विप्लवलाल श्रेष्ठलाई मंसिर १६ गते कसरी बित्यो भन्ने खासै स्मरण छैन। दुःखको क्षण हुँदो हो त दिमागमा अमेट्य छाप बन्दो हो। त्यो त उनका लागि विशेषः खुसीको दिन थियो।
वरिपरि मान्छे झुम्मिएका थिए। बधाइ ओइरिएको थियो। सञ्चारकर्मीका प्रश्नको वर्षा थियो। जवाफ दिन भ्याइनभ्याइ।
विप्लवले त्यस दिन काठमाडौंमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत कराते फाइटमा स्वर्ण पदक जितेको सुनौलो दिन थियो त्यो।
उनका विपक्षी खेलाडी पाकिस्तानी मोहम्मद अनुभवी र अग्ला थिए। अघिल्लो सागका स्वर्ण विजेता पनि। उनलाई पछि पार्नु कम्ता चुनौतीपूर्ण थिएन। त्यसो त उनले अनुमान गरिसकेका थिए– आफूले नचाहेको खेलाडीसँग फाइनल स्पर्धामा उत्रिनुपर्छ।
'सेमीफाइनलमा पुगेपछि आत्मविश्वास बढ्यो। पहिले नै उसको बारेमा जानकारी लिएँ। खेल हेरेँ र खेल्ने योजना बनाएँ,' खेलको रणनीति सुनाउँदै उनले भने, 'ऊ र म दुवै डिफेन्स खेल्ने खेलाडी थियौं। कोचहरूसँग फेरि उसको लबिङ राम्रो थियो। दुवैलाई उत्तिकै दबाव पर्यो।'
कराते 'टेक्निकल' खेल हो। निश्चित समयभित्र, निश्चित स्थानमा 'अट्याक' गरेमात्रै स्कोर बढ्छ। आफूलाई अट्याकमा कमजोर मान्ने विप्लवलाई अट्याकमा खरो नउत्री भएन।
खेल्दै गर्दा बीचमा यस्तो समय पनि आयो जब विप्लवलाई लाग्यो– यति भएपछि गोल्ड त गयो।
तर उनी पछि हटेनन्। अन्तिम सूत्र अपनाए। जुन 'गर कि मर' अवस्थामा प्रयोग गर्ने सोचेका थिए।
'चुदानगिरि भनिन्छ, जुन अट्याक गर्दा २ स्कोर आउँछ। मैले त्यही किक दिएँ, उसको पेटमा लाग्यो,' उनी सुनाउँछन्।
सागको पहिलो दिन नै उनले आमनेपालीको अनुहारमा खुसी भरे। ८४ केजीमाथि तौल समूहको प्रतिस्पर्धामा पाकिस्तानी खेलाडी ६ र ५ ले पराजित गरे।
उसो त ललितपुरका विप्लवलाई स्कुल पढ्दाताका खेलमा खासै रूचि थिएन। एसएलसी दिएपछि बल्ल खेलमा चाख जाग्यो। चाख जाग्नुको खास कारण छ।
उनका काका सुरेन्द्रलाल श्रेष्ठ कराते खेलाडी हुन्, आठौं सागका स्वर्ण विजेता पनि। काकाको कराते बुझेर, देखेर उनी पनि त्यतैतिर आकर्षित भए।
'काकाकै प्रेरणाले म पनि जोडिएँ। म दुई–तीन वर्षको हुँदा नै उहाँले स्वर्ण जितिसक्नुभएको थियो। म फुच्चे हुँदा उहाँ हिरो,' २३ वर्षीय विप्लव आफ्ना प्रेरणा काकाको तारिफ गर्छन्।
तर उनले काकाबाट प्रशिक्षण लिन पाएनन्। उनी जान्ने–बुझ्ने हुँदा काका करातेबाट अन्यत्र मोडिइसकेका थिए। काका खेलक्षेत्रबाट अन्यत्रै लागिसकेकाले काकाको कौशल पनि देख्न पाएनन्। न काँता नै देखे, न कुमुते। तर उनको घरमा गइरहँदा भित्तामा झुण्डिएको पदकमा आँखा पुगिरहने।
'मेडल र प्रमाणपत्र यति थियो कि, सम्हाल्न पनि सक्नुभएको थिएन। जताततै छरिएका। पुरस्कृत भएका फोटा भित्तामा लश्करै थिए। अरू खेलाडीले पनि उहाँलाई निकै मान्थे। वान अफ द बेस्ट प्लेयर,' उनी काकाको तारिफ गरिनै रहन्छन्।
काकाले देशको इज्जत राखेकाले होला विप्लवका बुवाको पनि चाहना भयो– छोरा खेल क्षेत्रमै लागोस्। परिवार, समाज र देशको इज्जतमा इँट्टा थपोस्।
पढाइमा राम्रो गर्दै गएकाले विप्लवले सुरूसुरूमा खेलक्षेत्रमा जान मन गरेनन्।
