‘एक्सक्युज मी, झ्यालतिरको सिट मेरो हो।’
मैले कानमा कोचेका एयरफोनका ठेडी निकालेर उसलाई हेरेँ। थेप्चो नाक, चिम्सा आँखा, कानमा ठूला इअर रिङ, आँखामा कालो गगल्स लगाएकी, लामो लेन्स भएको क्यामेरा घाँटीमा झुण्डाएकी युवती चुइगम चपाउँदै मलाई हेरिरहेकी थिई।
‘सरी’ म ग्यालरीतिरको सिटमा सरेँ। उसलाई देखेपछि छेउको सिटमा को पर्छ भन्ने खुल्दुली मेटियो। केटी नै पर्दिए हुन्थ्यो भन्ने मनको इच्छा पुरा भयो। यति भए झ्यालतिरको सिट छोड्न मलाई के को आपत्ति हुन्थ्यो र।
‘सुर्खेतसम्मै हो?’ मैले साहस बटुलेर सोधेँ।
उसले चपाइरहेको चुकगम झ्यालबाट थुकी। खल्तीबाट अर्को निकालेर मुख भित्र हाली र हो को संकेतमा टाउको हल्लाई-तिमी पनि उतै हो?
आजसम्म कुनै केटीले मलाई पहिलो भेटमै तिमी भनेकी थिइन। म अलि नर्भस भएँ– हो।
उसले हात बढाएर भनी– म आभा लिम्बु।
‘म भानुभक्त। तर सुर्खेततिर त राई लिम्बू छैनन्। दशैंमा घुम्न जान लागेको?’
‘राई लिम्बुलाई सुर्खेतमा घर बनाउन प्रतिबन्ध छ र?’ ऊ मुस्कुराई ‘मेरो घर पनि सुर्खेत हो, घुम्न पनि जान लागेको।’
कुरा बुझिसक्नु थिएन। बसले काठमाडौंदेखि सुर्खेतको गन्तव्य पछ्याइरहेको थियो। मलाई झ्यालतिरकी युवती रहस्यमयी लागिरहेकी थिई।
‘के काम गर्छौ नि’ थानकोट कटिसकेपछि मैले सोधेँ।
‘आइएनजिओमा काम गर्छु’ उसले भनी।
फोटो खिच्छौ?
क्यामेरा चलाउने त शोखमात्र हो।
‘तिमी के गर्छौ, मास्टर्स पढ्छौ होला?’ उसले प्रश्नमै उत्तर राखेर सोधी।
डिग्री पनि पढ्दै छु, काम पनि गर्छु।
के काम गर्छौ?
‘सेतोपाटीमा पत्रकार हुँ’ मैले भएको कुरा भनिदिएँ।
‘मिस्टर पत्रकार’ उसले तलदेखि माथिसम्म मलाई हेरी र भनी– एकदम झुर लेख्छौ होला है।
‘धेरैलाई त्यसो पनि लाग्दो हो’ म फेरि नर्भस भएँ।
केहीबेरमै उसले धेरैपछि बालसखा भेटे जसरी सोधी– बिहे गर्यौ?
अनपेक्षित प्रश्न टार्न मैले मजाकको साहरा लिएँ– हामीजस्तालाई कल्ले पत्याउँछ र?
‘काठमाडौंमा जागिर खान्छौ, मास्टर डिग्री पढेको छौ, एउटी बुढी त पाल्न सकिहाल्छौ नि’ उसले हाँस्दै भनी।
‘तिमीले जसरी अरुले बुझ्दैन नि त?’ मैले भने ‘आजकालकी ठिटीहरु गाँठ भएको केटालाई मात्र बाल दिन्छन्।’
‘उसो भए गर्लफ्रेन्ड त होला नि?’
