जेम्स रोड्रिगेजलाई ऋण सम्झौतामा म्याड्रिडले बेच्यो

jamesh rodriguesh


वायर्न म्युनिखले रियल म्याड्रिडका फरवार्ड जेम्स रोड्रिगेजलाई ऋण सम्झौतामा बेच्न सक्ने अधिकारसहित २ वर्षका लागि क्लब भित्र्याएको छ।

२५ वर्षीय जेम्स ६ वर्षका लागि रियलको अनुबन्धमा थिए, जब उनलाई २०१४ मा ७ करोड १० लाख पाउन्डमा अनुबन्धित गरिएको थियो। उनी गत सिजन रियलबाट २२ ला लिगा खेलमा मात्र देखा परे।

उनी प्रिमियर लिग च्याम्पियन चेल्सी वा म्यानचेस्टर युनाइटेड जान सक्ने हल्लाका बीच वायर्न पुगेका हुन्। ‘जेम्सलाई अनुबन्धित गर्न हाम्रा प्रशिक्षक कार्लोस एन्सिलोटी निकै आतुर थिए,’ वायर्न अध्यक्ष कार्ल हेन्ज रुमेनिजीले भने, ‘हामी निकै खुसी छौं र सम्झौतालाई पूर्णता दिने अभियानमा छौं।’

कोलम्बियाका कप्तान जेम्स २०१४ को विश्व कपमा सर्वाधिक गोलकर्ता थिए। उनलाई एन्सिलोटीले दुई वर्षका लागि म्याड्रिडको प्रशिक्षकको जिम्मेवारी सम्हालेको बेला अनुबन्धित गरेका थिए।

जिनेदिन जिदानको कार्यकालमा जेम्सले त्यति मौका पाएका थिएनन्, जब राफा बेनिटेजको उत्तराधिकारीको रुपमा २०१६ मा जिदान म्याड्रिडको प्रशिक्षक बने। उनले म्याड्रिडबाट १ सय ११ खेल खेल्ने क्रममा ३६ गोल गर्नुका साथै ४१ गोलको अवसर मिलाएका थिए। तर, गत सिजन युभेन्ट्सविरुद्ध च्याम्पियन्स लिगको फाइनल हुँदा उनले १८ सदस्यीय टोलीमा पनि स्थान पाउन सकेनन्।

‘जेम्स भर्सटाइल खेलाडी हुन। उनी आफै पनि गोल हान्न दक्ष मानिन्छन। उनी गोलको लागि पनि अवसर जुराइदिन्छन। उनी फ्रिकिक र कर्नरलगायत सेट–पिसेसमा पनि उत्कृष्ट छन्,’ हार्ल हेन्जले भने।

जेम्स आउँदो आइतबारदेखि १२ दिनको चीन र सिङ्गापुर भ्रमणमा वायर्नको टोलीमा समावेश हुनेछन्। वायर्नले लगातार ५ बुन्डेसलिगा उपाधि जितेको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.