१३ वर्षपछि इभर्टन फर्किएका रुनीको निर्णायक गोल


१३ वर्षपछि आफ्नो पुरानो क्लब फर्किएका इङ्लिस फुटबलका पूर्व कप्तान वायने रुनीले निर्णायक गोल गरेपछि इभर्टनले इङ्लिस प्रिमियर लिगमा विजयी सुरुवात गरेको छ।

प्रिमियर लिगमा नयाँ सिजनको सुरुवात गर्ने क्रममा रुनीले पहिलो हाफको अतिरिक्त समयमा निर्णायक गोल गरेका थिए। जसका कारण इभर्टनले १–० ले स्टोक्स सिटीलाई पराजित गर्यो।

३१ वर्षीय रुनी २००४ मा इभर्टन छोडेर म्यानचेस्टर युनाइटेडमा आवद्ध भएका थिए। उनले १३ वर्षपछि पुरानो क्लबमा फर्किने क्रममा घरेलु मैदानमा गरेको विजयी गोललाई विशेष क्षण भनेका छन्। रुनीको प्रिमियर लिगमा यो १ सय ९९ औं गोल पनि थियो। उनले पहिले इभर्टनबाट खेल्ने क्रममा १७ गोल गरेका थिए।

रुनीले २००२ मा १६ वर्षको उमेरमा आर्सनलविरुद्ध पहिलो गोल गरेका थिए। उनले प्रिमियर लिगको पहिलो खेलमै गोल गर्ने एलन सेयरर र फ्रान्क लाम्पार्डको कीर्तिमानलाई बराबरी गरेका छन्। यी तीन खेलाडीले सिजनको पहिलो खेलमै आठ पल्ट गोल गरेका छन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.