सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा अहिले उपाधिका लागि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा भइरहेको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमविरूद्ध लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक गरेका छन्।
रोहितको ह्याट्रिकसँगै सुदूरपश्चिम संकटमा परेको छ। रोहितले ११औं ओभरको अन्तिम तीन बलमा ह्याट्रिक गरेका थिए। यो सिजनको दोस्रो ह्याट्रिक हो। यसअघि काठमान्डु गोर्खाजका शाहब आलामले पनि ह्याट्रिक गरेका थिए।
रोहितले ११औं ओभरको चौथो बलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीलाई रुबेन ट्रम्पलम्यानबाट क्याच गराए। दीपेन्द्रले २० बलमा १३ रन जोड्न सके। पाँचौ बलमा उनले दीपक बोहरालाई सन्दीप जोराबाट क्याच गराउँदै डकआउट गरे। छैटौं बलमा पुनित मेहरा रोहितको एलबिडब्लूको धरापमा परे। रोहितले ह्याट्रिक गरेसँगै सुदूरपश्चिमले ११ ओभरमा ४४ रन जोड्दा ६ विकेट गुमाएको थियो। उसले १४ ओभर चल्दै गर्दा ५० रन पूरा गर्न सकेको थियो।
लगातार विकेट गुमाएको सुदूरपश्चिमले सातौं विकेट १५औं ओभरमा गुमायो। उसका हर्मित सिंह १० रन बनाएर आउट भए। १५औं ओभरको तेस्रो बलमा शेर मल्ललाई छक्का प्रहार गरेका उनी अर्को बलमा डार्शी शर्टबाट क्याच भए।
त्यसअघि सुदूरपश्चिम पहिलो ओभरमै ओपनर विनोद भण्डारीलाई गुमाएको थियो। उनी ट्रम्पलम्यानको बलमा दिनेश अधिकारीबाट क्या हुँदा डकआउट भएर पेभिलियन फर्किए। तेस्रो ओभरमा ट्रम्पलम्यानले अर्को विकेट लियो। उनले भारतीय ब्याटर सेल्डन ज्याकसनलाई १ रनमै एलबिडब्लूको धरापमा पारे।
पावपरप्लेमा तेस्रो विकेट लिने क्रममा लुम्बिनीले आरिफ शेखको पनि विकेट लियो। आरिफलाई पाँचौ ओभरमा शेर मल्लले ६ रन बनाएर खेलिरहदा एलबिडब्लूको धरापमा पारेका थिए।