विश्व जुनियर ब्याडमिन्टनको वरीयताको शीर्षस्थानमा रहेका नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाललाई मंगलबार योनेक्स सनराइजले सम्झौता गरेको छ।
योनेक्स सनराइजले प्रिन्सलाई ४ वर्षको लागि सम्झौता गरेको हो। सम्झौतामा योनेक्स सनराइजको तर्फबाट नेपालका लागि आधिकारिक विक्रेता इनास इन्टरप्राइजेजका प्रोपाइटर राजु बास्तोला र प्रिन्स दाहालले हस्ताक्षर गर्दै आदान–प्रदान गरे।
सम्झौता अनुसार योनेक्सले प्रिन्सलाई वार्षिक ८ लाख रुपैया नगदसँगै उनको लागि आवश्यक सबै खेल सामग्री उपलब्ध गराउनेछ। यस्तै सम्झौतामा हरेक अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतियोगितामा सहभागिता र जितको रकम समेत प्राप्त गर्ने उल्लेख छ।
यस्तै सम्झौतामा प्रिन्सले इन्डोनेसिया वा भारतमा प्रशिक्षणको अवसर पाउनेछ। मंगलबार नै उनलाई आवश्यक पर्ने खेल सामग्री र पोशाक हस्तान्तरण गरिएको छ। प्रिन्सले हरेक प्रतियोगिताको योनेक्सको लोगो अंकित खेल सामग्री प्रयोग गर्नेछ।
योनेक्स सनराइजको तर्फबाट नेपालका लागि आधिकारिक विक्रेता इनास इन्टरप्राइजेजका प्रोपाइटर राजु बास्तोलाले प्रिन्सको सम्भावना देखेर नै उनीसँग सम्झौता गरिएको र अन्य सम्भावना बोकेका प्रतिभावान् खेलाडीलाई पनि योनेक्सबाट सहयोग र सम्झौताको लागि बाटो खुलेको बताए। योनेक्स नेपालले यसअघि पनि प्रिन्ससँगै अन्य खेलाडीलाई खेल सामग्रीमा सहयोग गर्दै आइरहेको छ।
विश्व ब्याडमिन्टन फेडेरेसन (बिडब्लुएफ) ले गत पुसमा निकालेको नयाँ वरीयता अनुसार प्रिन्स दाहाल विश्व ब्याडमिन्टन जुनियर वरियताको शीर्षस्थानमा पुग्न सफल भएका थिए। यसअघि गत वर्ष सार्वजनिक वरीयतामा प्रिन्स तेस्रो स्थानमा रहेका थिए । सन् २०२१ मा कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय प्रतियोगिता हुन नसक्दा वरीयता एक वर्षपछि परिवर्तन भएको हो।