छ भन्नु कि छैन भन्नु। मैले हाँसेरै टारिदिएँ।
आँखी भौं उचालेर उस्ले फेरि भनी– मलाई भने केही फरक पर्दैन। ऊ ममाथि पुरै हावी भइरहेकी थिई।
‘लभसभको चक्करमा नलाग्ने। सिधै बिहे गर्ने। खानदानकी छोरी हेर्ने हो। सोझै घरमा गएर बाउसँग हात माग्ने। दिएभने झ्याई पार्ने प्लान छ’ मैले हाँस्दै भने।
उसले चपाइरहेको चुइगम झ्यालबाट थुकी र भनी– साह्रै कन्जरभेटिभ रैछौ। आजकालको जमानामा पनि एरेन्ज म्यारिज।
रामनगरमा खाना खाइसकेपछि उसले आग्रह गरी–मलाई बसमा साह्रै निद्रा लाग्छ। राति तिमीलाई डिस्ट्रब गरेँ भने अहिले नै सरी ल।
मैले भनें– बसमा यात्रा गर्दा मलाई निद्रा लाग्दैन। तिमी मजाले सुत्नू।
बस नारायणघाट, बुटवल, भालुवाङ, लमही हुँदै कुदिरह्यो। मेरा मनमा छेउकी युवतीका बारे हजार थरी कुरा चलिरहे।
***
‘कुन ठाउँ आयो?’ मेरो काखमा पल्टिएकी उसले सोधी।
‘कोहलपुरभन्दा अलिमाथि चिसापानीको आर्मी चेकिङ आउँदै छ’ मैले मुस्कुराउँदै भने।
ऊ मेरो काखबाट उठी र भनी– रातभर तिमीलाई अफ्ठेरो भयो होला है।
म फिस्स हाँसेँ। ‘बाहिर फोहोर नगर्नू होला’ खलासी भाइ करायो।
‘तिम्रो घर बजार मै हो?’ छिन्चुमा चिया पिउँदै गर्दा उसले सोधी।
‘होइन, लगाम हो। वीरेन्द्रनगरदेखि ७-८ घण्टा लाग्छ जीपमा।’
‘रमाइलो गाउँ होला है’ उसले फेरि सोधी।
‘अरुलाई कस्तो लाग्छ थाहा भएन मलाई त साह्रै रमाइलो लाग्छ’ मैले भनेँ-घुम्न जान्छौ त?
‘राम्रा होटल छन् र?’ उसले मेरो मुखमा हेरी।
‘हाम्रै घरमा बसे हुन्न र?’
‘काइदा हुन्छ’ म जिस्किएको थिएँ। उसले त साँच्चै मानी।
आफ्नो घरमा दसैं नमनाएर बसमा भेटिएको युवकसँग घुम्न जाने कस्ति केटी रैछ मेरा मनमा अनेक तर्कना खेल्न थाले। ‘तर जान साह्रै गाह्रो हुन्छ, कच्ची बाटो छ, जीपमा पनि कोचाकोच हुन्छ, सिट पाँइदैन।’ मैले उसलाई टार्न खोजेँ।
‘मलाई केही फरक पर्दैन, कस्ता कस्ता ठाउँमा यात्रा गरेकी छु’ फुरूङ हुँदै उसले भनी।
बसले समयमै वीरेन्द्रनगर पुर्याएकाले हामीले लगाम जाने जिप भेटायौं। तर त्यसमा सिट थिएन। सिटमा बसेका एक केटालाई छतमा पठाएर खलासीले उसलाई सिट मिलाइदियो। म छतमा चढेँ। बांगेसिमल कटेपछि ऊ पनि छतमा बस्न आई–मिस्टर पत्रकार, म पनि तिमीसँगै छतमा बस्ने हो। बच्चा बोकेर एक जना दिदी आइन् मैले त सिट छोडीदिएँ।
अब ऊ मेरा लागि बसमा भेटिएकी अपरिचित युवतीमात्र थिइन्, पाहुना बनिसकेकी थिई। छतमा हामी ५-६ जना केटाहरु थियौं। केटाहरु ननभेज जोक्स भन्ने, बाटोमा हिँडिरहेकी केटीहरुलाई जिस्काउने छत यात्राको अधिकारै हो जस्तो गर्थे।
‘केटी मान्छे छतमा गाह्रो होला नि’, मैले भनेँ।
‘मिस्टर पत्रकार, तिमी साह्रै कन्जरभेटिभ छौ क्या, केटी मान्छे काँ काँ पुगिसके। तिमी छतमा बस्न सक्दैनन् सोच्छौं’ ऊ मेरो छेउमा आएर बसी। ‘छतमा झन् क्या रमाइलो रैछ।’ अरु केटाहरुले मुखामुख गरे।
बड्डिचौर, बाबियाचौर, विद्यापुर र गुटुका प्रहरी चौकी आउँदा छतबाट ओर्लेर हिँड्नु परेपछि उसले भनी– पुलिसहरु पनि क्या ग्वाँच छन् है।
किन नि?
