रहेनन् नेपालका बलिया खेलाडी


सन् १९९१ को पाँचौ दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपालबाट श्रीलंकाको कोलम्बोतर्फ उड्नुअघि खेलवृत्तमा सबैले ठोकुवा गरेका थिए, यसपालि देशभित्र स्वर्ण पदक कसैले भित्र्याउँछ भने ती खेलाडी हुन्, भारत्तोलनका सुनिललाल जोशी।

भीमकाय शरीर र स्वर्ण पदकमाथि उनको अर्जुन दृष्टी, अभ्यासका क्रममा उनी स्न्याचमा १ सय ३२ केजी तौल उठाउँथे। यसकारण पनि सबैको हौसला बढेको थियो। तर, प्रतियोगिताका लागि जब नेपाली टिम इन्डियन एयरलाइन्सबाट कोलकाताको बाटो हुँदै कोलम्बो जान विमानमा चढ्यो। सुनिलको दूर्भाग्य त्यही दिनबाट सुरु भयो।

इन्डियन एयरलाइन्सका कर्मचारीको हडतालका कारण नेपाली टोली २ दिन कोलकातामै अड्कियो। त्यहाँबाट छुटकारा पाउँदै मद्रास पुगेको नेपाली टोली फेरि ३ दिन दक्षिण भारतमा अड्कियो। विमान कर्मचारीको हडतालका कारण ५ दिन भारतमै बिताएको नेपाली टोली बल्लतल्ल खेल स्थल पुगेको थियो।

पाँच दिन कुनै अभ्यास गर्न नपाएका सुनिल सिधै खेल स्थल पुगेका थिए। जहाँ उनको प्रदर्शन नियमित अभ्यास जस्तै भएन्। र, उनी भारतीय भारत्तोलकसँग स्वर्णको प्रतिस्पर्धामा २ दशमलव ५ केजीले पछाडि परे। जसका कारण उनी दक्षिण एसियाली खेलकुदमा स्वर्ण जित्ने अभियानबाट झिनो तौलले बञ्चित भए।

सुनिललाल जोशी, नेपाली खेलकुदमा सर्वाधिक पदक जित्ने खेलाडी। प्रायः उनीसँग भेट हुँदा भन्ने गर्थे, ‘मलाई साफ गेममा त्यतिबेला स्वर्ण नजितेको ठूलो पीडा छ।’

यीनै जोशी ५२ वर्षको उमेरमा आइतबार बिहान आफ्ना इस्टमित्र र खेलकर्मी सबैलाई पीडा दिँदै ब्रम्हलिन भए। उनको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा मात्र होइन, पशुपति आर्यघाटमा पूर्व तथा वर्तमान खेलाडीको घुँइचो लागेको थियो।

‘मलाई अझै याद छ, त्यतिबेला ऊ अभ्यासमा सिधै १ सय ३२ केजी तौल उठाउँथ्यो। तर, कोलम्बो सागमा विमान कर्मचारीको हडतालका कारण मानसिक तनावमा रहेको उसले १ सय २७ केजी मात्र तौल उठायो। जबकी उसको प्रतिद्वन्दी भारतीय खेलाडीले अभ्यासमा उसले उठाएभन्दा २ केजी कम, १ सय ३० केजी तौल मात्र उठाएको थियो,’ जोशीका प्रशिक्षक पार्थसारथी सेन गुप्ताले आर्यघाटमा पुनः त्यो घटना दोह¥याउँदै भने।

काठमाडौंमा २०३८ सालमा प्रथम बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदा जोशी १६ वर्षको थिए। उनी युवा अवस्थामै बागमती अञ्चलबाट ७५ केजी तौल समूहमा समावेश भएका थिए। पहिलो प्रतियोगितामै आफ्नो तौल समूहमा स्वर्ण जितेपछि उनको खुब तारिफ भएको थियो।

अर्को वर्ष उनले हेटौडामा आयोजना भएको अन्तरनगर खेलकुदमा आफ्नो तौल बढाएर ८२ दशमलव ५ केजी बनाए। तर, उनलाई नेपालका भेट्रान भारत्तोलक राजभक्त प्रधानाङ्गसँग भिड्नुको गल्ती त्यतिबेला महसुस भयो, जब उनी धेरै तौल अन्तरले प्रधानाङगसँग हार्न पुगे। यो हार युवा जोशीका लागि यति ठूलो पाठ बन्यो, उनले यसपछि जोशमा आएर कहिल्यै कुनै प्रतियोगिता भिडेनन्।

