नेपाललाई आज उज्वेकिस्तानलाई रोक्ने चुनौती, हारेको खण्डमा छनोटबाट बाहिर

नेपाललाई आज उज्वेकिस्तानलाई रोक्ने चुनौती, हारेको खण्डमा छनोटबाट बाहिर


एएफसी युथ–२३ छनोटअन्तर्गत नेपालले आज अति महत्वपूर्ण खेलमा उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्देछ।

आयोजक युनाइटेड अरब इमिरेट्ससँगको पहिलो खेल ५–० ले गुमाएको अवस्थामा नेपाली टोलीका लागि उज्वेकिस्तानविरुद्धको खेल ‘गर या मर’को अवस्थामा छ। उज्वेकिस्तानले आफ्नो पहिलो खेलमा लेबननलाई ३–१ ले पराजित गरेको थियो। हाल समूह ‘डी’ मा युएई शीर्षस्थानमा छ। उज्वेकिस्तान दोस्रो, लेबनन तेस्रो र नेपाल सबैभन्दा अन्तिम, चौथो स्थानमा छ।

नेपालविरुद्धको खेलमा जहाँ आज उज्वेकिस्तानको योजना समूहको शीर्ष स्थानमा उक्लिन युएईले हिर्काएको ५ गोलभन्दा बढि गर्ने हुनेछ। नेपालले डिफेन्सिभ रणनीतिलाई अपनाउने पक्का छ।

प्रशिक्षक राजुकाजी शाक्यले उज्वेकिस्तान पनि प्रतियोगिताको बलियो टोली भएको हुनाले उसलाई रोक्ने आफ्नो योजना बताएका छन्।

‘उज्वेकिस्तान बलियो टोली हो। त्यसैले हामीले संयमित भएर खेल्नु पर्नेछ,’ उनले सेतोपाटीसँग भने। उज्वेकिस्तान एएफसी युथ–२३ च्याम्पियनसिपको दुई वटै संस्करणमा अन्तिम चरणमा छनोट भइसकेको टोली हो। उज्वेक छनोट चरणको खेलमा समूह विजेता नभए पनि राम्रो नतिजा निकाल्दै दुवै पल्ट च्याम्पियनसिपका लागि छनोट भएको थियो।

त्यसैले यसपालि उसको योजना समूह विजेता बनेर अघिल्लो चरणमा प्रवेश गर्ने हुनेछ। आजको खेल पनि नेपालले युएईको अल अइनस्थित ताहनोउन बिन मोहम्मद रंगशालामा रातीको ८ बजेर १० मिनेटमै खेल्नेछ।

नेपाल र उज्वेकिस्तान ४ वर्षअघि यही प्रतियोगिताको पहिलो संस्करणअन्तर्गत काठमाडौंमा आयोजना भएको समूह ‘डी’ को छनोटमा एक पल्ट भिडिसकेका छन्। जसमा उज्वेक टिमले नेपाललाई ४–२ गोलले पराजित गरेको थियो। त्यतिबेला उज्वेकिस्तानका सोखरुह गादोइभ र तेमुरखोजा अब्दुखोतिखोभले २–२ गोल गरेका थिए भने नेपालबाट अनिल ओझा र सुजल श्रेष्ठले १–१ गोल गर्न सफल भएका थिए।

पहिले पनि उज्वेक टोलीलाई गोल गरिसकेको हुनाले नेपालको प्रदर्शन युएईभन्दा राम्रो हुने आशा प्रशिक्षक शाक्यले राखेका छन्। नेपाली टिममा आज केही फेरबदलको सम्भावना बलियो छ।

नेपालले युएईविरुद्ध पहिलो हाफमा ४ गोल खाएको थियो। डिफेन्स र मिडफिल्डमा तीन खेलाडी फेरबदल गरेपछि नेपालले दोस्रो हाफको अन्तिम ३० मिनेट विपक्षी युएई खेलाडीलाई आफ्नो गोल पोस्टमा गोल गर्न दिएको थिएन्।

आज परिवर्तन भएका तीनवटै खेलाडी प्लेइङ सेटमा रहने सम्भावना छ। ४३ मिनेटमा हेमन गुरुङलाई परिवर्तन गरेका डिफेन्सिभ मिडफिल्डर पुजन उपरकोटी सुरुमै खेल्ने सम्भावना छ। यस्तै, ४९ मिनेटमा अमित तामाङलाई परिवर्तन गरेका कमल श्रेष्ठ र ६८ मिनेटमा हेमन्त थापामगरलाई परिवर्तन गरेका विश्वास श्रेष्ठको पनि सुरु मै खेल्ने सम्भावना छ।

नेपाल ४–५–१ कै फर्मेशनमा मैदानमा उत्रिँने छ। नेपाली टोलीको आक्रमणको जिम्मा कप्तान विमल घर्तीमगरले लिएका छन्। नेपाल आजको खेलमा पराजित भएको खण्डमा छनोटबाट बाहिरिने छ। नेपालले अन्तिम खेल लेबननसँग बुधबार खेल्नेछ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.