फेसबुकको नोटिफिकन पिलिक्क बल्यो।
क्लिक गरें। 'आभा लिम्बू ट्याग्ड यु इन अ नोटिफिकेसन' भन्यो।
सात समुन्द्र पारि पुगेकी उसले धेरैपछि मलाई किन नोट गरिछे? खुलदुली लाग्यो। त्यसैमा चोर औंलाले माउस दबाएँ।
एउटा युवकलाई अंगालो हालेर उसले सेल्फी खिचेकी थिई र तस्बिर बारे लेखेकी थिई– विथ माई न्यू ब्वाइफ्रेण्ड।
कस्ती केटी रैछे, नयाँ ब्वाइफ्रेन्डसँग मलाई किन ट्याग गरेकी होली? फोटो हेरेपछि हाँसो उठ्यो। रिस पनि उठ्यो– नयाँ ब्वाइफ्रेन्ड बनाएँ भनेर किन दुनियाँलाई भनेकी होली? फोटोमा पछाडि फर्केकाले केटो काले होकि गोरे होे छुट्याउन सकिनँ। फोटो हेर्दाहेर्दै मन चिसो भयो।
च्याट अन गरें। उसको नाममा हरियो बलेको थियो। म्यासेज गरिहालें– यो के नौटंकी गरेको?
'हल्का रमाइलो।' उस्ले स्टिकर पठाएर भनी।
'तर...' म लेख्दै थिएँ।
उसले लेखी– तिमी धेरै टाढा छौ, यो बिरानो शहरमा मैले मन बुझाउन एक ब्वाइफ्रेन्ड बनाएँ। के मैले गल्ती गरें?
‘ब्वाइफ्रेन्ड फेर्दै हिँड्नुभन्दा बरु बेश्या बन।’
यति लेखेर मैले ल्यापटपको पावर बटन एकछिनसम्म बेस्सरी थिचें। दिमाग भनन घुम्यो।
मैले उसका बारेमा लेख्न छोडिसकेको थिएँ र विस्तारै सोच्न पनि। तर त्यो दिन उसले मेरो दिमाग घुमाइदिएकी थिई। ‘तिमी धेरै टाढा छौ, यो बिरानो शहरमा मन बुझाउन एक ब्वाइफ्रेन्ड बनाएँ। के मैले गल्ती गरें?’ उसको वाक्य सम्झीसम्झी मेरो रिसको पारो चढ्न थाल्यो।
ल्यापटप फेरि अन गरें। फेसबुक हेरें। उसले केही रिप्लाई दिएकी थिइन।
मनभरि उकुसमुकुस भएका कुरा उसलाई लेखेर पठाइदिएँ– छोरीमान्छे दाजुभाइ घरमा सुतेको बेला राति भागेर पोइल जान्छन्। स्कुलमा, कलेजमा, बाटोमा, चोकमा, गल्लीमा जताततै नखरा पार्दै हिँडछन्। आँखै अगाडि चरित्र फेर्छन्।
तिमी त मदेखि धेरै टाढा छौं। जे मन लाग्छ त्यही गर। तिमी सति सावित्री फर्किन्छौ भन्ने मलाई पटक्कै विश्वास छैन। त्यसैले मलाई तिम्रो कुनै मतलब पनि छैन। तिम्रा बारेमा लेख्न, तिम्रा बारेमा सोच्न त मैले छोडिसकेको थिएँ, अब तिमीलाई फेसबुकबाट पनि ब्लक गर्दिन्छु। तिमीजस्ताको संगत गर्नुभन्दा बरु एक्लै बसेको जाति। खुट्टा भए जुत्ता जत्ति नि पाइन्छन्।
फेसबुक सर्चमा गएर आभा लिम्बू टाइप गरें। ब्लकमा क्लिक गरें। फेसबुकले सोध्यो– साँच्चै ब्लक गर्छस्। मैले सोच्दै नसोची कन्फर्म गरिदिएँ। ठूलै बोझ बिसाए जस्तो भयो।
अर्कोदिन अफिस पुग्दा मेरो भावभंगी बेग्लै थियो। जिन्दगीमा लफडा पनि के के आइलाग्छन्। तनावले च्यापिएको थिएँ म।
जिमेल प्रायः अफिस पुगेपछि मात्र खोल्छु। जिमेलमा एउटा नयाँ इमेल थियो। त्यो पनि आभा लिम्बूको। लेखेकी थिई– इट्स अबाउट माई न्यू ब्वाइफ्रेन्ड।
तनावमा झन तनाव थपियो। पढ्दै नपढी डिलिट गर्दिउँ झैं पनि लाग्यो। तर मन थाम्न सकिनँ–जे लेखेकी भएपनि एक पटक पढौं न भनेर उसको इमेलमा क्लिक गरें।
कति सजिलै भनिदियौ तिमीले– ब्वाइफ्रेन्ड बदल्नुभन्दा बरु वेश्या बन। त्यत्रो सुझाव दिनु अघि एकपटक सोध्ने हिम्मत गरेनौं उ को हो भनेर। तिमी पुरुषहरु कति कायर हुन्छौ है। हुन त तिम्रो जातिमा नै त्यो हिम्मत छैन।
हामी नारीहरु पो कोही घरवाली सहन्छौं। कोही बाहरवाली बन्दा पनि सहन्छौं। कोही सौता सहन्छौं। तर तिमीहरुसँग अरुले आफ्नी पत्नी वा प्रेमिकालाई एक पल हेरेको पनि सहन सक्ने ताकत छैन। प्रेमिका वा पत्नीले कसैलाई हेर्नु त धेरै परको कुरा भैगयो। पैतलाको धुलो सम्झिन्छौ हामीलाई। दबाउन खोज्छौ कहिले केही बहानामा कहिले केही बहानामा।
