तस्बिरमा हेर्नुहोस् नेपाल vs बंगलादेश


विमल घर्तीमगरको निर्णायक गोलको सहयोगले बंगलादेशको युवा टोलीलाई १–० ले पराजित गर्दै नेपालले एएफसी युथ–२३ छनोटको तयारी उत्कृष्ट ढंगले गरेको छ।

राजुकाजी शाक्यको प्रशिक्षणमा मंगलबार मैत्रीपूर्ण खेलमा उत्रिँएको नेपालले २० मिनेटमा कप्तान विमलको एक मात्र गोलको सहयोगले बंगलादेशलाई पराजित गर्यो।

आउँदो शनिवारदेखि सुरु हुने एएफसी युथ–२३ छनोटको तयारी स्वरुप खेलिएको मैत्रीपूर्ण खेलमा नेपालले दोस्रो हाफमा पाएको ३ वटा अवसरलाई गोलमा परिणत गर्न सकेन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको मैत्रीपूर्ण खेलमा नेपालको मिडफिल्ड तुलनात्मक रुपमा कमजोर देखियो। खेलाडीमा फिटनेशको केही अभाव र सन्तुलन मिलाउन पनि नसकेको देखियो। त्यसमा पनि ३१ मिनेटमा चोटका कारण एक मात्र स्ट्राइकर विमल मैदानबाट बाहिरिन पुगेपछि नेपालको खेल निकै सुस्त देखिन्थ्यो।

विमल २६ मिनेटमा बंगाली गोल पोस्टमा कडा प्रहार गर्ने क्रममा लड्न पुग्दा उनको कुममा चोट लागेको थियो। खेल सकिएपछि पत्रकार सम्मेलनमा उनले आफू सञ्चो भएको र युथ–२३ छनोट खेल्न तयार रहेको स्पष्ट पारे।

नेपालले खेलको सुरुवातमै हेमन गुरुङको पासमा अञ्जनले गोलको अवसर गुमाएका थिए। तर, उनले डिबक्सभित्र बंगाली डिफेन्स नुरुल नाइयुम फैसललाई कटाएर दिएको पासमा ‘अनमार्क’ रहेका विमलले उत्कृष्ट गोल गर्दै नेपाललाई अग्रता दिलाए।

विमल घाइते भएपछि उनको स्थानमा विश्वास श्रेष्ठ मैदान प्रवेश गरेका थिए।

दोस्रो हाफमा खेलमा फर्किन बंगलादेशले कडा प्रयास गरेको थियो। दोस्रो हाफमा जाफर इक्बाललाई मैदान प्रवेश गराएपछि बंगाली खेलाडीले नेपाली गोल पोस्टमा केही दबाब सिर्जना गरेका थिए।

हेर्नुहोस् तस्बिरमा नेपाल-बंगलादेश यु २३

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.