पारा जुडो टोली भारत जाने


अन्तर्राष्ट्रिय दृष्टिविहीन पारा जुडो प्रतियोगितामा सहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली शनिबार भारतको गुजरात जाँदैछन्।

नेपाली टोली गुजराजको ‘प्रेरणा’ नामक संस्थाको निमन्त्रणमा सहभागी हुन लागेको हो। अगष्ट ५ देखि ७ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ६० केजीमा प्रकाश पाण्डे, ६६ केजीमा आदित्य शेर्पा र ७३ केजीमा मनोज भट्ट सहभागी हुनेछन्।

टोली नेतामा नेपाल जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठ र प्रशिक्षकमा मोहन सुनुवार रहने छन्। टोलीलाई लायन्स क्लबको काठमाडौं स्वनिगाले ट्रयाकसुट, ब्याग र जुत्ता प्रायोजन गरेको छ। उक्त सामाग्री बिदाइ कार्यक्रममै हस्तान्तरण गरिएको थियो।

गत वर्ष भारतको लखनउमा भएको चौथो राष्ट्रिय ब्लाइन्ड तथा डेफ जुडो च्याम्पियनसिपमा आदित्य र मनोजले रजत जितेका थिए।

टोलीलाई कीर्तिपुर नगरपालिकाका मेयर तथा नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो संघका अध्यक्ष रमेश महर्जनले शुक्रबार बिदाइ गरे।

कार्यक्रममा महर्जनले संघले सहयोगी हात खोजी रहेको अवस्थामा लायन्स क्लब अगाडि आएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग जारी रहने विश्वास व्यक्त गरे।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.