोका क्षेत्रमा जमिनको सतहमुनि पुरातात्विक अवशेष हुन सक्छन्। ती अवशेष नमासिऊन् भनेर यस्तो मापदण्ड बनाइएको हो। यी घरधनीले भने बारम्बार सम्झाउँदा पनि मापदण्ड पालना गरेको छैन।
यहाँ जमिनको सतहभन्दा २० फिटमुनिसम्म खनिएको छ। भूमिगत तल्ला पनि बनाइएको छ।
मापदण्ड मिचेर गरिएका यी निर्माणले वरपरका ढुंगेधारा, इनार लगायत संरचना विनाश हुने पुरातत्वविद् प्राध्यापक सुदर्शनराज तिवारी बताउँछन्।
‘मल्लकालीन ढुंगेधारा र इनारहरू भूमिगत पानीको बहावमा आधारित हुन्छन्,’ उनले भने, ‘कसैले घर बनाउन धेरै गहिरो खन्यो भने त्यो बहाव टुट्न सक्छ।’
यति मात्र होइन, यो घरसँगै राणाकालीन भण्डारखाल ढुकुटी छ। त्यसमा सुनका भाँडा, बहुमूल्य पत्थर, सुनका ढिक्का लगायत पुरातात्विक सामग्री संरक्षित छन्।
यस्तो ठाउँमा खन्दा थप पुरातात्विक सामग्री, सिक्का र कलाकृति फेला पर्न सक्ने इतिहासविद् बताउँछन्। त्यसैले संसारभरि विश्वसम्पदा क्षेत्रमा खन्दा पुरातत्व विभागका प्रतिनिधिको अनुगमन र निगरानी हुनु अनिवार्य छ। यहाँ भने निर्माण क्षेत्रमा कसैलाई छिर्नसम्म दिइँदैन।
सम्बन्धित निकायहरुले रोक्न निर्देशन दिँदादिँदै कार्यान्वयन नहुनुमा प्रहरी र प्रशासनको भूमिका शंकास्पद रहेको सम्पदा संरक्षण अभियन्ता गणपतिलाल श्रेष्ठ बताउँछन्। यो कम्प्लेक्स जहाँ बन्दैछ, त्यसको ठिक अगाडि जनसेवा प्रहरी कार्यालय छ।
कम्पनीले सुरुमा पुनर्निर्माण गर्दा सबै मापदण्ड पालना गर्ने कबुलेको थियो। निर्माण क्रममा हाकाहाकी मिचेको हो। यसमा काठमाडौं महानगरपालिकाको पनि ‘बद्मासी’ रहेको श्रेष्ठको आरोप छ।
पुरातत्व विभागको स्वीकृतिमा काठमाडौं महानगरपालिकामा नक्सा पास गरेरै यो भवन बनाउन थालिएको हो। महानगरले घर बनाउने अनुमति दिँदा एकैदिन दुई फरक आसयको चिठी दिएको थियो। एउटा चिठीमा सम्पदा क्षेत्रको मापदण्ड पालना गर्दै घर बनाउन अनुमति दिइएको छ भने अर्कोमा भूमिगत पार्किङसमेत बनाउने अनुमति दिइएको छ।
‘बद्नियतपूर्ण’ यही अनुमतिका आधारमा कम्पनीले ९ फिट ७ इन्चको भूमिगत तल्ला बनाएको श्रेष्ठले बताए।
स्थानीयको विरोधपछि हनुमानढोका दरबार हेरचाह अड्डाले साउन २६ गते कम्पनीलाई भूमिगत तल्ला पुर्न निर्देशन दियो। पुरातत्वले घरधनीलाई बोलाएर मापदण्डविपरित नजान कबुल पनि गरायो। अहिलेसम्म भूमिगत तल्ला पुरिएको भने छैन।
घरधनीले नक्सामा उल्लिखित अन्य डिजाइन पनि मिचेको छ। नक्साअनुसार पेटीको उचाइ १ फिट ६ इन्च हुनुपर्नेमा १ फिट मात्र छ।
मापदण्डअनुसार ३५ फिटभन्दा अग्लो बनाउन नपाइने नियम छ। भवनको भुइँतलादेखि दोस्रो तल्ला बनिसकेका छन्, जुन १० फिट ७ इन्चको छ। यसको उचाइ अहिले नै ३२ फिट ९ इन्च भइसकेको छ। अब योभन्दा अग्लो बनाउन पाइँदैन। तर एक तल्ला थप्न डन्डी ठड्याएर तम्तयार राखिएको छ।
यही घरका कारण सन् २००३ मा युनेस्कोले हनुमानढोका दरबार क्षेत्रलाई खतरा सूचीमा राखेको थियो। पुरातात्विक मापदण्डविपरित निर्माण भएको भन्दै युनेस्कोले पुरातत्व विभागलाई सचेत गराएको थियो।
त्यसपछि सन् २००७ मा पुरातत्वले हनुमानढोकालाई विश्व सम्पदाको ‘कोर जोन’ बाट ‘बफर जोन’ मा राख्यो। ‘बफर जोन’ को नीतिअनुसार सम्पदामैत्री भवन निर्माण गर्न छुट्टै मापदण्ड तयार गरियो।
‘अहिले आएर यही घर पुनर्निर्माण क्रममा मापदण्ड उल्लंघन हुनु उदेकलाग्दो छ,’ अभियन्ता श्रेष्ठले भने, ‘यो निर्माण नरोकिए हनुमानढोका क्षेत्र विश्वसम्पदा सूचीबाट हट्न सक्छ।’
सबभन्दा चुनौतीपूर्ण त, सरकारले पटक–पटक कोशिस गर्दा पनि रोक्न नसकेको यही घर देखाएर वसन्तपुर क्षेत्रमा मापदण्डविपरित अन्य संरचना बन्न थालेका छन्।
‘यसलाई नरोक्ने हो भने भविष्यमा गलत नजिर बस्नेछ। यहाँका पुरातात्विक र साँस्कृतिक अवशेषहरू मासिनेछन्,’ उनले भने।
सबै तस्बिरहरूः नारायण महर्जन