हेलो मिस्टर पत्रकार, सञ्चै छौ?
क्याफेको गेटमा गुलाबी रङको स्कुटर रोकेर उसले मलाई हात हल्लाई।
साढे चार बजे आउँछु भनेकी थिई। घडीको सुई साढे पाँचमा पुगेपछि मात्र उ देखिई। कुर्दाकुर्दै मलाई वाक्क लागेको थियो। अलिअलि रिस पनि उठ्यो।
उसले घाँटीमा बेरेको मफलर निकाली। आँखाको गगल्स कपालमा पुर्याई। छेउको डस्टबिनमा चुइगम थुकी। टेबलमा झोला राखेर भनी – सरी ल म अलि ढिला भएँ।
मैले त्यतिञ्जेल केही बोलिनँ। के खान्छौ भनेर एकफेर मलाई नसोधी दुई कप मिल्क कफी अर्डर गरी।
आफूले दसैंमा सुर्खेतसम्म पुगेर गरेका रमाइला अनुभवबारे साथीहरुलाई भन्दा उनीहरुले जिब्रो टोकेको कुरा निकाली। उसले कसरी त्यसो गर्न सकी भनेर उसका साथीहरु आश्चार्यमा परेको बताई–तिनीहरुलाई के थाहा म कति स्मार्ट छु भनेर।’
सबै सुनिसकेपछि उसका कुरालाई वास्तै नगरी मैले सोधें, ‘आमाले तिहारमा तिमीलाई घर बोलाउनु भएको छ, माइती जाने कि सुर्खेत जाने?’
तिमी जाने भए पाँचथर जाने हो नत्र काठमाडौंमै बस्ने। जिपको छतमा चढेर, त्यत्रो दुःख गरेर को जान्छ तिम्रो गाउँ।
वेटरले विल ल्यायो। उसले झोलाबाट पर्स निकाली।
खल्तीबाट पैसा निकाल्दै मैले भनें, ‘हाम्रोतिर स्वास्नीलाई पैसा तिराउने चलन छैन।’
उसले ठूल्ठूला आँखाले मलाई हेरी। अनुहार रातोपिरो बनाई। एक घण्टा कुराएको रिस मलाई अझै मरेको थिएन। पैसा तिरेर उसलाई बाइ भनेर म क्याफेबाट निस्किएँ।
झमक्कै अध्याँरो भइसकेको थियो। झम्सिखेलबाट कीर्तिपुरका लागि पैदल सडक नाप्न थालेँ। केही पर पुगेपछि बेस्सरी स्कुटरको हर्न बज्यो। म रोकिएँ। उस्ले मेरो अगाडि घ्याच्च स्कुटर रोकेर भनी– आउ बस म पुर्याइदिन्छु।
‘हाम्रोतिर स्वास्नीले चलाएको सवारीमा चढ्दैनन्’ मैले भने।
उसले केही बोलिनँ। हेल्मेट फुकाल्दै पछाडितिर सरी।
मैले स्कुटरको एक्सिलेटर बटारेँ। कीर्तिपुर पुगुञ्जेल हामीबीच बोलचाल भएन।
कोठा लिएको घरको गेटमा पुगेपछि मैले टाउकोबाट हेल्मेट निकाल्दै भनेँ– स्कुटर राम्रो रैछ। त्यतिञ्जेल रिसको पारो झरिसकेको थियो।
उसले प्रतिक्रिया जनाइन। हेल्मेट लगाउन खोजी।
‘लोग्नेको कोठा हो, हेरेर जाऊ’, मैले भनें।
ऊ मेरो पछिपछि लागी।
भान्छामा बाटाभरि जुठा भाडा भरिएका थिए। टोकरीमा केही सडिसकेका तरकारी थिए। कोठाभित्र पस्नासाथ उसले चोर औला र बुढी औंलाले नाक थुनी।
सुत्ने कोठामा ओछ्यान पनि मिलाएको थिएन। बिहान उठेकै हालतमा सिरक डसना थिए। हप्ताभरी लगाएका कपडापनि उल्टासुल्टा बनाएर ह्यांगरमा थिए। कुर्सी देखाउँदै भनें– बस म खाना पकाउँछु।
भैगो मलाई हतार छ भनेर ऊ निस्की। मैले बस्न कर गरिनँ।
दिउँसो एक प्लेट मःम खाएको सम्झिएँ, त्यतिभए जुठा भाडा माझेर कसले भात पकाइरहोस्। हातखुट्टा धोइवरी ओछ्यानमा पल्टेर ल्यापटप अन गरेँ।
एकछिनपछि मेसेन्जरमा आभा लिम्बूको सन्देश आयो– मिस्टर पत्रकार, तिमी कन्जरभेटिभ त छौ नै साह्रै फोहोरी पनि रै’छौ।
***
‘हाम्रोतिर लोग्नेको नाम काढ्दैनन्’ खाना खाने बेला मैले भनें।
‘ह्या के फरक पर्छ र?’ उसले भनी ‘फेरि मैले कहिले तिम्रो नाम काढेकी छु र?’
