सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबारको खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ३२ रनले पराजित गरेसँगै अरु दुई टोली शीर्ष चारमा रहदै प्लेअफ पुग्ने दौडबाट बाहिरिएका छन्।
चितवनको जितसँगै अन्तिम खेलअघि विराटनगर किंग्स र पोखरा एभेन्जर्स शीर्ष चारमा नपर्ने पक्का हुँदै दुवै टोली लिग चरणबाट बाहिरिएका हुन्। यससँगै तीन टोली लिग चरणबाट बाहिरिएका छन्। यसअघि लुम्बिनी लायन्स पनि बाहिरिएको थियो।
१० अंक जोडेर शीर्ष स्थानमा रहेको जनकपुर भने यसअघि नै प्लेअफमा पुगेको थियो। अब ८-८ अंक भएका सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स र चितवन राइनोज तथा ६ अंक जोडेको काठमाडौं मध्ये तीन टोली प्लेअफ पुग्नेछन्। सुदूरपश्चिमले दुई खेल खेल्न बाँकी छ। कर्णाली र काठमाडौंले अन्तिम खेल खेल्न बाँकी रहदा चितवनले भने सबै ७ खेलेको खेलेको छ।
निशमको बिस्फोटक ब्याटिङ पर्याप्त भएन जनकपुरलाई
शनिबार दिनको दोस्रो खेलमा चितवनले दिएको १८१ रनको लक्ष्य पछ्याएको जनकपुर १८ ओभरमा १४८ रनमा अलआउट भयो।
जनकपुर बोल्ट्सका मध्यक्रमका ब्याटर जिमी निशमले १८ बलमै अर्धशतक प्रहार गरे। निशम १५औं ओभरको पहिलो बलमा सोहिल तन्विरको बलमा क्याच भएका थिए। तर सो बल नो बल भएको थियो। त्यतिबेला निशमले ५८ रन जोडेका थिए। त्यसपछिको फ्रि हिटमा छक्का प्रहार गरेका निशम चौथो बलमा भने आउट भए।
निशमले २४ बलमा ५ चौका र ६ छक्काको मद्दतमा ६५ रन जोडे। यद्यपी उनको स्कोर जनकपुरलाई जितका लागि पर्याप्त हुनसकेन।उनी आउट हुँदा चितवनले ८ विकेट गुमाइसकेको थियो।
उत्कृष्ट ब्याटिङ गरेका निशमसँगको असमझदारीका कारण जनकपुरले चार बलको बीचमा दुई ब्याटर रनआउटबाट गुमाएको थियो। मोहमद मोसिन १४औं ओभरको अन्तिम बलमा र अरनिको यादव १५औं ओभरको तेस्रो बलमा रनआउट भएका थिए। अरनिको आउट भएको अर्को बलमा निशम पनि आउट हुँदा जनकपुर हार नजिक पुगेको थियो।
यसअघि पोखरा एभेन्जर्सका आन्द्रेस गौसले लुम्बिनीविरूद्ध शतक पूरा गरेको खेलमा २० बलमा ५० रन कटाएका थिए। जसका कारण निशमको यो एनपिएलकै छिटो अर्धशतक हो।
जनकपुरका ओपनर भने चल्न सकेनन्। अनिल साह ८ रन, आसिफ शेख २३ रन, लाहिरू मिलन्था १ रन र हर्ष थाकर ६ रनमा आउट भएका थिए।
बलिङमा चितवनका रिजन ढकाल, सोहेल तन्विर र कुशल मल्लले २-२ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले कप्तान कुशल मल्ल र रवी बोपाराको उत्कृष्ट ब्याटिङमा ५ विकेटको क्षतिमा १८० रन जोड्यो।
कप्तान कुशलले ७२ रनको योगदान गरे। १९औं ओभरमा जिमी निशमको बलमा अनिलकुमार साहबाट क्याच हुनुअघि उनले ४१ बलमा ३ चौका र ७ छक्का प्रहार गरे। १७औं ओभरमा निशमकै बलमा आसिफ शेखले क्याच छाड्दा कुशलले ५३ रनमा जीवनदान पाएका थिए।
कुशलले चौथो विकेटका लागि रवी बोपारासँग ११३ रनको साझेदारी गरे। जसका कारण चितवनको स्कोर बढेको थियो। बोपाराले अन्तिम ओभरको दोस्रो बलमा ललितनारायण राजवंशीको बलमा क्याच हुनुअघि ४४ रन जोडे। उनले ३२ बलमा ५ चौका र १ छक्का प्रहार गरे।
त्यसअघि ओपनर हसन इशाखिलले १९ बलमा २८ रन जोडे। आठौं ओभरमा जनकपुरका हर्ष थाकरको बलमा स्टमपिन हुनुअघि उनले ४ चौका र १ छक्का प्रहार गरे। अर्का ओपनर विपिन रावल ३ रनमा आउट भए भने सन्तोष कार्कीले १२ बलमा १४ रन बनाए।
बलिङमा जनकपुरका ललितनारायण राजवंशीले उत्कृष्ट बलिङ गरे पनि अरु बलर चल्न सकेनन्। राजवंशीले आफ्नो स्पेलको सुरूवाती दुई ओभर मेडन राखे। राजवंशीले २ विकेट लिँदा ११ रन खर्चिए। जारी प्रतियोगितामा सर्वाधिक विकेट लिने सूचीको शीर्ष स्थानमा रहेका राजवंशीले कुल १३ विकेट लिइसकेका छन्। ललितबाहेक खेलमा हर्ष थाकर, मोहमद मोहसिन र जिमी निशमले १-१ विकेट लिए।