जोशीलाई नजिकबाट चिन्नेहरु भन्छन्, उनको शारीरिक क्षमतामा खोट लगाउने ठाउँ कत्तै पाइदैन्। तर, उनलाई आफ्नो प्रतिस्पर्धी बुझेर मैदानमा उत्रिँने शिक्षा प्रधानाङ्गसँगको त्यो भिडन्तले दियो। जुन भविष्यमा जोशीको खेल जीवनका लागि बरदान सावित भयो।

प्रधानाङ्ग एउटा घटना स्मरण गर्दै भन्छन्, ‘२०४१ सालमा धरानमा एभरेष्ट च्याम्पियनसिपको आयोजना भएको थियो। मलाई लाग्यो, फेरि जोशी मसँग भिड्न आउँछ होला। मेरो नियमित तौल ८२ दशमलव ५ केजी नै थियो। तर, ऊ त तौल घटाएर ७५ केजीमा भिड्न पो आयो। त्यतिबेला एउटै तौल समूहमा तीन जना प्रतिस्पर्धी भएन भने तौल समूह नै हटाउने चलन थियो। मेरो तौल समूह पनि चइट भयो। मैले प्रतियोगिता नै खेल्न पाइन। त्यसपछि खेल्नै छोडिदिए।’

२०४२ साल अगाडिसम्म नेपालको सबैभन्दा बलियो व्यक्ति राजभक्त प्रधानाङ्ग र सुरेन्द्र हमाललाई मानिन्थ्यो। २०४१ सालको काण्डपछि प्रधानाङ्गले भारत्तोलनबाट सन्यास लिए। २०४२ सालमा बीरगञ्मा आयोजना भएको तेस्रो बृहत राष्ट्रिय खेलकुदमा हमाललाई अनुशाषनको कार्यवाही भयो। यसपछि नेपालको सबैभन्दा बलियो खेलाडीको पदवी जोशीले पाए। उनले त्यतिबेला सुपर हेभिवेट तौलसमूहमा २ सय ५५ को हाराहारीमा तौल उठाए। जसलाई उनी खेल्दासम्म कसैले तोड्न सकेनन्।

यस्तै, उनले १९८९ पाकिस्तानको इस्लामाबादमा आयोजना भएको चौथो साग गेममा २ सय ९७ केजी तौल उठाएका थिए। उनको यो कीर्तिमानलाई अहिले पनि कसैले तोड्न सकेको छैन्।

‘त्यतिबेला उसले ३ सय केजी तौल पुरा गर्ला भनेर हामी दंग थियौं। तर, ३ केजीले खुम्चिनु पर्यो। तरपनि हाम्रो लागि त्यो इतिहास थियो,’ ओलम्पियन भारत्तोलक सुरेन्द्र हमाल भन्छन्।

जोशीले पहिलोदेखि सातौ सागमा गरि कूल १७ वटा पदक नेपाललाई दिलाएका थिए। जसमा ६ वटा पदक रजत र बाँकी ११ वटा कास्य रहेका छ। सन् १९९३ ढाकामा आयोजना भएको छैटौं साग गेममा भारत्तोलनलाई प्रतियोगितामै समावेश गरिएन। त्यतिबेला भारत्तोलनलाई समावेश गरिएको भए, सम्भवत अहिले उनको नाममा २० वटा पदक हुने थियो।

‘ऊ जस्तो बलियो इच्छाशक्ति भएको खेलाडी मैले देखेको छैन,’ जोशीका सहपाठी अर्का पूर्व अन्तर्राष्ट्रिय खेलाडी अशोक शाही भन्छन्।

जोशी गत साता शिकिस्त हुँदा पनि आफै गाडी चलाएर गंगालाल अस्पताल पुगेका थिए। उनको गतिविधि देखेर चिकित्सक पनि अचम्म परेका थिए। उनको मुटुको दुवै भल्व रोकिएको थियो। सल्यक्रियापछि पुनः घर फर्किएका जोशीलाई फेरि ब्यथाले च्यापेपछि अस्पताल पु¥याइएको थियो। त्यही उनको बिहान निधन भयो।

खानपीनका शौखिन जोशीको तौल अनावश्यक बढ्न थालेपछि केही समय अगाडि उनका साथीहरुले दुई पल्ट उनलाई अस्पताल भर्ना गर्न खोजेका थिए। दुवै पल्ट उनी खेलकुदको समस्या देखाउँदै टार्न सफल भए। तर, आज बिहान उनले मृत्युलाई टार्न सकेनन्। अलबिदा नेपालका बलिया खेलाडीलाई!

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.