एक जना नेपाली फाइन आर्टिस्ट र एक जना बेलायती फाइन आर्टिस्टलाई नगरकोटमा बसेर सूर्योदयको चित्र कोर्न लगाउँ। उनीहरुले बनाएको चित्र कुनै चिनियाँ कलाकर्मीलाई देखाउँ। के त्यो चिनियाँ कलाकारले ती दुईमा फरक सभ्यताको हरक पाउन सक्ला? सक्दैन। हिमालको आकार सानोठूलो हुन सक्ला, सूर्यको आकार सानोठूलो हुन सक्ला, तर आधारभूत रुपमा ती दुई चित्र निर्माणको मौलिकता फरक हुँदैन। किन?
...
पश्चिमा नाटक परम्परामा संवाद र अभिनय मुख्य आधार हुन्। हाम्रो नाट्य परम्परामा संगीत र नृत्य मुख्य आधार हुन्। तर, हाम्रो नाटक पनि अहिले पश्चिमी नाटकजस्तो भइसक्यो। हामीलाई त नाटक शेक्सपियरले सिकाएजस्तो भयो। हाम्रो आफ्नै नाट्य परम्परा छ। नेवार र मिथिलाको नाट्य परम्परा नेपालमा सबैभन्दा समृद्ध थियो। हरेक नेपाली जाति समुदायसँग आ–आफ्नै नाट्य परम्परा छ। यो मौलिक नेपाली नाट्य परम्परा हो।
के इतिहास भनेको कसैको वंशावली मात्र हो? या युद्धकथा मात्रै हो? इतिहास त समाजको समग्र क्षेत्रको हुनुपर्यो, सकारात्मक र नकारात्मक दुवै पाटोको हुनुपर्यो। होइन भने इतिहास पढेर आजको पुस्ताले कसरी आलोचनात्मक र रचनात्मक योजना बनाउँछ?
हाम्रो संस्कृतिको एउटा क्षेत्र ललितकलालाई हेरौं। यसको पनि इतिहासको छानबिन गरौं। केही दशक अघिबाट ललितकला क्याम्पस खुल्यो, अहिले त ललितकला प्रतिष्ठान खुलिसक्यो। राम्रै भइरहेको देखिन्छ। तर, आधुनिक ललितकलाको इतिहास भनेर हामी जेमाथि गर्व गरिरहेका छौं, त्यो नेपाली मौलिक ललितकलाको मृत्युको इतिहास पनि हो।
एउटा कुरा कल्पना गरौं, एक जना नेपाली फाइन आर्टिस्ट र एक जना बेलायती फाइन आर्टिस्टलाई नगरकोटमा बसेर सूर्योदयको चित्र कोर्न लगाउँ। एउटै गुणस्तर र नापको क्यानभास तथा उही मसी दिउँ। उनीहरुले बनाएको चित्र कुनै चिनियाँ कलाकर्मीलाई देखाउँ। के त्यो चिनियाँ कलाकारले ती दुईमा फरक सभ्यताको हरक पाउन सक्ला? सक्दैन। ती दुई चित्रमा कुनै आधारभूत फरक होला कि नहोला? हिमालको आकार सानोठूलो हुन सक्ला, सूर्यको आकार सानोठूलो हुन सक्ला, तर आधारभूत रुपमा ती दुई चित्र निर्माणको मौलिकता फरक हुँदैन। किनभने, नेपालमा आधुनिक ललितकला भनेर बेलायती ललितकलालाई जग बनाइएको छ।
जब जंगबहादुर, चन्द्रशमशेर बेलायत गए, त्यहाँ उनीहरुले पोट्रेटहरु देखे। ती पोट्रेट लिएर वा त्यसबाट प्रभावित भएर आए। कलाकार नै उताबाट ल्याएर दरबार कुँद्न थाले। नेपालमा त्यसैको आधारमा ललितकला विकास हुँदै गयो। यही इतिहासका आधारमा नेपालमा राजा वीरेन्द्रजस्ता ललितकलाकर्मीहरु जन्मिए। उनीहरु सबैको आधार नेपालको लोक ललितकला नभएर बेलायती ललितकला भयो।
