नेबा प्रेसिडेन्ट कप बास्केटबल शनिबारदेखि


नेपाल बास्केटबल संघको सहकार्यमा ललितपुर जिल्ला बास्केटबल संघले नेबा प्रेसिडेन्ट कप थ्री बाइ थ्री राष्ट्रव्यापी पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। आयोजक संघका महासचिव शरद विष्टले बिहीबार आयोजित पत्रकार सम्मेलनमा दुईदिने प्रतियोगिता शनिबारदेखि सुरु हुने जानकारी गराए।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने प्रतियोगिताको पुरुषमा ४८ तथा महिलामा १२ टिमको सहभागिता रहने छ। उपत्यका बाहेक रुपन्देही, धरान, काभ्रे, विराटनगर र झापाबाट टिम सहभागी हुने बताइएको छ।

नेपाल बास्केटबल संघका अध्यक्ष समेत रहेका राखेपका उपाध्यक्ष लामा टेन्डी शेर्पाले प्रतियोगिताले फिबा विश्व वरीयतामा नेपालको स्थान सुधार गर्न सहयोग पुग्ने बताए।

पुरुषको विजेताले ४० हजार र उपविजेताले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। महिलामा पहिलो हुनेलाई ३० हजार र दोश्रोलाई १५ हजार नगदबाट पुरस्कृत गरिने छ। दुवै समूहका उत्कृष्ट खेलाडीलाई जनही १५ हजार नगद पुरस्कार प्रदान गरिने छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.