१३ वर्षकै उमेरमा तीन अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी रसिला

१३ वर्षकै उमेरमा तीन अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी रसिला


 

जब रसिला महर्जन इन्डोनेसियामा यसै साता भएको एक अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको निम्ति कोर्टमा ओर्लिन्, त्यहाँ उपस्थिति अरू देशका सबै प्रतियोगी चकित खाए।

रसिला जम्मा १३ वर्षकी छन्। उनले भाग लिएको प्रतियोगिता पेम्वाङगुनाल जया राया ब्याडमिन्टन एसिया जुनियर च्याम्पियनसिप हो। विश्व ब्याडमिन्टन महासंघको नियमअनुसार जुनियर च्याम्पियनसिपमा भाग लिन कम्तिमा १४ वर्ष पुग्नु अनिवार्य छ। रसिलाको हकमा भने पहिलोपल्ट आयोजक राष्ट्रले आँखा चिम्लियो। उनी मंगोलियाकी खेरलेन दारखान बातारसँग पहिलो खेल खेल्न कोर्टमा ओर्लिइन्।

उनलाई कोर्टमा देख्ने प्रायः सबैको एउटै अनुमान थियो, भर्खरै र्याकेट समात्ने उमेरमा पुगेकी रसिलाले ‘धोबी चुटाई’ भेट्ने छिन्।

धेरैको यस्तो शंकाविपरीत रसिलाले मंगोलियन खेलाडीलाई २१–९ र २१–१५ को सेटमा पराजित गरिन्। र, सबैको मन जितिन्। दोस्रो खेलमा उनी बर्मेली खेलाडीसँग २१–१२ र २१–८ को सेटमा पराजित भइन्। जित्न नसके पनि उनको खेलले ठूलो चर्चा पायो।

रसिला नेपाली ब्याडमिन्टन इतिहासकी पहिलो कान्छी खेलाडी हुन्, जो १३ वर्षको उमेरमा राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सम्मिलित छिन्। उनी नेपालमा आयोजना हुने १३ औं सागको तयारीदेखि जापानको टोकियोमा हुने ओलम्पिकसम्मका लागि घोषणा गरिएको बन्द प्रशिक्षणमा नङ्सलदेवी तामाङ, अमिता गिरी, अनुमाया राई, जेसिका गुरुङ र शोभा गौचनजस्ता सिनियर खेलाडीसँगै परेकी छन्।

उनलाई अहिले नेपालमा उनको उमेर समूहमा चुनौती दिने खेलाडी छैनन्। उनले सिनियर स्पर्धामा पनि थुप्रै खेलाडीको अंकगणित बिगार्ने गरेकी छन्। गत महिना काठमाडौंमा भएको अन्नपूर्ण अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा उनी क्वाटरफाइनलमा पुगेकी थिइन्। त्यतिबेला उनी नेपालकी नम्बर एक नङ्सलदेवीसँग पराजित भइन्।

इन्डोनेसियाकै लागि भएको युथ–१९ च्याम्पियनसिपको छनोटमा उनले पूर्व च्याम्पियन जेसिका गुरुङलाई पराजित गरेकी थिइन्।

नेपाल ब्याडमिन्टन संघका पदाधिकारी वीरेन्द्र श्रेष्ठ आउँदो केही वर्षभित्र रसिला नेपालकै नम्बर एक खेलाडी बन्ने दाबी गर्छन्। ‘१३ वर्षको उमेरमा उसको खेल यति राम्रो छ। उसमा परिपक्वता आएपछि कस्तो खेल्छे, त्यो हाम्रो ठूलो चासोको विषय बनेको छ,’ श्रेष्ठले सेतोपाटीसँग भने।

रसिलाले ७ वर्षको उमेरदेखि नै र्याकेट समात्न थालेकी हुन्। उनका बुवा राजेश महर्जन सोखका रूपमा ब्याडमिन्टन खेल्ने गर्थे। आफ्नो बुवाले ब्याडमिन्टन खेलेको देखेपछि उनमा यो खेलप्रति आकर्षण बढ्ेको हो।