के मूर्ति कुँद्न हामीलाई बेलायतीहरुले सिकाएका हुन्? नेपाल मूर्ति नै मूर्तिको देश हो। हाम्रो सभ्यतामै मूर्ति नै मूर्ति छन्। बेलायती वास्तुकलाअनुसार बनेको राणाका सिंहदरबार विश्व सम्पदामा छैनन, यसअघिका सबै दरबार त हाम्रै वास्तुकलाका आधारमा निर्माण भएका हुन्। पचपन्न झ्याले दरबार हामीसँग छ। कृष्ण मन्दिर हामीसँग छ। त्यहाँ प्रयोग भएका मूर्तिकला, चित्रकला हाम्रा आफ्नै मौलिक ललितकला हुन्। त्यसैले ती विश्व सम्पदामा पर्छन्। नेपाल यस्तो देश हो जहाँ कतिपय जातिको काम नै ललितकलासँग सम्बन्धित छ। जस्तो चित्रकार, शिल्पकार आदि। यी जाति वंशपरम्पराका रुपमा ललितकला गर्छन्।
यस्तो देशमा बेलायती ललितकलाई आधार बनाइयो। र, यही कारणले हजारौं वर्षदेखिको मिथिला ललितकला, थारु ललितकला, पौवा, थांका आदि परम्पराको मृत्यु हुँदै गयो। खस आर्यको विवाहमा पूर्वाङ्ग गर्नुअघि नेपाली कागजमा फूलको मसी बनाएर जन्तीको चित्र बनाउने परम्परा छ। नेपालमा मौलिक ललितकलाको इतिहास नभएको कुनै जाति नै छैन। यी मौलिक परम्परालाई आधार बनाएर नेपाली आधुनिक ललितकलाको जग बसाएको भए नेपाली ललितकला अहिलेको जस्तो हुन्थ्यो कि हुँदैनथ्यो? बिल्कुल योभन्दा फरक हुन्थ्यो र त्यो हाम्रो, नेपाली मौलिकताको ललितकला हुन्थ्यो।
हामी अहिले बेलायती ढाँचामा हाम्रो विषयवस्तुमा काम गरिरहेका छौं। जसको कारणले मिथिला चित्रकलाजस्तो संसारमै मानिएको मौलिक चित्रकला बाँच्नका निम्ति संघर्ष गरिरहेको छ। थांकाजस्तो चिज जोगाउन चिनियाँहरुले लगानी गर्नुपर्छ। चीनबाट अर्डर आएन भने थाङ्का, पौवा चित्र बाँच्न नसक्ने अवस्थामा छ।
यता हामीकहाँ विश्वविद्यालय छ। त्यहाँ प्रोफेसरहरु ललितकला सिकाइरहेका छन्। विद्यार्थीहरु ललितकलाको अभ्यास गरिरहेका छन्। कोही काँइयोमा आधारित चित्रकला बनाउँछन्, कोही घोडामा आधारित चित्र बनाउँछन्। विम्बहरु नयाँ नयाँ आइरहेका छन्। तर यसको जग नेपाली नभएर बेलायती छ। नेपालमा यसको विकास भइरहँदा नेपाली मौलिक ललितकला भने मर्दै गइरहेको छ। नेपालको आधुनिक ललितकलाको इतिहास भनेको मौलिक नेपाली ललितकलाको मृत्युको इतिहास पनि बनिरहेछ।
नेपालको मौलिक बाजा संस्कृतिको पनि यही अवस्था छ। हाम्रा मौलिक बाजागाजा अहिलेसम्म कसले रक्षा गर्यो त? सबैभन्दा हेलामा परेको दलित समुदायले पञ्चेबाजा रक्षा गर्यो। अरु जातिहरुले आ–आफ्ना मौलिक बाजा कुनै न कुनै रुपमा रक्षा गर्दै आए। ती समुदायले पनि रक्षा गर्न नसकेका बाजगाजा लोप भएर गए। सहनाईमा ३३ वटा सुर हुन्छ भनिन्थ्यो तर अहिले खोज्दै जाँदा २७ वटा मात्र भेटियो। त्योभन्दा धेरै जान्ने मान्छे नै छैन। यो के कारणले भयो त? हामीले सोच्नु जरुरी छ।
रेडियोमा तबला, हार्मोनियम बज्ने, गीतार, भ्वाइलिन बज्ने, अनि सारङ्गी कसले रक्षा गर्ने? पश्चिममा जे जे चल्यो त्यो चिजको प्रयोगमा सबै सांगीतिक क्षेत्र लागिपर्ने परम्परा बस्यो। यसकारण नेपाली बाजागाजा लोप हुँदै जाने अवस्था छ। राज्यसत्ताले यी बाजागाजको आधुनिक विकासमा ध्यानै दिएन। शासक वर्गले के रक्षा गर्यो त? अहिलेकै दिशामा जाने हो भने सत्ताले त मादलबाहेक केही पनि रक्षा नगर्ने देखियो। मादललाई चाहिने सबै चिज सक्किने र मादल मात्रै बाँकी रहने हो भने त्यसको के अर्थ?