‘मेरा कुनैपनि साथीकी श्रीमतीले लोग्नेलाई हेलो मिस्टर मास्टर, दुकानदार, डाक्टर, खरदार, सुबेदार, पत्रकार भनेर बोलाउँदैनन्’, मैले भनें ‘तिनीहरुका अगाडि तिमीले मिस्टर पत्रकार भनेर बोलायौ भने मलाई जोइटिंग्रे भन्दैनन्।’
ऊ मौन रही। मैले थपें– आफ्नो लोग्नेलाई तपाईँ, हजुर, उहाँ भनेको कति राम्रो सुनिन्छ। अझ हाम्रोतिर त लोग्नेको नाम आउने शब्द भन्नु पर्यो भने पनि त्यो शब्द उच्चारण नगरिकनै काम चलाउँछन्।
‘तिमी साह्रै कन्जरभेटिभ छौ क्या’ उसले भनी ‘नचाहिने कुरा नगर, बरु छिटो खाना खाएर अफिस जाऊ।’
प्या...प्या... बेस्सरी बजेको हर्नको आवाजले मेरा आँखा खुलेका थिए। पर्दा खोलेर झ्यालबाट चियाउँदा गेटमा ऊ उही गुलाबी स्कुटरमा उभिएर कोठाको झ्यालतिर हेर्दै हर्नको बटन दबाइरहेकी थिई। घरका अरु सबै कोठामा ताला लागेको थियो। मैले नै गेट खोलिदिएँ। स्कुटरको स्टान्ड लगाउँदै उस्ले भनी – मिस्टर पत्रकार, तिमी कन्जरभेटिभ र फोहोरी त छौ नै साह्रै अल्छी पनि रै’छौ। सात बजेसम्म पनि कोही सुत्छ।
मैले कुनै जवाफ फर्काइन्। राति २ बजेसम्म फिल्म हेरेकाले मेरा आँखा पोलिरहेका थिए। बस्दै गर भनेर म फेरि ओछ्यानमा पल्टिएँ।
‘मिस्टर पत्रकार, खाना तयार भयो’ उसले मलाई हल्लाएपछि मात्र म ब्युझेँ। खाना खान बस्दा म छक्क परेँ। भान्छा यति सफा राख्न सकिन्छ भन्ने मैले कहिल्यै सोचेको पनि थिइनँ। उसले खाना पस्की। कहिलेकाँही मैले पकाउने चामलकै भात उसले के गरी पकाई स्वादै अर्को थियो।
उसले कम मैलिएको मेरो एक जोर सर्ट पाइन्टमा आइरन लगाई। लुगा लगाएपछि पाइन्टभित्र हालेको सर्ट र कलर पनि मिलाई। जुत्तामा पालिस लाएर टलक्क टल्काई। जेल लगाएर कपाल ठाडा पारेपछि ऐना देखाएर भनी– ह्याण्डसम भएनौ त?
‘आज बाटोमा कति केटीले साइड हानौं?’ मैले भनें ‘नत्र त ह्याण्डसम भएको कामै लागेन।’
‘बदमास’ उसले भनी ‘अब मेरो अफिस विदा भइसक्यो, स्कुटर लिएर जाउँ, साँझ छिटो आउनु नि। मैले ब्ल्याकमा किनेर फुल ट्यांकी तेल हालेकी छु। तिम्रो छुट्टीको दिन नजिकै कतै घुम्न जाउँला। बिहान जाने साँझ फर्किहाल्ने।
मैले उसको योजनामा कुनै प्रतिक्रिया जनाइन।
स्कुटर कुदाउँदै म अफिस हुइकिएँ। अफिसमा दिनभरि मनमा ऊ किन यी सब गरिरहेकी छ भनेर तर्कना खेलिरहे।
***
‘यो हाम्रो साँच्चै सुहागरात हो, आउँ सँगै सुतौं।
ऊ पलङमा बसेकी थिई। म कालो फम माथि डसना बिछयाएर भुईंमै पल्टिएको देखेर उसले भनी। दिनभरि लागेर कोठा चिटिक्क पारेकी थिई। ओछ्यान त विशेष सिँगारेकी थिई।
‘सुहागरात हो भन्दैमा तिमीलाई छोएँ भने बलात्कारको मुद्दामा म जेल जानुपर्छ’ मैले कोल्टे फेर्दै भनें।
‘तिमी कस्तो कुरा बुझ्दैनौ क्या, त्यो दिन र आज कहाँ उस्तै हो र, आज म आफैं तिमीलाई निम्तो दिइरहेकी छु’ उस्ले थपी– मर्द होइनौ र?
