नेइमारले बार्सिलोना छोड्ने हल्ला चलेपछि मेसीले फोन गरे


ब्राजिलका सुपरस्टार नेइमारले बार्सिलोना छोड्ने हल्ला चलेसँगै लिओनल मेसीले क्लबका निर्देशकसँग टेलिफोन वार्तालाप गरेका छन्।

ब्राजिल अखबारले पेरिस सेन्ट जर्मनी (पिएसजी) को महंगो प्रस्ताव नेइमारले स्विकार गरिसकेको र उनी स्पेन छोडेर फ्रान्स जान लागेको खबर प्रकाशित गरेको थियो। ब्राजिली पत्रिकाले बार्सिलोनाले उनको फुकुवाको लागि राखेको महंगो रकम तिर्न पनि क्लब सहमत भएको समाचार प्रकाशित गरेको थियो।

यस विषयमा डन बालोन पत्रिकाले मेसीको समाचारलाई प्रमुखताका साथ प्रकाशित गर्दै लेखेको छ, ‘नेइमारले क्लब छोड्ने खबर बाहिरिएपछि मेसीले पदाधिकारीसमक्ष तत्कालै फोनमा कुरा गरेका थिए।’

नेइमारले क्लब छोड्ने मन बनाएको खण्डमा उनको स्थानमा युभेन्ट्सका अर्जेन्टिनी युवा स्ट्राइकर पाउलो डायबालालाई अनुबन्धित गर्न मेसीले सुझाएको बताइएको छ। मेसीको विश्वास छ, नेइमारको राम्रो विकल्प डायबाला हुन सक्छन्।

तर, नेइमारले क्लब छोड्ने भन्ने खबरको बार्सिलोनाका उपाध्यक्ष जोर्डी मेस्ट्रेले खण्डन गरेका छन्। उनले पिएसजीले नेइमारसँग भेट्ने इच्छा राखेको कुरा समान्य भएको बताउँदै यसले आत्तिहाल्नु नपर्ने बताए।

‘उनी बार्सिलोनामै बस्ने छन्,’ मेस्ट्रेले भने– ‘२ सय प्रतिशत उनी बार्सिलोनामै बस्ने छन्।’

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.