सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा काठमाडौं गुर्खाजले विराटनगर किंग्समाथि १ विकेटको रोमाञ्चक जित निकालेको छ।
विराटनगरले दिएको ११८ रनको सामान्य लक्ष्य भए पनि काठमाडौंले सहज रुपमा भेट्टाउन सकेन। काठमाडौंले ९ विकेट गुमाएर १८.१ ओभरमा लक्ष्य पार गरेको थियो।
यो जितसँगै काठमाडौंको प्लेअफमा पुग्ने सम्भावना बाँकी छ।
सबै खेल खेलेर १० अंक जोडेको शीर्ष स्थानको जनकपुर बोल्ट्स प्लेअफमा पुगिसकेको छ। आज काठमाडौंले झिनो अन्तरको जितले आठ अंक जोडेको चितवन राइनोज पनि प्लेअफमा पुगेको छ।
अब दुई स्थानका लागि सुदूरपश्चिम रोयल्स र कर्णाली याक्ससँगै काठमाडौंको भिडन्त हुनेछ। जसमा काठमाडौंको सम्भावना झिनो छ। बाँकी रहेका दुवै खेलमा भारी अन्तरले पराजित भए मात्र सुदूर बाहिरिनेछ। यस्तै कर्णाली पनि फराकिलो अन्तरले पराजित भए मात्र बाहिरिने समिकरण छ।
त्यसैले काठमाडौंको सम्भावना गणीतिय मात्र बाँकी रहदा सुदूरपश्चिम र कर्णालीको सम्भावना बलियो छ।अझ नाकारात्मक रनरेट भएको काठमाडौं सम्भावना एकदमै कमजोर हुनेछ।
शीर्ष चारमा रहेका टोली मध्ये शीर्ष दुईले पहिलो क्वालिफायर खेल्नेछन्। जित्ने टोलीले फाइनल पुग्नेछ भने हार्ने टोलीलाई दोस्रो क्वालिफायर खेल्ने मौका हुनेछ।
लिगमा तेस्रो र चौथो हुने टोलीले इलिमिनेटर खेल्नेछन्। जित्ने टोली दोस्रो क्वालिफायरमा पुग्नेछ। हार्ने टोली बाहिरिनेछ।
दोस्रो क्वालिफायरको विजेता टोली फाइनल पुग्नेछ भने हार्ने टोली बाहिरनेछ।
प्लेअफमा पुगेका टोली- जनकपुर र चितवन
दुई स्थानको प्लेअफ दौडमा रहेका टोली - सुदूरपश्चिम, कर्णाली र काठमाडौं
बाहिरिएका टोली - लुम्बिनी, पोखरा र विराटनगर