फ्रेन्च मिडफिल्डर बाकायोको मोनाको छोडेर चेल्सी तिर


इङ्लिस क्लब चेल्सीले फ्रेन्च मिडफिल्डर टिमोउ बाकायोकोलाई ४ करोड पाउन्डमा भित्र्याएको छ।

२२ वर्षीय फ्रेन्च मिडफिल्डरलाई पाँच वर्षका लागि प्रिमियर लिग च्याम्पियन क्लबले अनुबन्धित गरेको हो।

उनी यसपालिको गर्मीयाममा चेल्सीमा समावेश हुने दोस्रो खेलाडी बन्न पुगेका छन्। यसअघि क्लबले रोमाबाट डिफेन्डर आन्टोनियो रुडिगेरलाई भित्र्याएको थियो।

बाकायोको २०१४ मा रेनेसबाट मोनाको प्रवेश गरेका थिए। र, यही वर्ष उनले स्पेनविरुद्ध मैत्रीपूर्ण खेलमा फ्रेन्च टोलीबाट डेब्यु गरेका थिए। उनी उपस्थित मोनाको टोली गत च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको थियो र युभेन्ट्सबाट पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको थियो।

बाकायोकोले चेल्सीमा १४ नम्बरको जर्सी लगाउने छन्। उनलाई म्यानचेस्टर युनाइटेडले पनि आँखा लगाएको थियो। तर, आफूले बच्चैदेखि रुचाउँने क्लबमा अनुबन्धित हुँदा खुसी लागेको उनले बताएका छन्।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.