भारतका विजेन्दर सिंहले चिनियाँ बक्सरलाई हराएपछि भने, ‘शान्तिका लागि बेल्ट फर्काउन सक्छु’


भारतका चर्चित बक्सर विजेन्दर सिंहले चिनियाँ प्रतिद्वन्दी जुल्फिकार मैमतअलीलाई कडा भिडन्तमा हराएपछि भारत र चीनबीच सीमामा जारी गतिरोध तत्कालै बन्द गर्न अपील गरेका छन्। शनिवार राती डब्लुबिओको एसिया प्यासिफिकतर्फ सुपर मिडलवेट उपाधिका लागि भएको भिडन्तमा विजेन्दर विजयी भएका थिए।

ओलम्पिकमा कास्य जितिसकेका भारतीय बक्सरले उपाधि जितेपछि भने, ‘म यो बेल्ट जुल्फिकारलाई फिर्ता गर्न चाहन्छु, म सीमामा शान्ति फर्कियोस् भनेर कामना गर्दछु। शान्तिको सन्देश महत्वपूर्ण छ।’

भारत र चीनबीच सिक्कमको डोखलाममा बाटो निमार्णलाई लिएर विगत एक महिनादेखि तनावको स्थिति छ।

विजेन्दरले आफ्नो व्यवसायिक करिअरमा नवौं पल्ट उपाधि जितेका हुन्। उनले भिडन्तअघि चिनियाँ प्रतिद्वन्दीको विषयमा कटाक्ष गर्दै भनेका थिए, ‘चिनिया उत्पादित समान धेरै समय टिक्दैन।’ तर, शनिवारको भिडन्त सकिएपछि उनले चिनियाँ प्रतिद्वन्दीको खुलेर प्रसंसा गरे। ‘मलाई लागेको थियो, चिनियाँ प्रतिद्वन्दी मेरो अगाडि लामो समय टिक्दैनन्। तर, जसरी उनी लडे, यसबाट म प्रभावित भएको छु।’

१० राउण्ड लामो भिडन्तमा ३१ वर्षीय विजेन्दरले २३ वर्षीय चिनियाँ बक्सरलाई सुरुदेखि नै आक्रमण गरेका थिए। विजेन्दर अंकको आधारमा विजयी भएका थिए।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.