‘म कहिलेकाहीँ अल्छी गर्दा ऊ ठिक परेर मलाई ब्याडमिन्टन खेल्न जाउँ भनेर कर गर्थी,’ राजेश भन्छन्, ‘ऊ खेलाडी बन्छे भनेर मैले एक छेउ पनि चिताएको थिइनँ, उसलाई कतिबेला ब्याडमिन्टनको भूत सवार भयो, त्यो पनि थाहा छैन।’

रसिलाले ९ वर्षको हुँदा कृष्णमोहन स्मृति ब्याडमिन्टन प्रतियोगितामा भाग लिएकी थिइन्। उनी त्यतिबेला आफ्नो समूहमा तेस्रो भइन्। २०६९ सालमा महेन्द्रनगरमा भएको जुनियर क्षेत्रीय प्रतियोगितामा उनी राष्ट्रिय खेलाडीसँग भिडेकी थिइन्। उक्त प्रतियोगितामा विजयी नभए पनि उनको खेलको तारिफ गर्दै एक स्थानीय व्यक्तिले ३ हजार रुपैयाँ प्रोत्साहनस्वरुप प्रदान गरेका थिए।

रसिला उक्त घटनालाई आफ्नो जीवनकै अविस्मरणीय क्षण मान्छिन्। ‘खेल्दा पैसा पनि पाइन्छ भन्ने पहिलोपल्ट थाहा भयो,’ उनी भन्छिन्।

कक्षा ८ मा अध्ययनरत रसिलाको ब्याडमिन्टन रफ्तार त्यसपछि यतिमै सीमित रहेन। पोखरामा भएको राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेपछि उनलाई ‘उदीयमान खेलाडी’ घोषणा गरियो।

रसिलाले गत महिना काठमाडौंमा भएको पुष्पलाल स्मृति जुनियर च्याम्पियनसिपमा आफूभन्दा उमेरले ठूला र दिग्गज खेलाडीलाई पराजित गर्दै युथ–१५ र युथ–१७ को दुवै उपाधि जितेकी थिइन्। उनलाई युथ–१७ मा सीमा राजवंशीलाई पराजित गरेको क्षण रोचक लाग्छ। सीमाले ६ महिनाअघि पूर्वाञ्चलमा भएको सातौं बृहत राष्ट्रिय खेलकुदको प्रिक्वाटर फाइनलमा रसिलालाई पराजित गरेकी थिइन्।

‘६ महिनापछि हराउन पाउँदा निकै खुसी लागेको थियो,’ उनी भन्छिन्।

इन्डोनेसियामा खेलेको युथ–१९ च्याम्पियनसिप रसिलाको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता होइन। उनले यसअघि भारतको पुना र बंगलादेशको ढाकामा पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने अवसर पाएकी थिइन्। सन् २०१६ मा उनी पुनामा सुसान्त चिप्पलकट्टी स्मृति युथ–१९ जुनियर च्याम्पियनसिप खेल्न गएकी थिइन्। त्यतिबेला पनि उनको उमेर देखेर सबै चकित परेका थिए। उनी भारतकी देवान्सीसँग पराजित भएकी थिइन्।

६ महिनापछि ढाकामा युथ–१९ च्याम्पियनसिपमा उनी विदी सरकारसँग पराजित भइन्। यतिबेला उनले रञ्जना भट्टसँग मिलेर डबल्समा कास्य पदक जितेकी थिइन्।

१३ वर्षको उमेरमा तीनवटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने अवसर पाएकी रसिलालाई थाहा भइसकेको छ, अन्तर्राष्ट्रियस्तरको खेलाडी बन्न अझै धेरै मेहनत जरुरी छ। भन्छिन, ‘मैले आफ्नो स्टामिना, पावर, स्ट्रोक, डचमा अझै धेरै मेहनत गर्नुपर्ने छ।’

रसिला चिनियाँ खेलाडी लिन दानका ठूलो प्रशंसक हुन्। उनलाई नेपाली खेलाडीमा नङ्सलदेवी खुब मन पर्छ। उनको उद्देश्य भने भारतीय ब्याडमिन्टन खेलाडी पिबी सिन्धुजस्तै बन्ने छ। टेलिभिजनमा सिन्धुको खेल हेरेर हुर्किएकी रसिला भन्छिन्, ‘मलाई नेपालको सिन्धु बन्नु छ।’

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.