स्त्री भेट्यो भने झम्टिहाल्ने मर्द म होइन। मेरो घरको कोठामा तिमीले मलाई दिएको पीडाको बदला यो भाडाको कोठामा बराबर हुन सक्दैन। तिमीलाई थाहै छ, म साह्रै कन्जरभेटिभ पनि छु।
त्यसपछि ऊ केही बोलिन। लामो श्वास तानी। दुबै हत्केला निधारमा लगाई।
म सिरक ओढेर गुटुमुटु भएँ। निदाएको अभिनय गरें। अबेरसम्म उ पलङमा ओल्टेकोल्टे फर्केर छटपटिएजस्तो लाग्थ्यो।
बिहान साढे सात बजेतिर मोबाइलको घण्टीले ब्युझिएँ। बहिनीको फोन थियो– दाइ कहिले पुग्नुहुन्छ?
मैले हाई काट्दै भनें– कहाँ?
‘ठट्टा नगर्नु भोलि लक्ष्मी पूजा भइसक्यो’ बहिनीले भनी।
सुन् न अफिसमा काम परेर म त आउन भ्याउन्न होला?
‘यो वर्ष पनि बोटको फूल बोटमै सुकाउनु हुने भो’ बहिनीले भनी ‘तपाईको अफिसलाई के थाहा मैले प्रत्येक वर्ष एउटा सयपत्री (हजारी) फूल तपाईंकै लागि रोप्छु भनेर।’
‘होइन अफिसमा त छुट्टी नै हो तर तेरी भाउजु नजाउँ भन्छे’ मैले अर्को बहाना बनाएँ।
भाउजू कहाँ हुनुहुन्छ, दिनु त म कुरा गर्छु।
पलङ हेरें। खाली थियो। ‘बाथरुम गएकी छे, आएपछि फोन गर्न लगाईदिन्छु’ भनेर फोन राखेँ।
उठेर हेर्दा पलङमा सिरक डसना मिलाएर राखेको थियो। ऊ न किचनमा थिई न बाथरुममा। झ्यालबाट तल हेरें, उसको गुलाबी स्कुटर पनि थिएन।
फोन गरें, स्वीचअफ भन्यो। केही सन्देश पो छोडेकी छकि भनेर फेसबुक हेरें। आभा लिम्बूको सन्देश थियो– तिमीलाई मैले धेरै थोक ठानेकी थिएँ। धेरै सपना पनि बुनेकी थिएँ, तर तिम्रा लागि म सिर्फ बसमा भेटिएकी एक उत्ताउली युवती रहेछु। जोसँग तिमी बदला लिने योजनामा छौ। म तिमीजस्ता सबै पुरुषलाई घृणा गर्छु।
उसको सन्देश पढेर म रनभूल्लमा परेँ। बसमा उसलाई भेटेदेखि त्यो बिहानसम्मका यादले भाउन्न लाग्यो। किन उसले मेरो घरमा बिहेको नाटक गरी? किन मेरो कोठामा आएर बसी? र किन बेपत्ता भई? जति सोचेपनि आफ्नै चित्त बुझाउन सकिनँ।
अचेल घरिघरि लाग्छ मै पो गलत हुँ कि। अझ अफिस आउँदा जाँदा बाटोमा गुड्ने प्रत्येक स्कुटरलाई नियाल्छु। गुलाबी रङका स्कुटर देखेँ भने मुटु बेस्सरी धड्किन्छ। सोच्छु आभा लिम्बू मेरो अगाडि घ्याच्च स्कुटर रोकेर हात हल्लाउँदै भन्छ कि– हेलो मिस्टर कन्जरभेटिभ पत्रकार, सञ्चै छौ?