नविन रसाइली पहिलोपटक कराते खेल्दा दस वर्षका थिए। तेह्र वर्षअघि स्कुलमा करातेको क्रेज बढेका बेला साथी संगतले करातेको 'भूत' सवार भयो। त्यसलाई मेट्न उनले साथीकै पुरानो ड्रेस मागे र सिक्न गए।
'त्यो बेला करातेबारे धेरै ज्ञान थिएन। तर यो खेलले सबैको अगाडि 'हिरो' बनाइदिएको थियो,' २३ वर्षीय नविनले सेतोपाटीसँग भने।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराते फाइटमा गत मंगलबार नविनले नेपाललाई स्वर्ण दिलाएर देशकै 'हिरो' बने। उनले ६७ केजी तौल समूहमा पाकिस्तानका अमेद नसिरलाई ८–६ अंकले पराजित गर्दै स्वर्ण जितेका हुन्।
केटाकेटी बेलादेखि देखेको सपना पूरा हुँदा नविन निकै खुसी देखिन्थे।
सानैदेखि 'फाइट' मा चासो राख्ने भए पनि नविन झगडालु स्वभावका थिएनन् रे। 'कहिलेकाहीँ स्कुलमा झगडा हुँदा कराते खेलेकाले साथीहरू मलाई नै अघि सार्थे,' उनले हाँस्दै भने, 'तर म शारीरिक तन्दुरुस्ती र आत्मरक्षाका लागि मात्र कराते खेल्न चाहन्थेँ।'
स्कुलबाट सुरू भएको करातेको यो यात्रा जीवनको एउटा महत्वपूर्ण पाटो बन्छ भन्ने नविनलाई कहिल्यै लागेको थिएन।
कराते सिक्न 'बालाजु डोजो' मा गएपछि उनको जीवनले नयाँ मोड लियो। त्यहाँ चर्चित राष्ट्रिय कराते खेलाडी सुनील लामा र अनु अधिकारीलाई आफ्नै अगाडि अभ्यास गरेको देखे। करातेप्रति मोह झनै बढ्यो।
करातेमा 'काता' र 'फाइट' दुवै सीप सिक्नुपर्छ। 'काता' मा खेलाडीले खेल क्रममा प्रयोग गर्नुपर्ने विभिन्न आसन प्रदर्शन गरिन्छ भने दुई विपक्षी खेलाडीबीच हुने प्रहार 'फाइट' हो।
नविनलाई कातामा धेरै रूचि थिएन। उनी फाइट मात्र गर्न चाहन्थे। त्यसैले, सानोमा गुरुको गाली पनि खान्थे। 'विस्तारै करातेमा सबै सीपको उत्तिकै महत्व हुन्छ भन्ने बुझेँ र सबैलाई बराबरी समय दिन थालेँ,' उनले सुनाए।
उनका दाजु राजकुमार रसाइली पनि करातेमै आबद्ध छन्। सागअन्तर्गत कराते फाइटमा ६० केजी तौल समूहमा राजकुमार रसाइलीले रजत हात पारेका छन्।
घरका तीन दाजुभाइमा नवीन र राजकुमार राष्ट्रिय कराते खेलाडी हुन्। कान्छा पनि कराते नै सिकिरहेको नविनले बताए। यसले उनको परिवारमा करातेप्रति मोह झल्काउँछ।
सामान्य परिवारमा हुर्केका नविनका बुबा पूर्णवीर व्यापारी हुन्। आमा प्रेमा पार्लरमा काम गर्छिन्। आर्थिक अवस्था ठिकठाक रहेको परिवारमा दुवै छोरा खेलाडी हुँदा कतिपय आमाबुबालाई चित्त नबुझ्न सक्छ। तर, यो विषयमा आफूहरू भाग्यमानी ठहरिएको नविन बताउँछन्।
'घरपरिवारबाट कराते नखेल भनेर रोकतोक कहिल्यै भएन,' उनी भन्छन्, 'सुरूदेखि समर्थन गर्नुभयो र अप्ठ्यारो समयमा बिनाहिच्किचाहट पैसा दिनुभयो। दाइले झन् सहयोग नगर्ने कुरा भएन।'
