प्रतिभा साहास स्पोर्ट्सकी ब्राण्ड एम्बासडर

प्रतिभा साहास स्पोर्ट्सकी ब्राण्ड एम्बासडर


नेपाली महिला भलिबल टिमकी महत्वपूर्ण सदस्य तथा न्यु डायमण्ड स्पोर्ट्स एकेडेमीका मुख्य खेलाडी प्रतिभा माली खेल पोशाक (स्पोर्टस वेयर) कम्पनी उत्पादक साहास स्पोर्ट्सको ब्राण्ड एम्बासडर घोषित भएकी छिन्।

मंगलबारबाटै औपचारिक रुपमा शुरु भएको साहास स्पोर्ट्सले महिला भलिबलकी युवा खेलाडी प्रतिभालाई एक वर्षको लागि कम्पनीको ब्राण्ड एम्बासडर नियुक्त गरेको हो।

सहमति अनुसार प्रतिभाले वार्षिक १ लाख २० हजार रुपैया नगद तथा खेल पोशाकको ५० हजार गरी १ लाख ७० हजार प्राप्त गर्नेछिन् ।

सम्झौता पत्रमा साहास स्पोर्ट्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक जनक न्यौपाने र खेलाडी प्रतिभा मालीले हस्ताक्षर गरे। प्रतिभालाई साहास स्पोर्टसले हरेक महिना १० हजार रुपैयाँ तथा बर्ष भर खेल पोशाक उपलब्ध गराउनेछ।

यस्तै साहास स्पोर्ट्सले न्यू डायमन्ड एकेडेमीको महिला भलिबल टोलीलाई एक बर्षको लागि करिव १ लाख ७५ हजार बराबरको खेल पोशाक पनि प्रायोजन गर्ने सम्झौता भएको छ। उक्त सम्झौता पत्रमा साहास स्पोर्ट्सका प्रबन्ध निर्देशक जनक न्यौपाने र न्यु डायमण्ड स्पोर्टस् क्लबका अध्यक्ष तथा नेपाल भलिबल संघकी कोषाध्यक्ष सुनकेशरी मालीले हस्ताक्षर गरे। साहास स्पोर्ट्सले न्यू डायमन्ड एकेडेमीलाई एक बर्षमा ५० सेट जर्सी र ५० सेट ट्रायक सुट उपलब्ध गराउने छ। प्रतिभा र न्यू डायमन्डलाई वार्षिक ३ लाख रुपैयाँ बराबरको प्रायोजना गरिएको न्यौपानेले जानकारी दिए।

एम्बासडरमा नियुक्त प्रतिभाले एम्बासडरको रुपमा भलिबल र आफूलाई रोजेकोमा धन्यवाद र खुशी ब्यक्त गरिन्। सम्झौता कार्यक्रममा बोल्दै साहास स्पोर्ट्सका प्रबन्ध निर्देशक न्यौपानेले भर्खरै राष्ट्रिय खेलको मान्यता पाएको राष्ट्रिय खेल भलिबलसँग शुरुवातसँगै जोडिन पाउन खुशी लागेको बताए।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.