बुटवलका कालिका मानव ज्ञान माध्यमिक विद्यालयले जिल्लास्तरीय कालिका रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्दैछ।
आफ्नो ६२ औं वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा पुस १ गतेदेखि ७ गतेसम्म सप्ताहब्यापी कार्यक्रम आयोजना गरेको कालिकाले कालिका रनिङ शिल्ड प्रतियोगिताको दोस्रो संस्करण आयोजना गर्ने भएको हो।
लुम्बिनी प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले मंगलबार रनिङ शिल्ड अनावरण गरेका हुन्।
सो अवसरमा बोल्दै भट्टराईले लुम्बिनी प्रदेशमा अझै पनि खेलकुदको विकासको लागि नीतिगत र संरचनागत अभाव रहेको बताए।
राज्यका तहबाट नै खेलकुदलाई हेर्ने दृष्टिकोण परिवर्तन हुन नसकेको दुःखेसो गर्दै भट्टराईले प्रदेश संरचनामा खेलकुद गतिविधि अघि बढ्न नसकेको बताए। ‘अझै पनि प्रदेश भित्र बन्ने पूर्वाधारमा समस्या र कर्मचारी समायोजनको जटिलता रहेको छ,’ उनले भने।
उनले विद्यालयहरू खेलाडी उत्पादन गर्ने जग भएकोले विद्यालय र क्याम्पसहरुमा नगर र जिल्लास्तरका प्रतियोगिता आयोजना गर्नुपर्ने आवश्यकता औंल्याए। खेलकुदलाई पर्यटन क्षेत्रसँग जोडेर अघि बढाउने गरी सरकारले योजना ल्याउनुपर्ने उनको भनाई थियो।
विद्यालयका प्रधानाध्यापक दिनेश थापाले विद्यालयले २०७६ सालमा नगरस्तरीय रनिङशिल्ड आयोजना गरिएको भए पनि २०७८ मा पहिलोपटक जिल्लास्तरीय रूपमा खेलाउन थालिएको जानकारी दिए।
गत वर्ष स्वर्ण, रजत र कास्यका १६-१६ पदकमा ३२ वटा विद्यालयका विद्यार्थीहरुले भाग लिएको रनिङशिल्ड प्रतियोगितामा यसवर्ष २४-२४ पदकका लागि विद्यार्थीहरुले प्रतिस्पर्धा गर्दैछन्।
प्रतियोगितामा कुल ७२ पदकका लागि जिल्लाका ४५ वटा विद्यालयका २ हजार ४ सय विद्यार्थीले भाग लिदैछन्।
प्रतियोगिता अन्तर्गत भलिबल, कबड्डी, एथलेटिक्स, दौड, लङजम्प, ट्रिपल जम्प, सटपुट लगायतका खेलमा छात्रछात्राले छुट्टछुट्टै प्रतिस्पर्धा गर्ने विद्यालयका खेलकुद संयोजक हरिस ओलीले जानकारी दिए।
प्रतियोगिताको प्रथम हुनेले ५० हजार, द्वितियले ३० हजार र तृतीय हुने टिमले २० हजार रुपैयाँ पुरस्कार सहित शिल्ड र मेडल प्राप्त गर्ने छन्।
विद्यालयका निवर्तमान अध्यक्ष होम बहादुर गलामीका अनुसार पुस १ गते प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले गर्नेछन्।