तिमीले सोधेनौ उ को हो भनेर? म आफैं भन्छु। उ तिमीजस्तै छ। हरबखत उसको कानमा एअर फोन हुन्छ, खै के सुन्छ। उ हलचल गर्दैन, केवल उभिरहन्छ। बिहान उठ्छु। उ मलाई हेरिरहेको हुन्छ। साँझ म ओछ्यानमा सिरक ओढेर गुटुमुटु हुँदा पनि उभिएर उसैगरि हेरिरहन्छ। म उसलाई बोलाउँछु– आउ सँगै सुतौं। तर उ आउँदैन।
कहिलेकाँही जाँगर चल्यो भने बिहान पूजा गर्छु, पहिला टिका उसैलाई लाइदिन्छु। कहिलेकाँही उसलाई बेस्सरी अगाँल्छु, कहिलेकाँही चुम्मा खाइदिन्छु, मेरो लिपिस्टिकको छाप उसको ओठमा बस्छ। तर उ प्रतिक्रिया जनाउँदैन। उ त मौन बनेर मलाई एकोहोरो हेरिरहन्छ।
तिमी जत्रै अग्लो छ। तिम्रा जस्तै लुगा लगाइदिएकी छु। घरिघरि जिस्काउँछु – मिस्टर पत्रकार, किन नबोली बसेको? भनन म त साह्रै कन्जरभेटिभ छु, कलेजतिर काले केटाहरुलाई साइड नमार्नु।
उसले जवाफ फर्काउँदैन। म एक्लै हाँस्छु।
कहीँ बाहिर जानुपर्दा उससँग अनुमति माग्छु– म एकछिन गएर आइहाल्छु है।
तिमी मलाई कहिल्यै म्यासेज गर्दैनौ। पैसा खर्च गरेर फोन गर्छौ भन्ने त मैले आश पनि गर्दिनँ। बेला बेलामा नियास्रो लाग्छ। नेपाल बस्दा अलिकति जोडिएको नाता तिमीसँग हो तिम्रो परिवारसँग हो, तिम्रो गाउँसँग हो। त्यही यादको फेरो बन्छ मुटुमा। एक्लोपन हुँदा सताउँछ यादले। सायद नेपालमै भए यति धेरै नियास्रो लाग्दैनथ्यो होला।
अस्ति भर्खर भ्यालेन्टाइन डे गयो। अघिपछि नगरेपनि त्यो दिन त तिमीले कल, म्यासेज केही गर्छौ भन्ने कत्रो आशा थियो तर तिमीले मलाई वास्तै गरेनौं। मेरो तिम्रोजस्तो ढुंगाको मन छैन। त्यो दिन मन थाम्न सकिनँ, बजार गएर यो डमी किनें। तिमीले जेसुकै गरेपनि आखिर दुई वर्षपछि त म फर्कन्छु, त्यतिञ्जेल मन अन्तै नमोडियोस् भनेर मैले उसलाई तिम्रो प्रतिमा बनाएर राखेकी छु।
बानी पारिरहेकी थिएँ आफूलाई तिमीसँग अभ्यस्त हुन। तर तिमीले कति सजिलै भनिदियौं– बरु वेश्या बन।
जापान पढ्न गएकी, कोरियाको कम्पनीका काम गरिरहेकी, अष्ट्रेलियामा नर्स बनेकी, साउदी अरब र इजरायलमा हाउसमेडको काम गरिरहेकी, युरोपका शहरमा भविष्य खोजिरहेकी वा मजस्तै अमेरिकामा कसैलाई सम्झँदै बस्ने नेपाली दिदीबहिनीका आमा बुवा दाजुभाइ, प्रेमी र लोग्नेले तिमीले झैंं तिनलाई सरापे भने उनीहरु के गर्लान्? तिनीहरुको चरित्रमाथि औंलो उठाइरहे भने उनीहरु कसरी सहलान्? तिनीहरुको आचरणलाई शंकैशंकाले घेरे भने उनीहरु कसरी बाँच्लान्? दिमागभरि प्रश्न थुप्रिएका छन्।
तिमी आफूलाई खुब जान्ने सम्झिन्छौं। संसार बुझेको घमण्ड पालेका छौ तर अरुको भावनाको यति पनि ख्याल गर्दैनौ। अब तिमी नै भन मिस्टर पत्रकार, म वेश्या बनुँ या यही ब्वाइफ्रेन्डसँग बसु?
उसको इमेलले मन भारी भयो। आँखा रसाए। आफैंलाई कोतरौ झैं रिस उठ्यो। जिन्दगीमा पहिलो पटक कसैको मन दुखाएकोमा छाति भतभती पोल्यो। लाग्यो–संसारको सबैभन्दा तुच्छ म नै रैछु।
मैले उसलाई १००० शब्दको इमेल लेखें। इमेल भरि एउटै शब्द थियो– सरी।
फेसबुकमा उस्लाई अनब्लक गरेर फ्रेन्ड रिक्वेस्ट पठाएँ। धेरै दिन भइसक्यो उसले मेरो इमेलको जवाफ फर्काएकी छैन।
अचेल हरबखत मानसपटलमा उ घुमिरहन्छ। सोच्दा सोच्दै बेलाबेलामा एक्लै हाँस्छु– उसको त्यो नयाँ ब्वाइफ्रेन्ड सम्झेर।