मंगलबारको खेलमा नेपाली खेलाडीले स्वर्ण जितिरहँदा नविन चिन्तित थिए। उनलाई आफूले पनि स्वर्ण ल्याउनैपर्ने दबाब महशुस भएछ। तर, उनीभन्दा बढी चिन्तित दाइ राजकुमार थिए।
'मलाई आफ्नोभन्दा तेरो गेमको टेन्सन छ,' खेल अगाडि दाइले भनेको यो कुराले झनै उत्प्रेरित भएको नविनले सुनाए।
'स्वर्ण मेरै भयो भन्ने थाहा पाउँदा दाइलाई नै जिताएको जस्तो महशुस भयो।'
नविन परिवारले गरेको समर्थनप्रति निकै आभारी सुनिन्छन्। परिवारसँगै कराते गुरु ध्रुवविक्रम मल्ललाई आफ्नो सफलताको कारक मान्छन्।
'अभ्यासका लागि सामान नहुँदा गुरुले आफ्नै पैसाले किनिदिएको क्षण कहिल्यै भुल्न सक्दिनँ,' उनले भने, 'अन्तर्राष्ट्रिय खेलनिम्ति बाहिर जान होस् वा आफ्नो सीप सुधार्न, गुरु सधैं साथ रहनुभयो।'
नविनले करातेलाई कहिल्यै वैकल्पिक पाटोका रूपमा सोचेनन्। सुरूका केही वर्ष जेम्स स्कुलमा कराते गुरु बने, पछि प्रतियोगितालाई समय दिए।
'साग'मा जितेको स्वर्णसहित उनले करातेमा आठौं स्वर्ण दिलाइसकेका छन्। उनको अबको लक्ष्य 'ओलम्पिक २०२०' मा करातेबाट नेपाललाई चिनाउने हो। ओलम्पिकमा छनौट हुन उनले विश्वको ३२ औं श्रेणीमा आउनुपर्छ, अहिले उनको श्रेणी ११२ छ।
ओलम्पिकका लागि देखेको सपना पूरा गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी हुँदै श्रेणी बढाउन थालेका छन्। यसै क्रममा २०१८ मा इन्डोनेसियामा आयोजित एसियन गेमअन्तर्गत करातेमा पनि छनौट भएका थिए। दुर्भाग्यवश खेल्न पाएनन्।
पहिलोपटक राष्ट्रिय खेलाडीका रूपमा सहभागी हुन लागेको खेलमा अन्तिम चरणमा बाहिरिनु पर्यो। कारण- खेलका लागि बस्नु पर्ने दुईमहिने 'क्याम्प'मा बसेका थिएनन्।
'म अन्य खेलका लागि बाहिर गएकाले बस्न पाइनँ,' उनले भने, 'मेरो ठाउँमा अर्को खेलाडी राख्नु स्वाभाविक थियो। तर, ओलम्पिकका लागि आफ्नो श्रेणी बढाउन सक्ने मौका गुमाउँदा नरमाइलो भयो। अहिले त्यो पीडा कम भएको छ।'
सागका लागि भने नविनले कुनै सम्झौता गरेनन्। नेपाली कराते क्षेत्रका लागि यो खेल 'टर्निङ प्वाइन्ट' बन्न सक्ने उनी विश्वास गर्छन्।
करातेमा कुल १९ वटा स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा नेपालले १० स्वर्ण जित्यो। यसलाई निरन्तरता दिँदै जाने हो भने ओलम्पिकसम्म नेपाली खेलाडीले सजिलै खेल्न पाउने नविनको भनाइ छ।
नेपाली खेलाडीको सीप र मिहिनेतले सागका खेल जित्न ठूलो भूमिका राख्यो। नेपालीहरूले खेल क्रममा गरेको समर्थनले पनि खेलाडीलाई जित्ने ऊर्जा थपिएको नविन बताउँछन्।