नाटक क्षेत्रमा पनि यही देखिन्छ। पश्चिमा नाटक परम्परामा संवाद र अभिनय मुख्य आधार हुन्। हाम्रो नाट्य परम्परामा संगीत र नृत्य मुख्य आधार हुन्। तर, हाम्रो नाटक पनि अहिले पश्चिमी नाटकजस्तो भइसक्यो। हामीलाई त नाटक शेक्सपियरले सिकाएजस्तो भयो। हाम्रो आफ्नै नाट्य परम्परा छ। नेवार र मिथिलाको नाट्य परम्परा नेपालमा सबैभन्दा समृद्ध थियो। हरेक नेपाली जाति समुदायसँग आ–आफ्नै नाट्य परम्परा छ। यो मौलिक नेपाली नाट्य परम्परा हो।
हामीले यस्ता मौलिक नेपाली नाट्य परम्परामा आधारित भएर आधुनिक नाटकलाई अघि बढाउनै सकेनौं। संवाद र अभिनयमा आधारित पश्चिमा शैलीको नाटक भने विकास हुँदै गयो। हाम्रो त सबै कुरा नृत्य र संगीतमा भन्ने मौलिकता हो नि, त्यसलाई जोगाएर पश्चिमी शैली लिनुपर्ने हो कि होइन? आधुनिक नेपाली नाटक पनि हाम्रो नाट्य परम्पराको जगमा नभएर पश्चिमा नाट्य परम्पराको जगमा अगाडि बढिरहेको छ। आधुनिक नेपाली नाटकको इतिहास भनेको पनि नेपाली मौलिक नाट्य परम्पराको मृत्युको इतिहास बन्दैछ।
औषधि परम्पराकै कुरा गरौं न। सिटामोल आउनुभन्दा पहिले नेपाली जाति ज्वरो आउँदैमा मर्थ्यो त? मर्ने भए त यहाँसम्म आइपुग्ने नै थिएन। सिटामोल आएर राम्रै भयो, औषधि उपचार प्रभावकारी भयो। तर त्यसअघि पनि त हाम्रो मौलिक औषधि परम्परा थियो। यो औषधि परम्परा आजको दिनमा कुनै न कुनै रुपमा महत्वपूर्ण हुनसक्थ्यो।
मौलिक नेपाली संस्कृतिको मृत्युको इतिहासका यस्ता अनेक आयाम छन्। गीतसंगीत, बाजागाजा, ललितकला, नाटक, औषधि आदि त उदाहरण मात्र हुन्। आधुनिक नेपाली संस्कृतिको इतिहास बनाउने नाममा हामीले मौलिक नेपाली संस्कृतिको मृत्युको इतिहास बनाउँदै गइरहेका छौं।
यस्तो किन भयो त?
एउटा सभ्यताले अर्को सभ्यतामाथि जब बलजफ्ती शासन गर्न थाल्छ, तब पराजित सभ्यताको मौलिक संस्कृति हराउँदै जान्छ। नेपालमा पनि खस आर्य समुदायले अरु सभ्यतामाथि शासन गर्न सुरु गरेपछि थुप्रै मौलिक समुदायका संस्कृतिको मृत्यु हुँदै गयो। त्यसपछि पश्चिमाहरुको संस्कृति हामीकहाँ आउन थाल्यो। त्यसले खस समुदायको संस्कृति कमजोर हुँदै गयो। अंग्रेजहरुसँग राणाहरुको गुलामी जब सुरु हुन्छ, नेपाली संस्कृतिको मृत्युमा तीब्रता आउँछ। जंगबहादुरको बेलायत यात्राबाटै यो क्रम सुरु हुन्छ। चन्द्रशमशेरले यसलाई अझ तीब्रता दिए। उनले खानीहरु बन्द गराए। कपडा विदेशबाट आयात गर्न सुरु भयो। त्यो समयसम्म नेपाली समाज मूल रुपमा आत्मनिर्भर थियो। खानी बन्द गराएपछि नै नेपाली समाज पराश्रित हुने क्रम सुरु भयो।
गोर्खा भर्तीका कारण नेपाली संस्कृतिमा अर्को किसिमले प्रभाव पार्यो। २००७ सालको परिवर्तनपछि भारतसँगको हिमचिम बढ्यो, यसले पनि मौलिक नेपाली संस्कृतिको मृत्युमा भूमिका निर्वाह गर्यो।
यसरी नेपालको आधुनिक संस्कृतिको इतिहास मौलिक नेपाली संस्कृतिको मृत्युको इतिहास बनिरहेको छ। हामी आधुनिक हुने नाममा विदेशी बनिरहेका छौं। आधुनिक हुनु भनेको विदेशी हुनु नभएर आजको युगलाई अगाडि बढाउनु हो भन्ने ढंगले हामीले किन नसोच्ने?
हामीसँग हजारौं वर्ष लामो इतिहास छ भनेर गाथाचाहिँ गाइरहने तर त्यो इतिहास केमा छ भनेर नखोज्ने हो भने त्यसको के अर्थ छ र? अरनिकोको नाममा गीतमात्रै गाएर के हुन्छ? उनको मौलिक चित्रकला कस्तो थियो भन्ने पनि अध्ययन गर्नु आवश्यक छ। मौलिक नेपाली संस्कृतिलाई विकास गर्नु भनेको विश्वमा आत्मविश्वाससहित बाँच्नु हो। यसको विकास गर्नु भनेको सम्पूर्ण विश्वसामु नेपाली हुनुमा गर्व गर्न सक्नु हो। तर, हामी मौलिक संस्कृतिको मृत्यु हेर्दै गाथा गाएर रमाइरहयौं। यसबारे आजको पुस्ताले सोच्नैपर्छ।
वैकल्पिक इतिहासका अन्य श्रृंखलाहरु पढ्नुहोस्: