इनबक्समा नयाँ मेल देखियो। खोलेर हेरें। धेरै पछि के सुर चलेर हो आभाले मेल पठाएकी थिई।
हेलो मिस्टर पत्रकार, सञ्चै छौ?
कस्तो भयो नि यो पालि तिम्रो दशैं? हेर न, मैले त पोहोर सालको सम्झनामा बिताएँ। तिम्रो घर गएको, दशैं मनाएको यति धेरै सम्झना आयो कि मन थाम्न सकिनँ। अनि मेल लेखेकी।
अँ साँच्ची अचेल मलाई यता खुब रमाइलो लाग्न थालेको छ। कसैको टेन्सन छैन, कुनै कुराको अभाव छैन। स्वतन्त्र जता मन लाग्यो जाऊ, चाहेजसरी बाँच। कसैलाई कसैको कुरा काट्ने फुर्सद छैन। सबैको आ–आफ्नै संसार।
तर मेरो यो संसारमा तिमी छैनौ। त्यही भएर कहिलेकाहीँ सबथोक भइकन पनि जीवन अनिलो लाग्छ। बरु तिमी पनि आऊ यतै।
बर्खामा हिलो, घाम लाग्दा धुलो सहँदै कति दिन दौडिन्छौ काठमाडौंका सडक। तिमीले नेपालको पत्रकारिता छोडे पनि आकाश खस्दैन। कतिले छोडेर आएका छन्। एकबारको जुनी सुखसँग बिताउँला।
यता आएर काम पाएनौं भने आफ्नो लोग्नेलाई त म पनि पाल्न सक्छु अमेरिकामा।
...
पोहोर साल दशैंमा लागेको मेरो दशा यो साल पनि सकिएन। यो पालि म दशैंमा एक्लै घर गएँ। तर दशा सँगै गएको रहेछ।
गाउँका सबै भर्खर बिहे गरेकी दुलहीलाई कहाँ पठायो भनेर आश्चार्यमा थिए। माइत जानु प¥यो भने लोग्ने चाहिने गाउँकी बुहारी एक्लै कहाँ गई, गई? ‘कस्ति सोमत नभएकी आइमाई रैछे।’ गाउँभरिका आइमाईले आफ्नी बुहारीको कुरा काटेको देखेर आमालाई तनाव थियो।
दशैंको शुभकामनाभन्दा मलाई भेट्ने जति सबैलाई बुहारी बाहिर किन पठाएको भन्ने स्पष्टिकरण चाहिएको थियो। केही दिनपछि उनीहरूले मलाई सोध्न छोडे तर कुरा काट्न छोडेनन्।
नातागोता आफन्तका नजरमा मैले गर्नै नहुने काम गरें।
सबैजना भन्थे– आइमाई मान्छे लोग्नेमान्छे जस्ता हुन् र। जहाँ मन लाग्यो त्यही जान।
शास्त्रमा लेखेको छ– कलियुग लाग्यो भने घरमा महिलाहरु जान्ने हुनेछन्। सबै काममा अगाडि सर्नेछन्। कलियुग भन्या यस्तै रहेछ। पहिला पहिला लोग्ने मान्छे देश परदेश जान्थे अहिले आइमाई परदेश जाने लोग्ने घरमै बस्ने भएछन्। त्यो भानेकी स्वास्नी त अम्रिका गई रे एक्लै।
उनीहरुले मलाई यति घृणा गर्थे कि मेरो नाम बिगारेर भाने बनाइसकेका थिए।
कलियुगका बारेमा वर्णन गरिएको त्यो शास्त्र मैले पढेकै थिइन्। त्यो मात्र किन मैले अरु कुनै शास्त्र पनि त पढेको छैन। कलियुग भन्या के रैछ भनेर मैले घरमा भएका धार्मिक किताब पल्टाएँ।
स्वस्थानी व्रत कथा पनि पढें। कुमारजीले अगस्तमुनिलाई कहेको कथा पढेर म अचम्ममा परें। आभा कहिल्यै यस्तो व्रत बसेकी छैन । अनि उसले सोचेको कसरी पुरा होला? त्यसले कसरी सुख पाउली यो जुनीमा अनि अर्को जुनीमा।
अचेल आभाजस्ता महिलाहरूलाई धर्मकर्म, व्रत, पूजा, परिवारभन्दा बढी स्वतन्त्रता चाहिएको छ। जे मनमा आयो त्यो गर्न पाउनु पर्ने स्वतन्त्रता। मलाई लाग्यो– हो रैछ, कलियुग सबैतिर छाइसकेछ।
....
काठमाडौं हिँड्ने अघिल्लो साँझ आमालाई भने– त्यो लिम्बूनीलाई अब म छोडिदिन्छु।
आमाले मलाई एकोहोरो हेर्नुभयो– बुहारी पढेको त राम्रो नि। उतिबेला पढ्न नपाएर हाम्रो जुनी यसरी बित्यो। ऊ राम्ररी पढी, देश दुनियाँ देखी भने राम्रै गर्ली। ऊ पनि त मान्छे हो। उमेर बढ्दै गए चेतकान बस्दै जान्छन्।
‘गाउँभरिकाले मलाई गाली गरिसके। मै नराम्रो भन्छन् ऊ आफैं गएकी हो मैले पठाएको पनि होइन’, मैले गुनासो गरें।
घरबाट हिँड्ने बेलामा मैले आमालाई भने– कसैले तपाईँसँग बुहारीका बारेमा कुरा गरे भन्दिनु, अब मेरो छोराले अर्की राम्री बुहारी ल्याउँछ, त्यो पोहोर साल घर आएकीलाई छोडिदियो।
आमाले उल्टै मलाई हप्कानुभयो– बुहारीले नराम्रो गरेकी छैन। केही नभनेस् बुहारीलाई।
म केही नबोली घरबाट हिँडें। बुहारी आमालाई त भित्रभित्रै मन परेकी रैछ। तर मलाई ऊ मन परिरहेकी थिइन्। लाग्थ्यो, ऊ अमेरिकाबाट फर्किन्न। उतै ग्रिनकार्ड लिएर बस्छे। नभन्दै उसले मलाईसमेत उतै बोलाई हाली।
उसको मेलले भाउन्न भयो। अब केही नभएर स्वास्नीको कमाइ खान म जाउँला र!
‘आफ्नो लोग्ने त म पनि पाल्न सक्छु’ यो वाक्यले पारो तात्यो।
‘कलियुग लागेपछि यस्तै हो। लोग्नेको घरमा बुढा भएका सासू ससुराको सेवा गर्नु, पूजा गर्नु, व्रत बस्नु त कता हो कता उल्टै मलाई त्यहाँ बोलाउँछौ।
मलाई थाहा छैन र, तिमीले स्वर्ग ठानेको त्यो पाताल देशमा दौडिरहेको रेलमा बर्गर टोक्दै पेट भर्नुपर्छ। दौडिरहेको रेलमा बर्गर अनि कोठामा आउँदा फ्रिजको बासी भात खानुभन्दा मलाई यतैको धुलो ठीक छ। कम्तिमा याँ टन्न भात खाएसी मजाले डकार्न पाइन्छ। चिया पसलमा एक डेढ घण्टा गफ चुट्न पाइन्छ। कस्सम बरु गाउँमा गएर हलो जोत्छु, स्वास्नीको कमाइ खाएर त बाँच्दिनँ।
शास्त्रमा लेख्या छ रे– कलियुगमा महिलाहरू जान्ने हुनेछन्। तिमीले साँचो सावित गरिदियौ। बढी जान्ने बनेकाले तिमीले अर्को जुनीमा समेत दुःख पाउने भयौ। बेलैमा विचार गर, पढाइ सकेपछि नेपाल आऊ।
पूजा गर, व्रत बस। अहिलेसम्म गरेको पाप के थाहा पखालिन सक्छ।
तिमीले अमेरिकामा मलाई तेस्रो देशको आप्रवासी कामदार बनाएर पाल्ने हो। बरु नेपाल आऊ म तिमीलाई महारानी जस्ती बनाएर राख्छु।’
यति लेखिसकेपछि मन अलिकति हलुंगो भयो। तर तनाव हटेन।
अर्को दिन उसले रिप्लाई पठाई।
मिस्टर पत्रकार, तिमी कन्जरभेटिभ, फोहोरी र अल्छी त थियौ नै साह्रै ढोंगी पनि रहेछौ । तिमीले युनिभर्सिटीमा अंग्रेजी पढ्यौ। पश्चिमा दर्शन र साहित्य पढ्यौ। स्वतन्त्रता पढ्यौ, समानता पढ्यौ। भन्नलाई भन्छौ–मान्छे सबै बराबर हुन्। अनि फेरि कलियुगको आड लिएर कसरी गाली गर्छौ है हामीलाई। आफूलाई समानताको पक्षपाती भन्ने तिमी ढोंगी हौ।
धेरै महिला बसे स्वस्थानी व्रत। धेरै आमा हजुरआमाले खाए पतिका पाउ धोएर पानी। कोही अझै पनि खाइरहेका होलान्। तीमध्ये कतिले कमाए पुण्य, कतिको पुरा भयो मनोकामना? हिसाब न तिमीलाई थाहा छ न मलाई। म बस्दिनँ स्वस्थानी व्रत, धुन्न तिम्रा पाउ। मलाई यही जुनी काफी छ, थाहै नहुने त्यो अर्को जुनीको के पीर। तिमीले देखेका छौ र अर्को जुनी?
तिमीहरू उहिलेदेखि आजसम्म कहाँ कहाँ गयौ। न सत्ययुगले रोक्यो न त्रेतायुगले रोक्यो न द्वापरयुगले रोक्यो न त तिम्रो कलियुगले नै रोकेको छ। हामी कोही बाध्यताले कोही रहरले परदेश पस्दा कली बौलायो भन्छौ।
हामी विदेशिनुमा कली बौलाउनुभन्दा धेरै आवश्यकता बौलाएको छ, बाध्यता बौलाएको छ। मिस्टर पत्रकार, तिमी आफूलाई सबथोक जान्ने सम्झिन्छौ तर खै त यत्ति कुरा बुझेको? तिमीसँग कसरी काट्ने होला यति लामो जिन्दगी?
अलिकति हलुंगो भएको मन उसका प्रश्नले फेरि भारी बनाइदियो– साँच्ची कसरी काट्ने होला यस्तीसँग आगो र पानी बनेर यति लामो जिन्दगी?
@bhanubhkta567
यी पनि पढ्नुहोस्ः
झ्यालतिरकी युवती
तिमी मर्द होइनौ र
हनिमुन
दुरी