सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले शीर्ष चारमा रहँदै प्लेअफ पुग्ने सम्भावना जीवित बनाएको छ।
शनिबार दिनको दोस्रो खेलमा शीर्ष स्थान रहेको जनकपुर बोल्ट्सलाई ३२ रनले पराजित गरेसँगै चितवनको आशा पलाएको हो।
सबै सात खेल खेलिसकेको चितवन आठ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ। जनकपुर १० अंक जोड्दै शीर्ष स्थानमा छ भने प्लेअफमा पुग्ने पक्का जस्तै छ।
चितवनले दिएको १८१ रनको लक्ष्य पछ्याउने क्रममा शनिबार जनकपुरका मध्यक्रमका ब्याटर जिमी निशमले उत्कृष्ट ब्याटिङ गरेका थिए।
१८ बलमै अर्धशतक प्रहार गरे। निशम १५औं ओभरको पहिलो बलमा सोहिल तन्विरको बलमा क्याच भएका थिए। तर सो बल नो बल भएको थियो। त्यतिबेला निशमले ५८ रन जोडेका थिए। त्यसपछिको फ्रि हिटमा छक्का प्रहार गरेका निशम चौथो बलमा भने आउट भए।
निशमले २४ बलमा ५ चौका र ६ छक्काको मद्दतमा ६५ रन जोडे। यद्यपि उनको स्कोर जनकपुरलाई जितका लागि पर्याप्त हुन सकेन। उनी आउट हुँदा चितवनले ८ विकेट गुमाइसकेको थियो।
निशम आउट नहुँदासम्म भने चितवनको डर कम भएको थिएन। निशमकै कारण पराजित हुँदा प्लेअफ होड समेत कमजोर हुने अवस्थामा थियो चितवन।
तर निशमलाई आउट गरेसँगै चितवनको आशा पलायो। यो कुरा चितवनका कप्तान कुशल मल्ल पनि स्वीकार गर्छन्।
‘आजको खेल जित्नै पर्ने थियो,’ चितवनको जितमा ४१ बलमा ७१ रन तथा २ विकेट लिएका मल्लले भने, ‘निशमको सबै बलमा ब्याट लागिरहेको थियो। उनी आउट नभए पनि अर्को इन्डबाट हामीले विकेट लिएका पनि थियौं। तर निशम खेल्दा दबाब भइरहेको थियो। हामीलाई विश्वास थियो, उनलाई आउट गरेपछि खेल हाम्रोतर्फ आउट भन्ने।’
यसअघिका खेलमा चल्न नसकेका मल्लले महत्वपूर्ण खेलमा ७१ रन जोड्न सफल भएकोमा खुसी पनि व्यक्त गरे।
‘यसअघिका खेलमा पनि कोशिस गरेको थिएँ, आज सफल भएँ,’ उनले भने।
चितवनसँग पराजित भएपछि जनकपुरका प्रशिक्षक पुबुदु दसानायकेले कुशलको प्रशंसा गरे।
‘हामीलाई भन्दा उनीहरूलाई बढी दवाब थियो। दवाबमा पनि उसले राम्रो ब्याटिङ गर्यो। बलिङ पनि राम्रो गर्यो,’ पुबुदुले भने।