सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले महत्त्वपूर्ण खेल जितेको छ।
शनिबार त्रिवि मैदान कीर्तिपुरमा कर्णालीले लुम्बिनी लायन्सलाई ५ रनले पराजित गरेको हो।
१२९ रनको लक्ष्य पछ्याएको लुम्बिनीलाई अन्तिम ओभरमा जितका लागि ९ रन आवश्यक थियो।
कर्णालीका कप्तान सोमपाल कामीले नन्दन यादवलाई डेथ ओभर बलिङमा पठाएका थिए। उनले तीन रनमात्रै दिँदा कर्णाली ५ रनले विजयी भएको हो। लुम्बिनीले ७ विकेट गुमाएर १२३ रनमात्रै बनाउन सक्यो।
कप्तान रोहित पौडेल अन्तिम खेलमा १० रनमै आउट भए। टम मरेसले ३६ रन, आशुतोष शाक्यले १६, अर्जुन साउदले १३ रन, सन्दीप जोराले २४ र साद बिन जाफरले १६ रन बनाएका थिए।
कर्णालीका जिशन मक्सुदले २, सोमपाल कामी, नन्दन यादव, बिपिन शर्मा र विलियम बशिष्टोले १ विकेट लिएका थिए।
यसअघि पहिलो ब्याटिङ गरेको कर्णालीले ८ विकेट गुमाएर १२८ रन बनाएको थियो।
फितलो ब्याटिङ गरेको कर्णालीले १० ओभरसम्म ३ विकेट गुमाएर ४७ रन मात्रै बनाएको थियो।
बसिस्टोले कर्णालीलाई लयमा ल्याउने प्रयत्न गरेका थिए। उनले ३० बलमा तीन चौका र तीन छक्काको मद्दतबाट ४४ रन हाने।
त्यस्तै अर्जुन घर्तीले २५ बलमा २५ रन बनाए। उनले २ चौका र १ छक्का प्रहार गरे।
ओपनर बाबर हायतले २० रन मात्रै जोडे। चाडविक वाल्टनले १३ रन जोड्नुबाहे कर्णालीका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङतर्फ लुम्बिनीका विकास आग्रीले ३, तिलक भण्डारीले २ तथा रामोन सिमोड्स, साद विन जाफर र रोहित पौडेलले १/१ विकेट लिएका थिए।
लुम्बिनी यसअघि नै लिगबाट बाहिरिसकेको छ। लुम्बिनीलाई पराजित गरेसँगै कर्णालीको प्लेअफ सम्भावना बलियो बनेको छ।
अब उसले लिगको अन्तिम खेल सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ।