नेइमारले भने– आउँदो सिजन मेरो लागि चुनौती र महत्वपूर्ण


बार्सिलोनाका व्यवसायिक ब्राजिली स्ट्राइकर नेइमारले आउँदो सिजन आफ्नो खेल जीवनको सबैभन्दा महत्वपूर्ण समय रहेको बताएका छन्।

२०१८ मा रुसमा फिफा विश्व कप र लुइस एनरिकको बर्हिगमनपछि बार्सिलोनामा नयाँ प्रशिक्षकको आगमनका कारण आफ्नो लागि २०१७–२०१८ को सिजन महत्वपूर्ण रहने उनले बताएका हुन्।

२५ वर्षीय नेइमारबाट ब्राजिलले मात्र होइन, बार्सिलोनाले पनि थुप्रै आशा राखेको छ। एनरिकको प्रशिक्षणमा नेइमारले बार्सिलोनामा त्यति मौका पाएका थिएनन्। उनको क्षमताअनुसार एनरिकले नेइमारलाई मौका नदिएको आरोप पनि लागेको थियो।

२०१४ मा आफ्नै देशमा आयोजना भएको विश्व कपमा ब्राजिल नराम्रोसँग पराजित भएको थियो। ५ पल्टको च्याम्पियनलाई सेमिफाइनलमा विश्व विजेता जर्मनीले उसैको मैदानमा ७–१ गोलअन्तरले पराजित गरेको थियो। त्यसैले आउँदो विश्व कप नेइमारका लागि निकै महत्वपूर्ण रहने बताइन्छ।

क्याम्प नोउमा गत अक्टुवर थप पाँच वर्षको सम्झौतान नवीकरण गरेका नेइमारले आगामी सिजनको लागि आफू तयार भएको बताए। ‘मैले आशा राखेको छु, आउँदो सिजनले धेरै सफलता र खुसी ल्याउनेछ,’ ब्राजिलमा आयोजना भएको एउटा च्यारेटी इभेन्टमा समावेश भएका नेइमारले भने।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.