विराट कोहलीलाई नसोधी भारतले प्रशिक्षक नियुक्त नगर्ने


कप्तान विराट कोहलीलाई नसोधी भारतीय क्रिकेट टिमको प्रशिक्षक नियुक्त नहुने भएको छ। सोमबार प्रशिक्षकको निर्णय हुने भनिए पनि भारतीय टिम वेष्ट इन्डिजमा भएको हुनाले टुँगो लाग्न सकेन्।

सोमबार दिनभरी प्रशिक्षकका आकांक्षी ६ जना उम्मेदवारले नै इन्टरभ्यू दिएका थिए। सचिन तेन्दुलकर, सौरभ गागुली र भिभिएस लक्ष्मण रहेको एडवाइजरी कमिटी (सिएसी) ले उनीहरुको इन्टरभ्यु लिएको थियो। साँझमा गागुलीले भारतीय टिमका कप्तान कोहलीसँग विचार विमर्श गरेर मात्र निर्णय लिने बताए।

सोमबार भारतीय टिमका पूर्व ब्याट्सम्यान वीरेन्द्र सहवागले सिएसी कमिटी अगाडि पुगेर इन्टरभ्यू दिएका थिए। रवी शास्त्रीले स्काइपमार्फत र लालचन्द राजपुत, टम मुडी, रिचर्ड पायबस र फिल सिमन्सले पनि कमिटी अगाडि इन्टरभ्यु दिएका थिए।

भारतीय मिडियाका अनुसार रवी शास्त्री र सहवागको प्रशिक्षक बन्ने सम्भावना बलियो छ। ‘प्रशिक्षकको विषयमा आज निर्णय हुँदैन्। केही दिन लाग्नेछ। कप्तान विराट कोहली वेष्ट इन्डिजबाट फर्किएपछि सँगै बसेर सबिस्तार कुरा हुनेछ र यसैबाट निर्णय लिइनेछ। अहिले हतार गर्नु पर्ने केही कारण छैन,’ गागुलीले भने।

च्याम्पियन्स ट्रफीमा अनिल कुम्बलेसँग कप्तान कोहलीको विवाद बढ्न पुगेपछि कुम्बलेले प्रशिक्षक पदबाट राजीनामा गरेका थिए।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.