साबिकको विजेता रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार राति क्वाटरफाइनलको दोस्रो लेगमा इटालियन क्लब युभेन्टससँग ३ – १ ले पराजित भए पनि समग्रमा ४ – ३ को जित निकाल्दै रियल अन्तिम चारमा पुगेको हो ।
रियलको घरेलु मैदानमा भएको सनसनीपूर्ण दोस्रो लेगमा ३ – १ को जित निकाले पनि युभेन्टस सेमिफाइनलमा पुग्न सकेन। दोस्रो लेगको अन्तिम समय १० खेलाडीमा सिमित युभेन्टसका लागि मारियो मान्डुज्कीले दुई तथा ब्लेज माटूइडीले एक गोल गरे।
घरेलु मैदानमा भएको पहिलो लेगमा बेहोरेको ३–० को हारले युभेन्टस सेमिफाइनल पुग्नबाट बन्चित भयो। गत सिजनको फाइनलमा पनि युभेन्टस रियलसँग ४ – १ ले स्तब्ध बनेको थियो ।
रियलको सेमिफाइनल यात्रामा क्रिस्टियानो रोनाल्डो नायक बने। पहिलो लेगमा दुई गोल गरेका रोनाल्डोले दोस्रो लेगको इन्जुरी समयमा गोल गर्दै रियललाई अन्तिम चारको यात्रा तय गराए।
युभेन्टससँग ३–० ले पछि परेको अवस्थामा रोनाल्डोले इन्जुरी समयमा पेनाल्टीबाट गोल गर्दै घरेलु टोलीको सेमिफाइनल यात्रा पक्का गराए।
सान्टियागो बेर्नाबेउमा खेलको अन्तिम दुई मिनेट बाँकी रहदा रियलका लुकास भास्क्वेजलाई युभेन्टसका डिफेन्डर माइकल ओलिभरले डिबक्सभित्र फल गरेपनि रियलले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टी अवसरमा रोनाल्डोले सहजै गोल गर्दै रियललाई सेमिफाइनल पुर्याउन सफल भए।
त्यसअघि पाहुना टोली युभेन्टसले पहिलो हाफमै दुई गोलको अग्रता लिन सफल भएको थियो । मारियो मान्डजुकिचले खेलको दोस्रो तथा ३७ औं मिनेटमा हेडिङ गोलहरु गर्दै टोलीलाई पुनरागमन नजिक लगेका थिए । खेलको ६० औं मिनेटमा ब्लेज माटुइडीले रियलका गोलकिपरको गल्तीको सदुपयोग गर्दै स्कोर ३-० बनाएका थिए ।
पहिलो लेग रियलले ३-० ले नै जितेकाले युभेन्टस र रियल समग्रमा बराबरीको अवस्थामा थिए । तर इन्जुरी समयमा लुकास भाजक्वेजले पेनाल्टी जित्न सफल भए । सो निर्णयबाट असन्तोष जियान्लुइजी बुफ्फोनले आफ्नो आक्रोश रेफ्रीलाई पोख्दा उनले रातो कार्ड पाउन पुगे ।
खेलको अन्तिम समयमा रोनाल्डोको पेनाल्टी रोक्न वोजियाक सेज्नी मैदानमा उत्रे पनि रोनाल्डोको बलियो प्रहार जाली चुम्न सफल रह्यो । यससँगै रियलले अन्तिम मिनेटमा गोल गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित पारेको हो ।
रियल र युभेन्टसबीचको खेलसँगै च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने चारै टोलीको तय भएको छ । अर्को क्वाटरफाइनलमा बायर्न र सेभिया गोलरहित बराबरीमा रोकिए । समग्रमा बायर्न २-१ ले विजयी भएको हो।
यो सिजन रियलसँगै जर्मन क्लब वायर्न म्युनिख, इन्ग्लिश क्लब लिभरपुल र इटालियन क्लब रोमाले सेमिफाइनलमा स्थान बनाएका छन् । सेमिफाइनल ड्र शुक्रबार हुनेछ ।