नेपाल आज इज्जत जोगाउन लेबननविरुद्ध भिड्दै


नेपालले एएफसी युथ–२३ च्याम्पियनसिपअन्तर्गत छनोट चरणको अन्तिम खेल आज लेबननविरुद्ध अल अइनको ताहनोन बिन मोहम्मद रंगशालामा खेल्दैछ।

आयोजक युनाइटेड अरब इमिरेट्स (युएई) सँग ५–० र उज्वेकिस्तानसँग २–० ले पराजित भएर छनोटबाट बाहिरिसकेको अवस्थामा नेपालका लागि आजको खेल आफ्नो प्रतिष्ठा जोगाउने हुनेछ।

लेबनन पनि पहिलो खेलमा उज्वेकिस्तानबाट ३–१ र युएईबाट १–० ले पराजित हुँदै छनोटबाट बाहिरिसकेको छ। यस्तो अवस्थामा समूह ‘डी’ को अन्त्य नेपाल सकारात्मक नतिजाबाट गर्न चाहन्छ।

यसको चाहना प्रशिक्षक राजुकाजी शाक्यले मंगलबार युएईमा आयोजित पत्रकार सम्मेलनमा राखिसकेका छन्। तर, लेबननलाई हराउनु सोचे जस्तो सहज भने छैन्। लेबनन फिफा वरियतामा नेपालभन्दा बलियो टोली हो र युएईविरुद्ध लेबननको डिफेन्डरले देखाएको प्रदर्शनले उनीहरु केही उत्साही पनि देखिएका छन्।

नेपाललाई ५ गोल हानेको युएईलाई ८४ मिनेटसम्म लेबननले रोकेर राखेको थियो। लेबननले एक मात्र गोल पेनाल्टीबाट खाएको थियो।
लेबनन हाल फिफा वरियताको १ सय २४ स्थानमा छ। उसले यो महिना ११ स्थान सुधार गरेको थियो। नेपाल गत महिनाको फिफा वरियतामा १ सय ७० स्थानमा थियो।

नेपालका प्रभावशाली मिडफिल्डर अञ्जन बिष्ट लगातार दुई खेलमा पहेँलो कार्ड पाएका कारण बुधबारको खेलमा अनुपस्थित रहने छन्। उनको स्थानमा उज्वेकिस्तानविरुद्ध अतिरिक्त खेलाडीको भूमिका निर्वाह गरेका सुनिल वल प्लेईङ सेटमा समावेश हुने सम्भावना बलियो छ।

प्रशिक्षक शाक्य भन्छन्, ‘लेबनन हामीभन्दा बलियो टोली हो। तर, हामी जितका लागि उत्रिँने छौं। कम्तिमा एक अंक बोकेर घर फर्किने चाहना छ।’

नेपालको आजको खेल राती ११ बजे हुनेछ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.