‘यत्तिका मान्छे जिपको पछाडि पछाडि चौकी सामुन्नेबाट हिँडिरहेका छन्। यिनीहरु यही जीपको छतमा आएका हुन् भन्ने पनि चाल पाउँदैनन्।’
‘पुलिसहरु तिमीजस्ता बाठा हुँदैन नि त’ मैले जिस्किएर भने। उसले ठूल्ठूला आँखा पारेर मलाई हेरीमात्र।
‘तिमी पत्रकारिता छोडेर ड्राइभर बन’ बिजौरा पुगिसकेपछि उसले मलाई अनौठो सुझाव दिई।
किन नि?
‘तिम्रो गाउँतिर जिप ड्राइभरको जत्रो इज्जत र रवाफ छ तिम्रो त्यत्रो रवाफ पत्रिकाको सम्पादक भएपनि हुँदैन, काठमाडौंमा तिमीलाई कल्ले गन्छ र? हेर त यो फुच्चे ड्राइभरको क्या सान छ’ उसले कारण दिई।
उसको तर्क सुनेर हाँसो उठ्यो–त्यही सान देखेर त धेरै केटीहरु ड्राइभरसँग पट्टिन्छन्। म त एउटा मात्र बिहे गर्ने हो। त्यसैले ड्राइभर बन्दिनँ।
***
‘मिस्टर पत्रकार, यो तिम्रो सुहागरात हो। तर तिमीले मलाई छोयौ भनेमात्र पनि म पुलिस चौकीमा बलात्कारको मुद्दा हालिदिनेछु’ छेउको पलङमा पल्टिएकी उसले मलाई भनी ‘कल्पनामा रमाएर थुक निल्न त तिमीलाई मैले रोक्न पक्कै सक्दिनँ।’ मैले उसलाई हेरिरहें।
एउटै कोठाका दुई अलग पलङमा हामी पल्टिएका थियौं। बसमा छेउको सिटकी युवतीसँग बोलेको सजायले मलाई अपराधबोध भइरहेको थियो।
घर पुग्ना साथ आमाले सोध्नुभो– नानी को हुन्?
साथी।
आमाले उसैतिर फर्केर सोध्नुभयो– एउटै अफिसमा सँगै काम गर्ने हो?
उसले भनी– होइन।
कलेजसँगै पढ्ने हो?
