सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले चितवन राइनोजलाई १६८ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको चितवनले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको लुम्बिनीले ६ विकेटको क्षतिमा १६७ रन जोड्यो।
लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडैलले अर्धशतक प्रहार गरे। अन्तिम ओभरको तेस्रो बलमा चितवनका रिजन ढकालको बलमा क्याच हुनुअघि रोहितले ८० रन जोडे। रोहितले ५७ बलमा ६ चौका र ५ छक्का प्रहार गरे।
उनले साद बिन जफरसँग पाँचौं विकेटका लागि ११४ रनको साझेदारी गरे। जफरले पनि अर्धशतक प्रहार गरे। उनले ३५ बलमा ५२ रन जोडे। त्यसका लागि जफरले ४ चौका र १ छक्का प्रहार गरे। अनी अन्तिम बलमा रनआउट भए।
खेलमा रोहितले चार पटक जीवनदान पाएका थिए। उनको क्याच लिन चितवनका बलर पटक-पटक चुकेका थिए। जारी एनपिएलमा रोहित सर्वाधिक रन प्रहार गर्ने ब्याटरको शीर्ष स्थानमा छन्। उनले पाँच खेलमा दुई अर्धशतकसहित २६१ रन जोडेका छन्।
त्यसअघि लुम्बिनीले राम्रो सुरुवात भने गर्न सकेन। ओपनर आशुतोष घिरैयालाई दोस्रो ओभरमा चितवनका दायाँ हाते तीव्र गतिका बलर रिजन ढकालले एक रनमै बोल्ड गरे। दुई बलपछि उन्मुक्त चन्दलाई रिजनले विपिन रावलबाट क्याच गराए।
ओपनिङ ब्याटर अर्जनु साउद १५ रन जोडेर आउट भए। १२ बलमा १ चौका र १ छक्का प्रहार गरेका साउदलाई रन्जित कुमारले कप्तान कुशल मल्लबाट सातौं ओभरमा क्याच गराए। अर्को ओभरमा टम मुर्स १० रन जोडेर आउट भए।
बलिङमा चितवनका रिजन ढकालले ३ विकेट लिए। उनले ४ ओभरमा २९ रन दिए।
जारी प्रतियोगितामा चितवनले यसअघिका चार मध्ये तीन खेलमा जित निकालेको छ। लुम्बिनी भने चारै खेलमा पराजित भएको छ।