अफगानी विकेटकिपरले टि–२० मा बनाए ७१ बलमा २ सय १४ रन

अफगानी विकेटकिपरले टि–२० मा बनाए ७१ बलमा २ सय १४ रन


अफगानिस्तानका दुई खेलाडी रासिद खान र मोहम्मद नाबीबाट सायदै कोही अपरिचित होलान। यसै वर्ष ११ टेस्ट राष्ट्रको मान्यता पाएको अफगानिस्तानका अर्का एक खेलाडीले विश्व क्रिकेटलाई नै चकित पार्ने अर्को कीर्तिमान बनाएका छन्।

अफगानिस्तानका विकेटकिपर ब्याट्सम्यान सफिकुल्ला सफाकले घरेलु टि–२० क्रिकेटको एउटा प्रतियोगितामा दोहोरो सतक बनाउँदै विश्व क्रिकेटलाई नै चकित तुल्याएका छन्। उनले अफगानिस्तानमा भइरहेको प्यारागन नन्गरहार च्याम्पियन ट्रफी प्रतियोगितामा ७१ बलमा २ सय १४ रन बनाउँदै सबैलाई छक्क तुल्याए।

उनले विपक्षी टोलीका बलरलाई आछुआछु पार्दै २१ छक्का र १६ चौकाको सहयोगले दोहोरो सतक बनाए। सफिकुल्लाको चमत्कारिक प्रदर्शनका कारण उनको खतिज क्रिकेट एकेडेमीले २० ओभरमा ३ सय ५१ रन बनायो। उनलाई दोस्रो इन्डबाट वहिदुल्ला सफाकले ३१ बलमा ८१ रन बनाएर बलियो सहयोग दिए।

विपक्षी काबुल स्टार क्रिकेट क्लबले प्रत्युत्तरमा १ सय ७ रन मात्र फर्कायो र २ सय ४४ रनले पराजित भयो।

सफिकुल्लाले २०१० मा इङ्ल्यान्डविरुद्ध टि–२० मा डेब्यु गरेका थिए। उनले हालसम्म ३५ टि–२० मा १ सय ४३ दशमलव ०७ को स्ट्राइकर रेटले ३ सय ९२ रन बनाएका छन्। उनले अफगानिस्तानका लागि २० एकदिवसीय खेलमा ३ सय ८२ रन बनाएका छन्। उनले १९ क्याच समात्नुका साथै एक पल्ट स्टम्पिङ गरेका छन्। उनी आइसिसीको विश्व टि–२० प्रतियोगिता तीन पल्ट २०१२, २०१४ र २०१६ मा खेलिसकेका छन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.