उसले भनी–होइन।
गाउँमा जवान छोराले साथी भन्दै युवती घरमा ल्याए आमालाई के चाहिन्थ्यो। भनिहाल्नु भो– बुहारी..।
‘आमा त्यसो हो..इ.. ’ म वास्तविकता भन्न खोज्दै थिएँ। उसले ओठमा चोर औंला पुर्याई र मलाई चुप लाग्न संकेत गरी। म अलमलमा परेँ।
केटाकेटीले गाउँभरी रत्यौलीको निम्तो दिए। घरपैसोको तयारी भयो। म आफैंले निम्त्याएको आपतले हायलकायल थिएँ। ऊ मलाई हेरेर मुस्कुराईरहेकी थिई। साँझ गाउँभरिका महिला जम्मा भएर रत्यौली खेल्न थाले।
बेहुली बनेकी ऊ पनि रत्यौलीमा मिसिई। तमाखु खाइरहेका महिलासँग सुल्पा मागी। लामो सर्को तानी र हावामा धुँवा उडाई। देउडा भाकामा रत्यौली गाइरहेका महिलाहरुलाई उसको उत्ताउलोपनले हैरान बनायो।
जिन्स पाइन्ट र टिर्सट लगाएकी उसले घर भित्र अन्मिदा (घरपैसो गर्दा) आमाकै ब्लाउज र साडी लगाएर बालेका बत्ति खुट्टाले निभाई। राति अबेर रत्यौली सकेर महिलाहरु आ–आफ्नो घर लागे। ऊ मेरो कोठाभित्र छिरी। उसले यो सब किन गरिरहेकी छे? मैले केही भेउ पाउन सकिनँ। मैले वास्तविकता भन्न खोज्दा उसले रोकी। छोयौ भने बलात्कारको मुद्दा लगाउँछु भन्छे।
अर्कोदिन बिहान ऊ घाम लागुन्जेल सुती। अरू बुहारीले झैं दैलो लिपपोत गरिनँ। आँगन सफा गरिनँ। मभन्दा पछि उठेर सोधी– आमा खाना पाकिसक्यो? रत्यौली खेलेका महिलाले गाउँभरि हल्ला फैलाए– भानुले रद्धी केटी ब्या गरेर ल्यायो। जो सासूससुराका अगाडि सुल्पामा तमाखु खाएर धुवाँ उडाउँछे।
दिउँसो ऊ आमासँग तोरी बारीमा गई। क्यामेरा झुण्ड्याएर साग टिप्न थाली। बेलाबेलामा आमातर्फ क्यामेरा सोझ्याउँथी। डिलमा क्यामेरा राखेर फुलेका तोरीका बोटलाई अँगालो हाल्थी। साँझ मकैको रोटी र तोरीको साग उसले खुब स्वाद मानेर खाई।
डोटेली, अछामी र दैलेखी टोन मिसिएको हामी आमाछोराको कुराकानी ऊ केही बुझ्थी केही बुझ्दीनथी। गाउँकी अरु बुहारीभन्दा आफ्नी बुहारी फरक परेकाले आमालाई हैरानी भएको थियो। उसको अनुहारमात्र होइन व्यवहार पनि गाउँभरिका बुहारीभन्दा फरक थियो। खाना खाने बेला आमाले भन्नुभयो– काँइथी भेटाइ छि यसी गत नकि गातकी फल्याउटी?
मैले आमालाई उत्तर फर्काइन्।
दसैंको टिका लगाउने दिन ऊ सबभन्दा बढी खुसी थिई। बुहारीको हैसियत जो पाएकी थिई। नयाँ बुहारी, त्यो पनि दसैंको समय भएकाले उसका सब गल्तीहरु माफ थिए। उसले मसँगै बसेर आमाबुवा र आफन्तबाट टीका लगाई। मलाई उकुसमुकुस हुन्थ्यो। ऊ भने मलाई हेरेर मुसुमुसु हाँसिरहेकी हुन्थी।
टिकाको अर्को दिन मैले घरमा भनेँ– म काठमाडौं जान्छु। बुहारी केही दिन बसेर तिहारपछि आउँछ।
उसले आँखा ठूल्ठूला पारेर मलाई हेरी र कानमै आएर भनी– मिस्टर पत्रकार, म यो घरकी बुहारी होइन वाइयात कुरा नगर। तर आमासँग रुन्चे मुख लगाएर उसले भनी – मपनि उहाँसँगै जाने हो आमा।
***
‘आइ एम सरी। मेरो उत्ताउलोपनले तिमीले दुःख पायौ। बदनाम भयौ। यो सब गर्ने मेरो कुनै योजना थिएन। जिन्दगी संयोग न हो ख्याल ख्यालमा के के हुन्छ, हुन्छ।’ कलंकी पुगिसकेपछि उसले भनी।
म उसले गरेका यी सब कुरालाई संयोग मान्न तयार थिइनँ। म बुझ्न चाहन्थेँ– उसले किन यो सब गरी?
