दक्षिण एसियाली खेलकुद (साग)को १३ औं संस्करणअन्तर्गत मंगलबार भएको क्रिकेटमा नेपाल श्रीलंकासँग पराजित भएको छ।
त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले टस हारेर पहिला ब्याटिङ गरेको थियो। दीपेन्द्रसिंह ऐरीको अविजित ७२ रनको योगदानले नेपालले श्रीलंकालाई १७३ रनको लक्ष्य दिएको थियो।
जवाफी ब्याटिङ गरेको श्रीलंकाले १९.१ ओभरमा चार विकेट गुमाउँदै १७५ रन बनाएपछि नेपाल पराजित भएको हो।
नेपालको इनिङमा पारस खड्का एक रनमै र कप्तान ज्ञानेन्द्र मल्ल २१ रनमा बाहिरिएपछि ब्याटिङको जिम्मा ऐरीले लिएका थिए। अविजित (नटआउट) ७२ रन हान्दै दीपेन्द्रले २०-२० नेपालको स्कोर १७२ रन पुर्याएका हुन्।
ऐरीले ४४ बलमा ४ चौका र ६ छक्का हाने। नेपालका लागि पवन सराफले २२, विनोद भण्डारीले २१ र आरिफ सेफले १९ रन बनाएका थिए।
श्रीलंकाका लागि शम्भु आसानले ७२ रनको योगदान दिए भने केएमपी फर्नान्डोले ४६, पी निसान्काले ३० रन हाने।
नेपालका लागि सोमपाल कामीले १ पवन सराफले २ र सुशन भारीले १ विकेट लिए।
खेलपछि प्रतिक्रिया दिँदै कप्तान ज्ञानेन्द्र मल्लले खराब फिल्डिङका कारण खेल गुमाउनु परेको प्रतिक्रिया दिए।
'आज खराब दिन भयो। सामान्य क्याचहरू पनि छुटे,’ मल्लले भने।
प्रकाशित मिति: मंगलबार, मंसिर १७, २०७६, १४:२२:००