'तर बुझ्ने भएपछि काकाको प्रतिष्ठित, सेलेब्रिटी जिन्दगी देखेँ र लोभिएँ,' खेल क्षेत्रमा लाग्नाको कारण खुलाउँछन् विप्लव, 'खेल्यो भने त यस्तो यस्तो पाइने रहेछ भन्ने लागिरह्यो। ठ्याक्कै सुरू गर्ने मौका चाहिँ एसएलसी पछि मात्रै मिल्यो।'
उनका काका विदेशिए। खेल क्षेत्रमा होमिएपछि विप्लवले पनि लक्ष्य तय गरे– म पनि बाहिरै जान्छु, भविष्य बनाउँछु।
तर नेपालमै अपेक्षित उपलब्धि गर्दै गएपछि विदेश जाने इच्छा मारे। क्यानडामा रहेका काकाले विप्लवलाई आफ्ना गुरू अकबर शाहसँग भेट गराइदिए। अकबर व्यस्त हुँदा हुन्, समय दिन भ्याएनन्। अकबरले विमल शाक्यको जिम्मा लगाइदिए।
विमलकै छत्रछायामा विप्लव कराते सिक्दै गए। विमल सेनाका विभागीय प्रशिक्षक थिए। करातेमा उनको ख्याती अलग्गै थियो। विमलको संगत पाएकाले उनी दुई वर्षमै राष्ट्रिय टिममा छनोट भए। टिममा परेपछि पदक समेट्ने पालो विप्लवको आयो।
'पहिलोपटक उपत्यकास्तरीय प्रतियोगिता जितेँ। जिल्लास्तरीयमा जित्न थालेँ,' उनी सुनाउँछन्।
सधैं जित्दै आएका विप्लवले खेलेको पहिलो राष्ट्रिय खेलमा भने दोस्रोमा भएर चित्त बुझाउनुपर्यो। सोचेअनुरूप खेल्न सकेनन्। हार चाखे। हारले मनमा इख भर्यो। लगत्तै भएको ४१ औं राष्ट्रिय खेलमा जित हात पारे।
त्यसपछि फेरि जितको ग्राफ लगातार उक्लियो।
सन् २०१४ बाट राष्ट्रिय टिममा परेका विप्लव थाइल्यान्ड, बेलायत, अस्ट्रेलियासम्म पुगेर कौशल देखाएका छन्। रित्तो हात, रित्तो गला आएका छैनन्।
यही वर्ष बंगलादेशमा कराते विधातर्फ मात्रैको साग स्पर्धा भएको थियो। आठ देश सहभागी भएकामा उनले पनि स्वर्ण जिते।
करातेमा नेपालले प्रगति गरिरहेको छ। जारी सागमा पनि करातेमै सर्वाधिक स्वर्ण आयो। पाँचौ साउथ एसियाली खेलमा पनि आठ स्वर्ण करातेले जितेको थियो।
अब कराते समूहले ओलम्पिक तयारी गर्नेछ। आफ्नो समूहले यति राम्रो प्रदर्शन गर्दा पनि सरकारले अपेक्षित सहयोग गर्न नसकेको विप्लव गुनासो गर्छन्।
'हामी पनि स्तरीय खेलाडी हौं। आफैं तयारी गरेर पनि ओलम्पिक खेल्न सक्छौं तर लरतरो पाराले हुँदैन। राज्यले पनि जिम्मेवारी दिनुपर्यो, भरोसा गर्नुपर्यो,' उनी भन्छन्, 'अन्य खेलाडीलाई प्रोत्साहन भयो, हामीलाई भएन। गुनासो गरेजस्तो लाग्ला, तर यथार्थ हो। हाम्रो खेल चाहिँ खेल नै होइन कि क्या हो!'
सरकारको बेवास्तामा परेको गुनासो त खेल जगतकै छ। तर पनि कराते खेलाडीको स्तर मापन गरेर विश्लेषण नभएको दुखेसो पोख्छन् विप्लव।
'हामी कराते समूहले सबभन्दा धेरै गोल्ड जित्नेगरी खेल्छौं र सबैलाई क्षमता देखाउँछौं भनेर छलफल गर्यौं,' उनी जोसिलो सुनिए, 'हामीले गर्न सक्छौं भन्ने यो नै गतिलो प्रमाण हो। अवसर पाए हजारौं प्रमाण दिनेछौं।'
आफैंले आफैंलाई दिएको सान्तवनाले काम गर्यो। कराते खेलाडीले सर्वाधिक गोल्ड भित्र्याए। १९ खेलका ३२ खेलाडी कोही पनि पदकबिहीन हुनु परेन।
देशमा खेलाडीले आर्थिक हिसाबमा ढुक्कले बाँच्न वातावरण बनिसकेको छैन। यो विप्लवको अनुभव हो। उनी आफैं पनि आम्दानीका लागि बाहिर काम गर्छन् रे। यही कारण कहिलेकाँही तालिममा पर्याप्त समय दिन पाउँदैनन्।
भन्छन्, 'देसमा खेलाडीले बाँच्ने वातावरण भएको भए मेरो काका क्यानडा जानु पर्थेन होला नि।'