भारतीय क्रिकेटमा सुरु भयो, बलिङ प्रशिक्षकको विवाद


भारतीय क्रिकेटमा प्रशिक्षक नियुक्ति विवाद समाप्त भएको केही दिन नबित्दै अर्को विवादले जन्म लिएको छ। भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को सल्लाहकार समितिले नियुक्त गरेको बलिङ प्रशिक्षक जाहिर खानलाई लिएर मुख्य प्रशिक्षक रवी शास्त्री त्यति खुसी देखिएका छैनन्।

खेलाडीको रुपमा जाहिरको निकै प्रंशसक मानिन्छन, रवी। तर, प्रशिक्षकको रुपमा रवीको पहिलो रोजाई आन्द्र प्रदेशका ५४ वर्षीय भरत अरुण हुन्। उनले ८० को दशकमा भारतबाट २ टेस्ट र ४ एकदिवसीय खेलेका थिए।

सन् १९८६ मा अरुणले श्रीलंकाविरुद्ध टेस्टमा डेब्यु गरेका थिए। रवी र अरुण लामो समयदेखिका साथी हुन्। उनीहरु सँगै युथ–१९ टोलीमा पनि संलग्न थिए। रवीकै सिफारिसमा सन् २०१४ मा जो डावेसलाई हटाएर बिसिसिआईले अरुणलाई भारतीय टिमको बलिङ प्रशिक्षक बनाएको थियो। २०१६ मा रवी भारतीय टिमबाट अलग भएपछि अरुण पनि हटेका थिए।

अरुणको क्रिकेट करिअर त्यति राम्रो छैन्। तर, उनी भारतमा राम्रो बलिङ प्रशिक्षक मानिन्छन्। सल्लाहकार समितिले जाहिरलाई बलिङ प्रशिक्षक नियुक्त गर्दा रवीलाई विश्वासमा लिएका थिएनन्। त्यसैले उनी सल्लाहकार समितिको सिफारिसलाई लिएर बिसिसिआईसमक्ष जान सक्ने बताइएको छ।

रवी आफूजस्तै अन्य प्रशिक्षक पनि पूर्णकालिन होस् भन्ने चाहन्छन्। तर, जाहिरले २ सय ५० दिनमध्ये १ सय दिन मात्र दिन सक्ने कारण बताइएको छ। जाहिरको तलबको विषयमा पनि अहिलेसम्म टुँगो लागेको छैन्।

सल्लाहकार समितिले सोधेको प्रश्नमा रवीले बलिङ प्रशिक्षकको रुपमा आफ्नो पहिलो रोजाई अस्ट्रेलियाका जेसोन गिलेस्पी रहेको बताएका थिए। गिलेस्पी विश्वका उत्कृष्ट बलिङ प्रशिक्षक मानिन्छन्। हाल उनी पपुवा न्युगिनीमा अनुबन्धित छन्। उनलाई बिसिसिआईले तत्काल नियुक्त गर्न नसक्ने कारण रवीले यस्तो उत्तर दिएको बताइन्छ।

बिसिसिआईले बेङ्कटेस प्रसादको नाम पनि विकल्पको रुपमा राखेको छ। तर, रवी अरुणबाहेक अन्य विकल्पमा सहमत हुने सम्भावना देखिदैन्।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.