सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) काठमाडौं गुर्खाजको प्लेअफ पुग्ने सम्भवना बलियो बन्दै गएको छ।
शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेसँगै काठमाडौंको सम्भावना बढेको हो।
काठमाडौंले अन्तिम खेलअघि ६ अंक जोडेको छ भने पाँचौ स्थानमा उक्लिएको छ। अब अन्तिम खेलमा विराटनगर किंग्सलाई पराजति गरे प्लेअफमा पुग्ने सम्भावना हुनेछ। यता अन्तिम खेलअघि चार अंक मात्र जोडेको पोखरा भने बाहिरिने संघारमा पुगेको छ।
जित्नै पर्ने खेलमा पोखरा एभेन्जर्सले दिएको १३९ रनको लक्ष्य काठमाडौंले ४ विकेटको क्षतिमा १४.१ ओभरमा पूरा गर्यो।
काठमाडौंका लागि ओपनर स्टेफन इस्किनाजीले ३४ बलमा १० चौका प्रहार गर्दै ६० रन जोडे। अर्का ओपनर माइकल लेभिटले १८ बलमा ३२ रन बनाए।
भीम सार्की २२ रनमा आउट भए भने इरासमसले नटआउट २५ रन बनाए।
बलिङमा पोखराका विपिन खत्रीले ३ विकेट लिए। उनले ३ ओभरमा १९ रन खर्चिए।
टस जितेको काठमाडौंले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पोखराले ८ विकेटको क्षतिमा १३८ रन जोड्यो।
पोखराका लागि रेमन्ड रेइफरले नटआउट ४१ रन जोडे। अन्तिम ओभरमा १७ रन प्रहार गरेका उनले ३० बलमा १ चौका र ३ छक्का प्रहार गरे।
पोखराका ओपनर दिनेश खरेलले ३८ रनको योगदान गरे। छैटौं ओभरमा रशिद खानलाई लगातार चार चौका प्रहार गरेपछि उनी अन्तिम बलमा आउट भएका थिए। उनले २५ बल खेलेर ६ चौका र १ छक्का प्रहार गरे।
अर्का ओपनर आन्द्रेस गौस भने शून्यमाआउट भए। उनलाई दोस्रो ओभरमा गेरार्ल्ड इरासमसले माइकल लेभिटबाट क्याच गराए।
कप्तान कुशल भुर्तेल ७ रन र दिलीप नाथ २७ रन जोडेर आउट भए। दुवैलाई रशिद खानले बोल्ड गरेका थिए।
आकर्षित गोमेल ८ रनमा लेभिटको एलबिडब्लूको धरापमा पर्दा माइल लिस्क पनि करण केसीबाट १ रनमै एलबिडब्लू आउट भए। करण केसीले नारायण जोशीलाई पनि रशिद खानबाट क्याच गराउँदा डकआउटको सिकार बनाए।
बलिङमा काठमाडौंका रशिद खान र करण केसीले ३-३ विकेट लिए। करणले ४ ओभरमा २४ रन दिँदा रशिदले ४३ रन खर्चिए।