१३ वर्षपछि वायन रोनी पुरानो क्लब फर्किए


१३ वर्ष लामो अन्तरालपछि इङ्ल्यान्डका पूर्व फुटबल कप्तान वायन रोनी आफ्नो पुरानो क्लब इभर्टन फर्किएका छन्। उनको क्लब फर्किने वातावरण आइतबार सम्भव भएपछि २००४ मा पहिलो पल्ट क्लब छोडेर गएका रोनी पुनः पुरानो क्लब फर्किएका हुन्।

१३ वर्ष म्यानचेस्टर युनाइटेडमा बस्दा उनले रेड डेभिल्सबाट सर्वाधिक २ सय ५३ गोल गरेका थिए। ३१ वर्षीय रोनीलाई २ वर्षका लागि इभर्टनले अनुबन्धित गरेको छ। करार सम्झौता पुरा भएपछि क्लबले आफ्नो वेभसाइटमा लेखेको छ, ‘पुरानो क्लब फर्किएकोमा बधाई छ।’

रोनीले ९ वर्षदेखि १८ वर्षको उमेरसम्म इभर्टनमा बिताएका थिए। उनी १६ वर्षमा इभर्टनको पहिलो दर्जाको टिममा देखा परेका थिए। रोनीले म्यानचेस्टरमा लामो समय बिताउने क्रममा रेड डेभिल्सका लागि ५ प्रिमियर लिग र एउटा च्याम्पियन्स लिग र एउटा युरोपा लिगको उपाधि जितेका थिए।

१३ वर्षअघि २ करोड ५३ लाख पाउन्डमा म्यानचेस्टर आएका रोनी कति रकममा पुनः इभर्टन फर्किए, रकम सार्वजनिक गरिएको छैन्।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.