‘त्यसो हो भने तिमी तिहारमा मेरो घर आउनु। म तिमीलाई दुलाहा बनाउँला। अनि हिसाबकिताब बराबर हुन्छ’ ऊ बेस्सरी हाँसी। बसबाट ओर्लदाँ मेरो हातमा एउटा भिजिटिङ कार्ड थमाई। र भनी– किप इन टच।
रहस्यमयी युवतीको तनावले भरिएको भारी मन लिएर म कीर्तिपुरको कोठामा पुगेँ। उसका हरकुराहरु रिल बनेर दिमागमा घुमे– तिहारमा मेरो घरमा आउनु। म तिमीलाई दुलहा बनाउँला। उसले मलाई साँच्चिकै बेहुलो बनाउली या केटाकेटीको खेल जस्तै बनाउली भनेर सोच्दा सोच्दै केही दिन बिते। उसको ह्याङ बाँकि नै थियो। एकदिन फेसबुक म्यासेन्जरमा आभा लिम्बु नामबाट लामो सन्देश आयो।
हेलो, मिस्टर पत्रकार, हाउ आर यू?
तिमीलाई भन्दा पनि तिम्री आमालाई धेरै मिस गरिरहेकी छु। कति धेरै माया दिनु भो उहाँले मलाई। उहाँलाई मैले सबै भने– मेरो सुर्खेतमा घर छैन। मेरा बाबुआमा पाँचथरतिर बस्थे रे। सानैमा आमा बुवा बितेकाले म एसओएसमा भर्ना भएँ। चार कक्षादेखि सुर्खेतको एसओएसमा पढ्न थालेँ। त्यहाँ मलाई एउटा घर दिइएको थियो। आमा हुनुहुन्थ्यो। प्रत्येक साल दसैंको बेला म सुर्खेत पुग्छु। घरको नियास्रो मेटाएर फर्कन्छु।
संयोगले यो साल तिम्रो घर पुगेँ। तिम्री आमासँग भेटेँ। तिमीसँग बिहे गरेको अभिनय पनि गरिदिएँ। बुहारीको बहानामा त उहाँले मलाई कति धेरै माया दिनुभो। मेरी आफ्नी आमा भएको भए कति माया गर्नुहुन्थ्यो होला भन्ने अहिले पनि लागिरहेको छ। थाहा छ, तिम्री आमाले म सानैमा टुहुरी भएकी हो भन्ने जान्दाजान्दै पनि बुहारी स्वीर्कानु भयो। तर तिमी त खानदानकी छोरी खोज्ने भन्छौ। बाउसँग हात माग्ने भन्छौ। मेरो त न खानदान छ। न तिमीलाई मेरो हात सुम्पने बुवा हुनुहुन्छ? म त तिम्रा लागि सिर्फ छेउको सिटमा भेटिएकी एक उत्ताउली युवती न हुँ।
मोबाइलमा उसको सन्देश पढी नसक्दै आमाको फोन आयो– सञ्चै छस् बाबु?
मैले आफ्नो हालखबर बताउन नपाउँदै सोध्नुभो– बुहारीको हालखबर के छ?
‘तरकारी किन्न बजारतिर गएकी छ’मैले आमालाई ढाटेँ ‘हामी तिहारमा पनि घर आउछौं। बुहारी अब पुरै सुध्रिसकेकी छ।’
तर म स्वंयमलाई थाहा छैन उ सुध्रिएर तिहारमा मसँग गाउँ जानेछ वा चुइगम चपाउँदै, क्यामेरा झुण्डाएर झ्यालतिरको सिटमा बसी कुनै अर्को ठाउँको यात्रामा निस्कने छ।